देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले विवाद जिल्लासम्मै

देशान्तर

एमालेको तत्कालीन जिल्ला अधिवेशनमा कर्णालीका १० जिल्लामध्ये ६ वटामा माधव नेपाल समूह र ४ वटामा केपी ओली समूहले अध्यक्ष जितेका थिए । अहिले नेपाल समूह अध्यक्ष रहेका ३ जिल्लामा ओली समूहले नेतृत्व दाबी गरिरहेका छन् ।

रुकुम पश्चिममा जिल्ला अधिवेशनबाट विमलकुमार पुन अध्यक्ष चयन भएका थिए । नेकपा विवाद चरम अवस्थामा पुग्दा ओली समूहले टंकप्रसाद ओलीलाई जिल्ला अध्यक्ष बनायो । मंगलबार पार्टी कार्यालयमा साइनबोर्ड राख्ने क्रममा ओलीलाई अध्यक्षका रूपमा पदभार ग्रहण गराइयो । अधिवेशनबाट निर्वाचित अध्यक्ष पुन भने ओलीलाई गुटको नेतामात्र भएको बताउँछन् ।

मुगुमा अधिवेशनबाट नेपाल समूहका धरमबहादुर शाही निर्वाचित भएका थिए तर अहिले ओली समूहले डम्बर रावललाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ । दुइटै समूहका पार्टी कार्यालय पनि अलग–अलग ठाउँमा छन् । जाजरकोटमा नेपाल समूहका करवीर शाही अध्यक्ष चयन भएका भए पनि ओली समूहले गोपालबहादुर बटालालाई अध्यक्ष तोकेको छ । उनले पार्टी कार्यालयमा गएर अध्यक्षको भूमिकामा काम गरिरहेका छन् । सुर्खेत, जुम्ला र हुम्लामा अधिवेशनबाट निर्वाचित नेपाल समूहका क्रमशः ध्रुवकुमार शाही, तीर्थबहादुर बुढा र दल रावलले नेतृत्व गरिरहेका छन् । ती जिल्लामा समानान्तर नेतृत्वको अभ्यास देखिँदैन । नेपाल समूहबाट जिल्ला अध्यक्ष निर्वाचित हुम्लाका रावल बीचमा ओली समूहमा लागे पनि नेकपा विभाजनको बेला नेपाल (दाहाल–नेपाल) समूहमा फर्केका थिए ।

डोल्पामा दत्तबहादुर रोकाया, कालीकोटमा नेसनल शाही, सल्यानमा गोविन्द पुन र दैलेखमा रवीन्द्र शर्मा अध्यक्षको जिम्मेवारीमा फर्केका छन् । चारै जना ओली समूहबाट जिल्ला अध्यक्ष निर्वाचित भएका थिए । कालीकोटका जिल्ला कमिटी सचिव चित्रबहादुर सिंह अध्यक्षले ओलीको शैलीअनुसार काम गर्न थालेमा समानान्तर कमिटी बनाउन बाध्य हुने बताए । ६७ सदस्यीय जिल्ला कमिटीमा नेपाल समूहका ४१ जना रहेका बताउँदै पद्धतिअनुसार पार्टी सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । कान्तिपुरमा खबर छ ।