देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यति ठूलो बहुमतको दुरुपयोग गर्नु अपराध होः

देशान्तर

पार्टी चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, दीर्घकालीन योजनाहरू चाहिन्छ । तर, नेकपामा यी कुनै पनि विषयहरू छैनन् । भोली यो पार्टी पिँध नभएको लोटाजस्तै जता पनि ढल्कन सक्छ । त्यसकारण उहाँहरूलाई हामी कम्युनिस्ट मान्दैनौँ ।

कुनै समय तपाइको कार्यकर्ता रहनुभएका केपी शर्मा ओली अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ । तर, सबैतिरबाट उहा“को आलोचना भइरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?

आम जनता र देश बुझेको समुदाय खुसी नभएको अवस्थामा मेरो कार्यकर्ता वा सहकर्मी भन्दैमा मैले खुसी व्यक्त गर्न सक्ने अवस्था छैन । पुरानो कुरा कोट्ट्याएर झापा आन्दोलनतिर लान खोज्नु भयो । अहिलेका प्रधानमन्त्री त्यो कालखण्डमा मेरो कार्यकर्ता नै हो । पछिल्लो समयमा हामी सहकर्मी भयौ र अहिले उहाँ प्रधानमन्त्री बन्नु भएको छ । तर, यसलाई म ठूलो कुरा मान्दिनँ ।

राजनीतिमा लागेको मान्छे प्रधानमन्त्री बनेको विषयलाई सामान्य रूपमा लिनुपर्छ । यसको अर्थ मेरो कार्यकता भएको हिसाबले प्रधानमन्त्री असफल भए र म पनि असफल भए भन्ने होइन । प्रधानमन्त्री असफल हुनुमा अरूको कारण छैन, आफ्नै कारणले गर्दा असफल हुनुभएको हो । तर, अहिलेको प्रश्न भनेको प्रधानमन्त्री हुनु ठूलो कुरा होइन । प्रधानमन्त्री भएपछि के ग¥यो भन्ने हो । प्रधानमन्त्री भएपछि ओलीबाट के के भए भनेर हेर्दा अहिलेसम्म केही पनि गरेको देखिएन ।

राम्रो काम गर्न नसकेकै कारण अहिले ओलीको पार्टी प्रतिपक्षी दल, नागरिक समाज, प्रेस जगत् र आम जनताबीच आलोचित भइरहेको छ । प्रधानमन्त्री पद कहिल्यै पनि आलोचनाको पात्र बन्दैन । प्रधानमन्त्री पदको उपयोग कुन व्यक्तिले कसरी गर्छ त्यसमा निर्भर रहन्छ । प्रधानमन्त्रीको सोच, विचार र नीतिमा निर्भर रहन्छ । अहिले प्रधानमन्त्रीको हैसियत कार्यकारी हो । कार्यकारी प्रधानमन्त्रीले राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिजस्ता विषयहरूको संरक्षण गर्नुपर्छ ।

तर, अहिलेका प्रधानमन्त्रीबाट धर्म माथि पहिलो प्रहार भयो । हिन्दु बाहुल्य रहेको देशमा अरू धर्म प्रचारका लागि राज्यको ढुकुटीको दुरुपयोग गरियो र होली वाइन काण्ड मच्चाइयो । पछिल्लो समयमा आएको गुठी विधेयक पनि धर्म र संस्कृति नास गर्ने एउटा कडी थियो । उहाँले अदालत, मानवअधिकारदेखि प्रेससम्मलाई नियन्त्रण गर्नु खोज्नु भएको छ ।

विश्वमा प्रेस र मानव अधिकार कहिल्यै पनि कुनै शासकले नियन्त्रण गर्न नसक्ने विषय हो । त्यो पनि एक्काईसौं शताब्दीमा आएर यस्ता कुरामा महत्व दिने प्रधानमन्त्री असफल नभएर अरू हुने कुरा कतिले गरेका थिए त्यो थाहा भएन, तर मैले भने गरेको थिइनँ । यस्ता धेरै विषयहरू छन् प्रधानमन्त्री असफल हुनुमा ।

तपाईंले सानैदेखि प्रधानमन्त्री ओलस“ग संगत गर्नुभयो र धेरैले उहाको स्वभावलाई मन पराएका छैनन् । प्रधानमन्त्रीको स्वभावका कारण दुई तिहाइको बहुमत अलपत्र परेको हो भन्न सकिन्छ ?

