देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंलाई विश्वका गणना हुने सहर बनाउनका लागि २५ वर्ष कुरेर मेयरको उमेदवार भएको छु : राजुराज जोशी

देशान्तर

मैले शपथग्रहण गरेको दिनदेखि नै काठमाडौंलाई धुलोमुक्त बनाउने अभियानको सुरुवात गर्नेछु । अर्काे समस्या भनेको ट्राफिक जाम हो । ट्राफिक समस्याले अहिले काठमाडौंवासीले सबैभन्दा ठूलो हैरानी खेप्नु परिरहेको छ ।

तपाईं काठमाडौं महानगरको मेयरको उम्मेदवार बन्नुभएको छ । काठमाडौंका समस्या कस्ताकस्ता छन्, समाधान कसरी हुन्छन् ?
काठमाडौंको सबैभन्दा ठूलो समस्या भनेको अहिले धुलो हो । मैले शपथग्रहण गरेको दिनदेखि नै काठमाडौंलाई धुलोमुक्त बनाउने अभियानको सुरुवात गर्नेछु । अर्काे समस्या भनेको ट्राफिक जाम हो । ट्राफिक समस्याले अहिले काठमाडौंवासीले सबैभन्दा ठूलो हैरानी खेप्नु परिरहेको छ । दुई–तीनवर्ष अघि बनाएको बाटो अहिले साँघुरो भइसक्यो, बाटो ठूलो वनाएरमात्र ट्राफिक व्यवस्थापन हुनेवाला छैन् त्यसैले मेट्रो रेल र फ्लाई ओभर बाटो अनिवार्य छ । यो काम एकै चोटीमा सम्भव छैन, त्यसैले म निर्वाचित भइसकेर शपथको भोलिपल्टदेखि नै यो कामको सुरुवात भएर पाँच वर्ष भित्रमा जनतालाई जसरी पनि फ्लाई ओभर रोड र मेट्रो रेलमा हिँडाउने मैले वचन दिएको छु ।
यो सँगै सामुदायिक विद्यालयको व्यवस्थापनको कुरा पनि अहिले काठमाडौंमा समस्या छन् । यी सरकारी विद्यालयहरूलाई एकीकृत गर्ने, अहिले धेरै सरकारी विद्यालयहरू भूकम्पले भत्काएका छन् । विद्यार्थी छैनन् काम गर्ने मान्छे पठाउँछन् । विद्यार्थी नभएका विद्यालयहरूलाई एकीकृत गरेर त्यस्ता ठाउँहरूमा पार्कहरू बनाउने लक्ष्यसहित जस्तो काठमाडौंको ३२वटै वडाहरूमा सार्वजनिक पार्क बनाउने मेरो अवधारणा छ । त्यस्ता सम्भावित ठाउँहरू धरै छन् । खासगरी विभिन्न विद्यालयहरू एकीकृत गरेर पाँचसात हजार विद्यार्थी पढ्न मिल्ने एउटा नमुना विद्यालय निर्माण गर्न सकिन्छ ।
त्यससँगै भूकम्पले भत्काएका घरहरू निर्माणका लागि सरकारले २५ लाख ऋण चार प्रतिशतब् याजमा बैंकलाई दिनु भनेको छ । त्यो पैसा यो सहरभित्र भएका भूण्कम्पपीडित जनताले पाइराखेका छैनन् । कहीँ बाटो छैन भनेर ऋण दिन आनाकानी गरिएको छ, कहीँ आम्दानीको स्रोत छैन भनेर । त्यही भएर ती पीडितहरूलाई पैसा दिनुपर्‍यो र उनीहरूले घर बनाउन पाउनु पर्‍यो । प्रत्येक नागरिकले घर बनाएर बस्न पाउनुपर्छ । भूकम्पपीडितहरूको आफ्नो घर छैन, सुकुम्वासी जस्तो भइराखेका छन् । त्यो सबै पत्ता लगाएर नेपाल सरकारले वा स्थानीय सरकार भनौं महानगरले तीन नागरिकहरूलाई बस्न पाउने आवासको व्यवस्था गर्नेछौं ।

