देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मूर्तिभञ्जकहरूले ठडाएको सालिक


आस्थाको, इमानको, जनविश्वासको
मूर्ति स्थापना भएको मुलुक यो
काल भैरव, त्यसको द्यौतक
भगवान्लाई पनि साहस चाहिन्छ न्याय दिन
रुद्र–अवतार भैरवमा त्यो साहस भएकोले
न्यायाधीश भनिन्छ काल भैरवलाई
अपराधीको सातो जाने अगाडि पर्दा
अझ रगत छादेर मर्ने जनविश्वास
यस्तै यस्तै सँगालिएको मुलुक
सन्तुलन कायम भएको
इमान, जमान र सुशासनको
अनि त –
मेघको रूपमा उडेर जान लागेको महांकाललाई
हाम्रा तान्त्रिकले यही रोक्न सके,
विराजमान गराए महांकाल भैरवलाई
टुँडिखेलमा अवस्थित छन् ती
तिनले शिरमा राखे बुद्धलाई
बने बौद्ध धर्मरक्षक महाविहार
अलौकिक सम्मिलन यो तपोभूमिमा
यसरी सधैँ बाचेर आएको मुलुक यो

आज यहाँ लहड छ मूर्तिभञ्जकहरूको
अन्तको सलतनतका प्रतिबिम्बहरूको
आस्था, इमान र विश्वास भत्काउँदै
अलग गर्दै, बन्डा गर्दै, चिरा पार्दै
आल्हादित यी शासनको मदहोसमा
भ्रष्टाचार नै राजनीतिक पेटको एउटै विचारधारा
भ्रष्टाचार नै शासकीय आदर्श
भ्रष्टाचार नै समीकरणको चुरो
भ्रष्टाचार नै गठबन्धनको तुलो
ठगैठग मिलेर गरेको शासनमा
कसले कसलाई ठग भन्ने ?
सधैँजसो ठगलाई जोगाउन प्रयोग राज्य
एउटा ठगलाई बचाउन राज्य प्रयोग गर्दा,
अर्को ठग फुस्किने
यो जोड घटाउमा सत्ता टिक्ने या जाने
यसरी भ्रष्टाचारको मूल फुटिरहेको

लेनिनलाई आराध्यदेव मानेर आएकाहरूले
देखिरहेका छन् विश्वभर ढलिरहेका उनका सालिकहरू
कोही कवाडीकहाँ पुगे, कोही म्युजियममा
उसैको देशमा लडिरहेको, बेवारिस
तर यहाँ जँड्याहाको सालिक ठडिन्छ
मुलुक बनाउनेको सालिक तोडफोड गरेर
अदालतले ठहर गरेको भ्रष्टाचारी
जेल परेको त्यो व्यक्ति
उसको नै सालिक बनाए
जनताको रगत पसिनाको करबाट
यो भन्दा ठूलो अपराध के?
त्यति मात्र होइन –
पटक पटक प्रधानमन्त्री भएका
सुशासनको गफ, तर डुङ गनाएका उनी
र, फेरि प्रधानमन्त्री बन्न आतुर
त्यो भ्रष्टाचारीको मूर्ति अनावरण गर्न पुगे
यसरी ठडाएका छन् भ्रष्टाचारीको सालिक
मुलुक बनाउनेको तोडेर
क्रमभङ गर्ने मूर्तिभञ्जकहरूले