मैले थाहा पाएअनुसार उहाँ जिल्ला स्तरको कार्यकर्ता हुँदा पनि साथी र पार्टीका लागि सक्रिय नभएकै हो । पछि उहाँमा नेतृत्वमा जान सक्नेभन्दा पनि मान्छेलाई भुलाउन सक्ने खुबी देखिएपछि नेकपाको नेतृत्वमा पनि यसरी नै पुग्नु भएको हो । अरूलाई नगन्ने र नसुन्ने प्रवृत्ति अहिलेसम्म नहटेकाले उहाँका सोच, विचार र लिएका नीतिहरूले काम गर्न सकेनन् र सक्ने सम्भावना पनि थिएन ।

त्यसकारण अहिले दुई तिहाइको बलियो मतसहित प्रधानमन्त्री हुनुभएका केपी शर्मा ओली पनि अरूको कारणले नभई आफ्नै कारणले आलोचित हुन भएको छ । उहाँको स्वभाव मिलेर जाने भन्ने पहिलेदेखि नै थिएन । दोस्रो संविधानसभाको निर्वाचन पछि उहाँ प्रधानमन्त्री हुँदा उठेको मधेस आन्दोलन र भारतीय नाकाबन्दीमा विभिन्न दलहरूको सहयोगले उहाँमाथि केही राष्ट्रवादको छायाँ थपियो भने कांग्रेस र माओवादीको कुरा नमिले पछि उहाँले एकताको ललीपप देखाएर माओवादीलाई साथमा लिन सक्नु भयो ।

चुनावमा माओवादीसँग एकता गर्ने सहमतिमा गठबन्धन बन्नु र भारतीय नाकाबन्दीमा अरू दलका नेताभन्दा ओली बढी राष्ट्रवादी देखिएका कारण एकपटक जनताले ओलीको परीक्षण गर्न दुई तिहाइ दिएका हुन् । उहाँ अहिले दुई तिहाइ नजिक हुनुहुन्छ तर काम अल्पमतको सरकारको जति पनि गर्न सक्नु भएन । यो केपी ओलीका लागि राजनीतिक जीवनमै ठूलो अवसर थियो । अब यो अवसर ओलीलाई हैन नेकपालाई पनि आउँदैन । तर, यो अवसरको प्रधानमन्त्रीबाट दुरुपयोग भइरहेको छ ।

अर्को उहाँ आफ्नो आलोचना सहनै नसक्ने र अरूको आलोचनामात्र गरिरहने राजनीतिक संस्कारबाट हुर्कनु भएको हो । अहिलेको जमानामा यो संस्कारले राज्य चल्दैन । अझै समय छ सच्चिने । सच्चिन सक्नुभयो भने केही सहानुभूति पाउनु होला नत्र अब नेकपाले यही ढंगबाट ३० वर्षसम्म शासन गर्छु भन्नु मनको लड्डु घिउसँग खानु जस्तै हो ।

देशमा पहिलेदेखि कायम रहेका यावत् समस्याहरू समाधान गर्न र देश बनाउन उहाँले ठूलो अवसर पाउनु भएको हो । यो अवसर अरू कसैलाई नआउन सक्छ । यति महत्वपूर्ण अवसरलाई ओलीले आफ्नो महत्वाकांक्षाको सिकार बनाउनु भयो भन्ने मेरो विश्लेषण हो ।

कम्युनिस्ट आन्दोलनका अगुवा तपाईंं र ओलीले लामो समय एउटै पार्टीमा राजनीति गर्नु भए पनि अहिले बाटाहरू फरक छन् तर पनि दुवैजना कम्युनिस्ट राजनीतिमै हुनुहुन्छ । यो एक अर्काको आलोचना किन ?

