देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन तस्करलाई सम्पत्ति शुद्धीकरणको अभियोग

देशान्तर

काठमाडौं । सुनचाँदीको अवैध कारोबारीलाई सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा चलाइएको छ । सात केजी चाँदी र एक केजी सुनसहित फेला परेको ५२ लाख रुपैयाँको स्रोत खुलाउन नसकेपछि सुनसरी धरान निवासी दीपक अग्रवाल र सुनिल अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २० वैशाखमा सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाएको आजको राजधानी दैनिकमा समाचार छ ।

विभागले २० वैशाखमा अग्रवालद्वयविरुद्ध मुद्दा दायर भइसकेको विशेष अदालतले जानकारी दिएको छ । अग्रवालद्वयविरुद्ध स्रोत नखुलेको सम्पत्ति राखेको अभियोग लगाइएको छ । उनीहरूसँग ५२ लाख रुपैयाँ जफत, बिगोको दोब्बर मूल्यबराबरको जरिवाना र २ देखि १० वर्षसम्मको कैद सजाय माग गरिएको छ । दुवै अभियुक्त अहिले फरार रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जानकारी दिएको छ ।
अग्रवालद्वयले नेपालको पूर्वी क्षेत्रबाट सुनचाँदीको अवैध कारोबार गर्ने गरेको बताइएको छ । सुनील अग्रवालको नाममा धरानमा सुनचाँदीको कारोबार गर्ने फर्म दर्ता भए पनि दीपकको नाममा त्यस्तो फर्मसमेत नभेटिएको विभागले जानकारी दिएको छ ।

अवैध सम्पत्ति आर्जन गरेको र सुनचाँदीको अवैध कारोबारमा अग्रवालद्वय संलग्न रहेको तथ्य प्रहरीले फेला पारेको थियो । १० साउन २०७१ प्रहरीले विशेष सूचनाका आधारमा दीपक अग्रवालको धरान नगरपालिका–२, सुनसरीमा रहेको घरमा सात केजी चाँदीका गहना, एक केजी सुनका गहना र ५२ लाख रुपैयाँ उनको ओछ्यानमुनि भेटिएको थियो । दीपकसँग सो सुनचाँदी तथा नगदबारे सोधपुछ गर्दा यस्तो सम्पत्ति सुनिल अग्रवालले राख्न दिएको र आफ्नो नभएको बयान प्रहरीलाई दिएका थिए । सुनिल अग्रवालले अचानक दिल्ली जानुपरेकाले सुरक्षाका लागि भन्दै दीपकको घरमा राख्न दिएको बयान दीपकले प्रहरीलाई दिएका थिए ।

प्रहरीले अवैध सुनचाँदीसहित पक्राउ गरेका दीपकलाई राजस्व अनुसन्धान विभागमा थप कारबाहीका लागि पठाएको थियो । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानले पनि दीपकको घरमा भेटिएको सुनिलको भनिएको सुनचाँदी अवैध रहेको भन्दै जफत गरिसकेको छ । अवैध रूपमा भेटिएको रकम ५२ लाख रुपैयाँको स्रोत खोजी गर्न सो फाइल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको थियो ।

दीपक अग्रवालको घरमा भेटिएको रकमको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरणको अभियोग लगाएर मुद्दा दायर गरिएको विभागका महानिर्देशक दामोदर रेग्मीले बताए । सुन कारोबारीको गिरोहमा संलग्न व्यक्तिहरूविरुद्ध मुद्दा दायर गर्नुपरेका कारण केही जटिलता थपिएको विभागका महानिर्देशक रेग्मीको भनाइ छ ।

‘अवैध सुन कारोबारीको गिरोहकै व्यक्तिहरू भएको अनुमान गरिएको छ, मुद्दा दायर गर्नुअघि प्रक्रिया अगाडि नबढाउन केही दबाब आएको थियो, तर पनि हामीले मुद्दा दायर गरिसकेका छौं,’ विभागका महानिर्देशक रेग्मीले भने ।

नेपालमा पछिल्लो समयमा अबैध सुनको कारोबार निकै ठूलो मात्रामा हुने गरेको अनुसन्धानमा संलग्न निकायहरूले बताउने गरेका छन् । चीनबाट अवैध सुन ल्याएर केही मात्रामा नेपाली बजारमा बाँकी सुन तथा चाँदी भारतीय बजारसम्म पुर्याउन ठूलै समूह सक्रिय रहेको बताएको छ ।

]]>