तपाईंले ट्राफिक व्यवस्थापनको लागि पाँच वर्षभित्र मेट्रो रेल बनाउने भन्नुभयो । अलि महत्वाकांक्षी भएन ?
पहिलो कुरा मेट्रोको मालिक नै जनतालाई बनाउने हो । विदेशवाट आउने, सरकारको र महानगरको सोर्स त छँदैछ । त्यसमा थप महानगरका जनतालाई सेयर बेच्ने हो । यसबाट मेट्रोको मालिक नै जनतालाई बनाउने जस्ले गर्दा संरक्षण संवद्र्धन पनि हुन्छ । भविष्यमा यसबाट ठूलो लाभ पनि हुन्छ । एउटा बैंकले ऋण दिँदा २० देखि २५ अर्ब फाइदा हुन्छ भने यसमा ६ सय अर्बको योजना त योजना आयोगले बनाइसकेको छ । महानगरभित्र त त्यतिमात्र नभएर महत्वाकांक्षी योजनाहरू अगाडि सार्नै पर्ने हुन्छ, यदि त्यसो भएन भने विकास हुनै सक्दैन । त्योभन्दा पनि मलाई यो महानगरमा मेट्रो चलेको हेर्ने आफैंलाई ठूलो रहर हो । विदेशमा मेट्रो चढ्यो आफ्नो देशमा चाहिँ आउदा हुन्न । अर्को भनेको हाम्रोको पार्टीको लक्ष्य आर्थिक उन्नति चाहिँ डवल डिजिट पुर्‍याउनेछ । यसो भयो भने हरेक मान्छेसँग पैसा हुन्छ । हरेक मान्छेसँग पैसा भएपछि उनीहरू सबैको एउटा घर र गाडीको सौख हुन्छ । त्यसले गर्दा गाडी कसैले रोक्न सकिँदैन । गाडी रोक्न पनि नसक्ने अनि बाटो पनि हरेक वर्ष बढाउँदा पनि साँघुरो हुन्छ । न्युयोर्क, युरोप र टोकियोमा मान्छेले आफ्नो गाडी घरमै पार्क गरेर राखेको हुन्छ, मान्छेलाई पुग्नुपर्ने गन्तव्यमा त समयमै पुग्नुुपर्‍यो त्यतिखेर मानिसहरू मेट्रो चढेर जान्छन् । मेरो भविष्यका योजना पनि यिनै हुन्, समयमै गन्तव्यमा पुग्नुपर्ने कुनै पनि मान्छेले ट्राफिक जामको सास्ती झेल्नु नपरोस् ।

तपाईंले काठमाडौं निर्माणको योजना सुनाउनुभयो । काठमाडौं भनेको धेरै सांस्कृतिक सम्पदाहरू भएको ठाउँ हो । यी सम्पदासँग काठमाडौंवासीको इतिहास जोडिएको छ । यसको संरक्षणका बारेमा केही सोच्नुभएको छैन ?
हो, सम्पदाहरूको कुरा पनि छ । सम्पदाहरू भूकम्पपछि कुनै पनि बनेका छैनन्, त्यसलाई पनि बनाउनु पर्‍यो । काष्ठमण्डपको निर्माण पहिलो नम्बरमा राखेको छु । मेरो विजयसँगै पहिलो काम काष्ठमण्डपबाट सुरु गर्ने वचनबद्धता व्यक्त गर्छु । पुरातत्वले यसको नक्सापास गरेको छ । पुरातत्व विभाग पनि सरकारअन्तर्गतकै हो । यदि सरकारले निर्माण गरेन भने पनि महानगरले एउटा विभाग खडा गरेर हामी अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माणका लागि अगि बढ्नेछौं । काठमाडौंको जुन परम्परागत कल्चरहरू छन् त्यसलाई प्रमोट गर्दै अघि बढ्नेछु । प्राय: पर्यटकहरू नेपालीहरूको अनुहार हेर्न त आउने होइनन् । उनीहरू नेपालका युटिनियस र कल्चरहरू हेर्न आउँछन् । नेपालको सुन्दरता, अझ भनौं काठमाडौंको सुन्दरता, यहाँको संस्कृति र सम्पदाहरू हेर्न आउँछन् । त्यसैले यो सुन्दरता जोगाउनका लागि हामीले सरकारी स्तरबाट नै काम गर्नुपर्छ । मैले सम्पदा निर्माण मात्र होइन अबको पाँच वर्षभित्रमा काठमाडौंं महानगरभित्र फ्री वाईफाईको अवधारणा पनि अघि सारेको छु । अहिले हामी १४–१५ सय रुपैयाँ तिरेर वाईफाई जोड्नुपर्ने अवस्थामा छौं । यसो गर्‍यो भने युवा विद्यार्थीहरूको लागि अन्तर्राष्ट्रिय कनेक्सन गर्न र ग्लोबलाइजेसनको लागि सहज हुन्छ । हामीले महानगर जस्तो ठाउँमा फ्री गर्न सक्यो भने एकै चोटिमा भन्दा नी चरणबद्ध रूपमा पाँच वर्ष भित्रमा ३२ वटै वडामा वाईफाई फ्री गर्नेछौं । त्यसैगरी वर्षमा २० हजार युवाहरूलाई आईटी सेक्टरमा दक्षहरूलाई रोजगारीको अवसर सिर्जना गराउने छौं ।