अहिलेको नेकपालाई कांग्रेस र राप्रपाले कम्युनिस्ट भन्लान् तर हामी केपी ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको पार्टीलाई कम्युनिस्ट पार्टी भन्दैनौं । हाम्रो नजर न ओली कम्युनिस्ट नेता हो न त दाहाल नै कम्युनिस्टका नेता हुन् । उहाँहरू भनेको सबै कुरा मिसिएको तर यही हो भनेर छुट्टाउन नसकिने खिचडी जस्तै हो । लोकतान्त्रिक पक्षधरहरूले उहाँहरूलाई कम्युुनिस्ट भन्नु हुन्छ तर, यो कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो भूल हो ।

नेपाली कांग्रेस र अरू केही शक्तिले नेकपालाई कम्युनिस्ट भनेका छन् । हामी कम्युनिस्ट आन्दोलनमा लागेर यति समय बिताइसकेकाहरू प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाललाई कम्युनिस्ट भनेर मान्दैनांै । उहाँहरू अवसरवादी हो । उहाँहरूसँग आफ्ना कुनै एजेन्डा छैन । कुनै सिद्धान्त छैन । पार्टीको कुनै कार्यदिशा छैन । उहाँहरू अहिले न कम्युनिस्ट, न कांग्रेस, न राजावादी पक्षधर न त कुनै नयाँ शक्ति नै हो । हो के भने यी सबै विचारलाई तानतुन पारेर बनाइएको पार्टीको नाम मात्रै कम्युनिस्ट हो ।

अहिले नेकपा समाजवादी अर्थव्यवस्थाको कुरा गरिरहेको छ । नेकपाको समाजवाद कस्तो हो, के हो ? उहाँहरू समाजवादमा पनि प्रस्ट हुनुहुन्न भने वैचारिक र सैद्धान्तिक विषयहरू पार्टीमा कसरी उठिरहेका छन् त्यो कार्यपत्र प्रस्तुत गर्ने व्यक्तिलाई समेत थाहा छैन कि हाम्रो सैद्धान्तिक कार्यदिशा यो हो भनेर । पार्टी चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, दीर्घकालीन योजनाहरू चाहिन्छ । तर, नेकपामा यी कुनै पनि विषयहरू छैनन् । भोली यो पार्टी पिँध नभएको लोटाजस्तै जता पनि ढल्कन सक्छ । त्यसकारण उहाँहरूलाई हामी कम्युनिस्ट मान्दैनांै ।

तर, उहाहरूले दुई पार्टी मिलेर बनेको नेकपा विश्वकै उदाहरणीय कम्युनिस्ट पार्टी हो भनिरहनु भएको छ र एकता पनि सकिन बा“की छ । यो एकतालाई तपाईंले कसरी हेर्नु भएको छ ?

पहिलो कुरा उहाँहरू जस्तो कम्युनिस्ट पार्टी नेपालमा अरू छैनन् र विश्वमा पनि लक्ष्य र सिद्धान्त नभएका कम्युनिस्ट पार्टीहरू नभएकाले हाम्रो पार्टी नयाँ ढंगको कम्युनिस्ट पार्टी हो भन्नु ठीकै हो । जहाँसम्म पार्टी एकताको कुरा छ, यसमा अहिले दुई पार्टी मिलाएर नेकपा नाम त दिइएको छ तर दुई भंगालाहरू एक भएका छैनन् । सरकारमा दुई पार्टीको प्रतिनिधित्व भए पनि ओलीले एक्लै एमालेको सरकार चलाई रहनुभएको छ ।

ओली अहिले नै अर्को भंगालोबाट नेकपाको अध्यक्ष हुनुभएका पुष्पकमल दाहाललाई जिम्मेवारी दिने पक्षमा देखिनु भएको छैन । उहाँ केवल कसरी पाँच वर्षसम्म सत्ता जोगाउने भन्ने पक्षमा मात्र केन्द्रित हुनु भएको छ । त्यसकारण अहिले प्रधानमन्त्रीबाट हामीले ठूलो आशा गर्नु मूर्खता हुन्छ भन्ने मलाई लाग्छ । दोस्रो पक्ष भनेको पार्टी एकता गर्दा दुई भंगालाका दुई नेताका बीचमा जे सहमति भएको थियो त्यो कार्यान्वयन गर्न ओली तयार देखिएका छैनन् र कार्यान्वयन नभए थाहा पाउँला भनेर अर्का अध्यक्षले चेतावनी पनि दिइरहनु भएको छ ।

