देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थमा माओवादी आतंक !

देशान्तर

काठमाडौं ।  दसवर्षे कथित सशस्त्र युद्धका बेला व्यक्ति हत्या र चन्दा आतंक मच्चाएको माओवादीले नयाँ गठबन्धनमा अर्थ मन्त्रालयको नेतृत्व हत्याउनेबित्तिकै विभिन्न बहानामा व्यापारिक प्रतिष्ठान, व्यवसायी तथा समाजका लब्धप्रतिष्ठित व्यक्तिमाथि धम्की दिने र चन्दा आतंक सिर्जना गर्ने कामलाई निरन्तरता दिएको छ भने राज्यकोषको दुरुपयोगसँगै सत्ताको आडमा आम मानिसलाई तर्साउने काम गरिरहेको छ । यसअघिको गठबन्धन सरकारमा कांग्रेसका अर्थमन्त्री डा. प्रकाशशरण महतले माओवादीको चाहनाअनुसार कार्यकर्तालाई पैसा बाँड्न नपाएपछि रुष्ट बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सत्ताको लगनगाँठो कसेर आफ्ना विश्वासपात्र वर्षमान पुनलाई अर्थमन्त्री बनाएका छन् भने उनलाई हतियार बनाएर राज्यकोषको दुरुपयोग मात्रै गरेका छैनन्, आर्थिक शिथिलताका कारण थिलथिलो परेको निजी क्षेत्रलाई धम्क्याउन सुरु गरिसकेको एक लब्धप्रतिष्ठित व्यवसायीले देशान्तरलाई बताए ।

नयाँ गठबन्धन बनेको एक साता नबित्दै करिव २७ सय आफ्ना कार्यकर्तालाई सहिद घोषणा गरी साढे २ अर्बभन्दा बढी रकम बाँडेका अर्थमन्त्री पुनले अहिले माओवादीको ढुकुटी भर्न राज्यको ढुकुटी रित्तो पार्न खोजेका छन् नै, निजी क्षेत्रका प्रतिष्ठित व्यवसायीहरूको पनि ढुकुटी रित्याउन लागिपरेका छन् । यसका लागि पुनले राजस्व चुहावट नियन्त्रण तथा अनुगमनका लागि मन्त्रालयले यसअघि नै करारमा नियुक्त एक दर्जनभन्दा बढी कर्मचारीलाई प्रयोग गर्ने गरेका छन् । 

करारमा रहेका माओवादी निकट कर्मचारीहरूलाई मन्त्रालयमा नै बोलाएर व्यापारीलाई फोन गर्न लगाउने र मुद्दा मिलाउने नाममा करोडौं रकम बार्गेनिङ गर्ने गरेको जानकारी देशान्तरले प्राप्त गरेको छ । देशान्तरले पाएको जानकारीअनुसार, ती कर्मचारीहरूको दैनिकी नै फाइल हेर्ने, व्यापारी पहिचान गर्ने र अर्थ मन्त्रालयको हवाला दिँदै मोलमोलाइ गर्ने भएको छ । 

नयाँ व्यवसाय सञ्चालनका लागि अनुमति माग्ने, राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेका फर्म तथा सञ्चालकसहित विभिन्न प्रतिष्ठानको फाइल हेर्ने र तपाईंको त यस्तो समस्या रहेछ नि, भनेर सुनाउने र त्यसपछि केस मिलाइदिने नाममा पैसाको मोलमोलाइ गर्ने काम मन्त्रालयबाटै भइरहेको व्यापारीहरूको गुनासो छ । एकै व्यक्तिलाई विभिन्न व्यक्तिले पटकपटक फोन गर्ने, भेट्न बोलाउने र माओवादीलाई सहयोग गरेको खण्डमा मिलाइदिने भनेर धम्की दिने गरेको व्यवसायीहरूको गुनासो छ । 

कोभिड महामारीका कारण प्रभावित नेपाली अर्थतन्त्र रुस युक्रेन तथा इजरायल गाजा युद्धका कारण उठ्न सकेको छैन । यसको सबैभन्दा ठूलो मार निजी क्षेत्रले भोगिरहेको छ । उद्योग तथा कलकारखाना चल्न सकेका छैनन् । बजार चलायमान नहँुँदा उद्योगी व्यवसायी प्रताडित छन् । यसै अवस्थामा सरकारकै नेतृत्व गरेको दल र त्यसमाथि पनि अर्थ मन्त्रालय सम्हालेको दलबाटै यस्तो काम हुनु सिंगो देशकै लागि घातक रहेको निजी क्षेत्रको बुझाइ छ ।