यत्रो उम्मेदवारहरूमध्येबाट काठमाडौं महानगरका जनताले तपाईंलाई नै भोट किन दिने?
राजनीतिक रूपमा हामी त्यो पार्टीको उम्मेदवार हौं जुन पार्टी नेपालको गौरव हो । कांग्रेस पार्टी भनेको नेपालको गौरव हो । २००७ सालमा कांग्रेसको अगुवाइमा राणा गयो । २०४६ सालमा सर्वमान्य नेता गणेशमान सिंहले जनआन्दोलनको नेतृत्व गर्नुभयो, राजासँग वार्ता भयो पञ्चायत गयो । २०६२/२०६३ हाम्रो तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला र प्रचण्ड मिल्नुभो, राजतन्त्र गयो । यो मुलुकमा पाँच वर्षसम्म कम्युनिस्टहरूले संविधानसभा चलाए तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभाको निर्वाचन भयो र नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भयो । नेपाली कांग्रेसका तत्कालीन सभाति सुशील कोइराला प्रधानमन्त्री बन्नुभो र उहाँले संविधान बनाउनुभो । अर्को कुरा, हामी जे भनिराख्याछौं– राष्ट्रियता, प्रजातन्त्र, समाजबाद, हामी त्यसमा दृढ छौं ।

राष्ट्रिय रूपमा दोस्रो र चौथो शक्ति (एमाले–राप्रपा) बीच तालमेल भएको छ, तपाईंहरू सिंगल हुनुहुन्छ नि ?
विचार, सिद्धान्त, आदर्श केही पनि मिल्न नसक्ने अझ भनांै नदीका दुई किनारा जस्तो विचार र सिद्धान्त भएका राजनीतिक शक्ति बीचमा एलाइन्स गर्नु भनेकै हार स्वीकार गर्नु हो । हार्ने मनस्थितिले गर्दा नै उनीहरूले एलाइन्स गरेको हो । त्यो पनि कुनै सैद्धान्तिक आधार नभएको एलाइन्स हो । एउटा कम्युनिस्ट जस्ले राजतन्त्र मान्दैन, जस्ले धर्मलाई अफिम भन्छ । अर्कोतिर राजतन्त्र र हिन्दुराष्ट्र मान्ने पार्टी । त्यसकारण यो एलाइन्स हुनै नसक्ने खालको छ । पहिलो कुरा त उनीहरू हार्छु भन्ने मनस्थितिमा पुगेर नै एलाइन्स भएको हो । त्यसकारण यो अपवित्र गठबन्धन हो, यसले कांग्रेसलाई केही असर गर्दैन । अर्को त्यो गठबन्धनले महिला उम्मेदवार बनाउनै पर्ने संवैधानिक व्यवस्थालाई कुल्चेको छ । नेपाली कांग्रेसले के परिकल्पना गर्‍यो भने, महिलालाई पनि अगाडि बढाउनुपर्छ एउटा पुरुष र एउटा महिलालाई भने तर उनीहरूको अपवित्र गठबन्धनले के गर्‍यो भने देखि मेयर भइसकेको मान्छेलाई पनि उपमेयरमा र दुईटै पुरुष महिलाविरोधी गठबन्धनको रूपमा देखिन्छ । संविधान पनि उल्लंघन भयो, संविधानलाई कताकता कार्यान्वयन हुन नदिने खेल खेलिरहेको देखिन्छ ।

तपाईंले यति बेलासम्म जनप्रतिनिण्धिका रूपमा काम गर्नुभएको छैन । एकै पटक महानगरको मेयरको उम्मेदवार बन्नुभयो, कसरी ?
मैले बहुदलीय व्यवस्थापछिको पहिलो स्थानीय निर्वाचन हुँदा नै २०४९ सालमा काठमाडौंको मेयरमा दाबी गरेको थिएँ । त्यो बेलामा काठमाडौंमा पीएल सिंहजस्तो सिनियर आउनुभयो । अनि म पछि हटँे । त्यो बेला मलाई उपमेयर बन्न भनेको थियो पार्टीले । तर मेरो इच्छा अरू केही होइन एक पटक काठमाडौंको मेयर बन्ने भन्ने थियो । खासमा म लोप्रोफाइलमा रहन रुचाउँछु, तर महानगरपालिकाका जनताबीच म जति रूरु कोही पुगेका छैनन् । महानगर कसरी चलाउनुपर्छ भन्ने योजना मसँग छ । अहिलेसम्म कुनै पद नलिनु पनि मेरो योग्यता हो । २०६४ सालमा सभासद उठ्ने कि भन्ने कुरा भएको हो तर, मैले मेयर नै उठ्छु भनेर सांसदको टिकट हापेको हुँ ।

भाइ मन्त्री दाइ मेयर भन्ने पनि आरोप छ नि ?
भाइ मन्त्री भएको छ । त्यो मात्रै होइन ऊ पार्टीको केन्द्रीय सदस्य पनि हो । उसको छुट्टै राजनीतिक पृष्ठभूमि छ । मेरो अलग्गै छ । म २०४९ सालमा मेयर हुन खोजँे । पीएल दाइजस्तो सिनियर आएपछि मैले छोडँे । नवीन्द्रराज उपमेयर भए । यसमा परिवारको कुनै प्रसंग छैन ।