पहिले भएको भद्र सहमति कार्यान्वयन नगर्ने पक्षमा ओली गइसकेकाले दुई अध्यक्षका बीचमा खटपट चलिरहेको छ । यो खटपटको स्वरूप भोलि के हुन्छ त्यसमा नै उहाँहरूको एकता निर्भर रहन्छ । नेकपाभित्रका दुई धारहरूको सहकार्यता लामो समयसम्म जान सक्नेमा पनि यसले आशंका उत्पन्न गराएको छ । अहिलेसम्म माओवादी पक्षको नेतृत्व गरिरहेका अध्यक्ष दाहालले त्वम शरणम् गरेर बसे र अरू नेताहरूले पनि त्वम् शरणममा नै आफूलाई सुरक्षित ठाने भने यो एकता कायम रहन सक्ला, त्यो पनि केही समयसम्मका लागि मात्रै ।

हैन भने उनीहरूबीचमा लामो यात्राको सम्भावना अहिले देखिँदैन । अहिले मूल नेतृत्व लिनु भएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली हिजो आफूले गरेका वाचा र कबुलहरू कार्यान्वयन नगर्ने र सत्ता लम्ब्याउनेतर्फ मात्रै केन्द्रित भएकाले दसवर्षे जनयुद्ध र शान्ति प्रक्रियाबाट त्यो उचाइमा पुग्नु भएका दाहाल जति समय सहन सक्नुहुन्छ त्यति समयसम्म नेकपा फुट्दैन ।

प्रधानमन्त्री देशमा नभएको समयमा दाहालले आलोपालो प्रधानमन्त्रीमा सहमति भएको सार्वजनिक गर्नु भएपछि अहिलेलाई टालटुलमा पार्टी एकता भनिए पनि आशंका पैदा भएको छ । दाहालले पार्टी भूमिका नै नपाएको कुरा उहाँले नउठाए पनि पार्टीका अरू नेताहरूले उठाउन थाल्नु भएको छ । पार्टीको अध्यक्ष भएको १४ महिनासम्म कुनै जिम्मेवारी नपाउनु भनेको दाहालले अहिलेसम्म सहेर बस्नु भएको छ भन्ने हो । तर, दाहाल चुप बसेकै अवस्थामा अरू नेताहरू पनि चुपै लागेर बस्छन् भन्ने छैन ।

पूर्वमाओवादीको नेतृत्व गरिहनुभएको अध्यक्ष दाहालले ‘आलोपालो’को कुरा उठाएपछि प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको कुरा उठाउनु भएको थियो । यो दाहाललाई काउन्टर हो कि सा“च्चै मध्यावधि हुन्छ ?

ओलीको प्रवृत्ति भनेको अरूलाई कसरी हुन्छ तर्साउने र आफ्ना लागि जोसँग पनि मिल्न जानेछ । २०६२÷०६३ को जनआन्दोलनमा पनि उहाँ गणतन्त्रको पक्षमा रहनु भएको थिएन । त्यो बेला संघीयताका कुरा उठेकै थिएनन् । उहाँले बयलगाडा चढेर अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउन एउटै हो भनिरहँदा हामी सडकमै थियौ । त्यसकारण ओलीको चरित्र विचित्रको छ । २०३६ सालमा पनि उहाँले यस्तै गर्नु भएको हो । अहिले ओली र दाहालले चाहदैमा मध्यावधि हुँदैन । यद्यपि दाहाल मध्यावधिको पक्षमा छैनन् ।

ओलीले पनि मध्यावधिको परिणाम बुझेरै धम्क्याएका मात्र हुन् । अहिलेको नेकपाको परिस्थिति के हो भने, दुवै अध्यक्ष प्रतिरक्षामा छन् । दुवै अध्यक्षको प्रतिरक्षाको लडाइँ जनताले भोग्नु परेको मात्र हो । तत्कालमा उहाँहरू मध्यावधिमा जानु होला भन्ने मलाई लाग्दैन । तर, विस्तारै यस्ता कुराहरू बढेर गए भने मध्यावधि मात्र हैन सत्ता उल्टन पनि सक्छ । हामीले चाहेर र नचाहेर पनि पछि हेर्दै जानुहोला दुई अध्यक्षको बीचमा द्वन्द्वको उत्कर्ष हुन्छ । उहाँहरूसँग भएका हतियारहरू त्यही समयमा प्रयोग हुनेहुन् ।

अहिले उहाँहरूको लडाइँ गफको लडाइँ मात्र हो । जति गरे पनि अहिले दाहालले प्रधानमन्त्री हटाउन र उनको इच्छा पूरा गर्न सक्दैनन् । उनी आत्मसुरक्षाको लागि एकतामा आएका हुन् । अहिले हामीले भन्न सकिने कुरा भनेको दुई जनाका बीचमा भएको सहमतिलाई प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्ने अवस्था देखिँदैन । उहाँहरूका बीचमा के सहमति भएको र दाहालले के कुरा उठाउनु भयो त्यो पनि बाहिर आएको छैन । भोलि ओलीले सहमति नै भएको थिएन भन्न पनि सक्छन् । उनले त माओवादीलाई प्रयोग गरेर दुई तिहाइ हात पारे । तर, उनको नियत ठीक नभएकाले दुई तिहाइको पनि औचित्य रहेन ।

नेकपाका दुई अध्यक्षको यस्तो व्यवहारले सरकारको प्रभावकारितामा कुनै प्रश्न उठाउछ कि उठाउदैन ?

यो सरकारसँग अब के प्रश्न उठ्न बाँकी छ ? मत अब कुनै पनि विषयहरू बाँकी रहेको देख्दिनँ । सरकार गठन गर्दा नै उहाँहरूले आफूमा भएका सहमतिलाई सार्वजनिक गरेको भए यो सरकारमा यो प्रधानमन्त्रीको समय अढाई वर्ष र त्यसपछि अर्को प्रधानमन्त्री आउने भन्न एक खालको सोच जनतामा हुने थियो । तर, अहिले प्रधानमन्त्री ओलीको कार्यकाल कति र अर्का अध्यक्षको कार्यकाल कति हो भन्ने द्विविधा छ । त्यसकारण पनि सरकारका पक्षमा जनताहरू विश्वस्त हुन नसकेका हुन् ।

अहिले सरकारको तौल घटिरहेको अवस्था छ । त्यसकारण सरकारलाई कमजोर बनाउने उद्देश्य दाहालको पक्कै पनि थिएन होला । पहिले भएका सहमतिका विषयमा अर्का अध्यक्षले नबोलेपछि दाहाललाई पूर्व सहमतिमा बोल्न बाध्य हुनु प¥यो । अहिलेसम्म उहाँहरूले भने अनुसारको पार्टी एकता भएको छैन, संख्या र जिम्मेवारीमा भागबन्डा गर्दैमा पार्टी एकता भएको मान्न सकिँदैन । नेकपा अहिले पनि दुई भँगालो मै छ । पूर्णरूपले मिसिएको छैन र एकपक्षले कुरा उठाउँदा अर्को पक्षले विरोध गर्ने भइरहेको छ ।

यो आपसी द्वन्द्वले नै उहाँहरूबीचको एकता विभाजनतर्फ उन्मुख छ भन्ने मलाई लाग्छ । यी आपसी झगडाका विषयबाहेक पनि सरकार सञ्चालनमा प्रधानमन्त्री असफल देखिनु भएको छ । उहाँले आफूमात्रै सबै कुरा हो भन्दै पहिले नै लानै नहुने १५ भन्दा माथि विभागहरू प्रधानमन्त्री कार्यालयमा लगेर पंगु बनाउनु भयो । अहिले अख्तियार जस्तो निकायलाई पनि प्रधानमन्त्री कार्यालयमा लान विधेयक तयार पारिएका कुराहरू आइरहेका छन् । यसको अर्थ के हो भने प्रधानमन्त्रीले प्रधानमन्त्रीको पदको महत्व अहिलेसम्म बुझनु भएको छैन ।

उहाँ केवल प्रधानमन्त्री कार्यालयमा भएका सबै विभाग र मन्त्रालय लान सकिएमात्रै आफू बलियो हुन सकिन्छ भन्ने गलत सोचको खेतीमा लाग्नु भएको छ । प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालयको मात्र बन्न खोज्नु नै अहिलेको मूल समस्या हो । यसै कारणले अहिलेको जस्तो सुनौलो अवसर ओलीले गुमाइरहेका छन् । यस्तो राम्रो अवसर गुमाएकोमा उहाँलाई इतिहासले समेत माफ दिन सक्दैन । यति ठूलो बहुमतको दुरुपयोग गर्नु भने त अपराध नै हो ।

उहाँले धर्मान्तरणलाई समेत प्रोत्साहन गरिरहनु भएको छ । विदेश नीतिहरू उस्तै छन् । दुई छिमेकी मुलुकहरूले नेपाललाई प्रयोग गरेर आफ्नो राजनीतिक उद्देश्य सिद्ध गराउनका लागि ओलीलाई उपयुक्त पात्र मानिरहेका छन् । सारांशमा उहाँ जस्तो प्रधानमन्त्री पाउनु नै अहिले नेपालको लागि दुर्भाग्य बनिरहेको छ । सनातन संस्कृतिमाथि धावा बोल्ने काम पनि असल प्रधानमन्त्रीबाट हुन्छ ?

सरकारका पछिल्ला गतिविधिहरूका विरुद्धमा तपाईंंहरूले साना पार्टीहरूको मोर्चा बनाएर आन्दोलनको घोषणा पनि गर्नुभएको छ । कम्युनिस्ट सरकारका विरुद्ध कम्युनिस्टकै मोर्चाबन्दी किन ?

म फेरि पनि दोहो¥याएर भन्न चाहन्छु कि हामी उहाँहरूलाई कम्युनिस्ट भनेर सम्बोधन गर्दैनौ । उहाँहरूले कम्युनिस्ट विचारलाई धेरै अगाडि छाडिसक्नु भएको छ र अहिले उहाँहरूसँग कुनै पनि सिद्धान्त भन्ने छैन । उहाँहरू अहिले सरकारमा हुनुहुन्छ र बहुमत छ भनेर धर्म र संस्कृति मास्ने खालका गतिविधिमा प्रधानमन्त्री संलग्न भइरहनु भएको छ । राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीले अरू दलको सुझावलाई समेत मान्नु भएको छैन ।

अन्तर्राष्ट्रिय शक्तिहरूको खेलमैदान बनाउनु भएको छ नेपाललाई । सरकार अहिले न आन्तरिक रूपमा राम्रो देखिएको छ न बाह्य रूपमा नै । त्यसैले राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको रक्षाका लागि पनि साना दलहरूले सहकार्य गरेर मोर्चा बनाउनेपर्छ भन्ने उद्देश्य राखेर हामीले यो अभियानको सुरुआत गर्ने तयारी गरेका हौ । तर, अहिले यसले पूर्णता पाइसकेको छैन । देश जोखिममा पर्ने अवस्था आएकाले नेकपा मालेको नेतृत्वमा देशमा भएका राष्ट्रवादी धारहरूका बीचमा एकता गर्नुपर्छ भनेर लागेका हौं ।

राष्ट्रवादी शक्तिमा सबै कम्युनिस्ट मात्र छैनन्, यसमा सबै खालको विचार बोकेका पार्टीहरू सहभागी छन् र हामी यसलाई अझै बृहत् बनाउने प्रयास गरिरहेका छौं । देशमुखी समाधानलाई मान्नेहरू नजिक आऔं र सहकार्य गरांै भन्ने नै हाम्रो उद्देश्य हो । अहिले खासगरी क्रिश्चियन धर्मको अस्वाभाविक वृद्धि भइरहेको छ र त्यसमा स्वयम् राज्य अग्रसर देखिएको छ, यो सामान्य कुरा होइन ।

देशमा धर्मनिरपेक्षता लेखिएकाले नै प्रधानमन्त्रीले यो गर्न सकेका हुन् । अहिले भएको धर्म मात्र हैन संस्कृतिलाई समेत सरकारले समाप्त गर्ने प्रयास गरिहेको छ । हामी बहुधार्मिक छौ । हामी धार्मिक सहिष्णु छौ, यति नै पर्याप्त हुन्छ भन्ने हाम्रो धारणा हो ।