देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘एनआरएन द सिंगर’ को विजेता बनिन् युक्ती विमली

देशान्तर

काठमाडौँ । खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मूल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौँ आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् । भर्चुअल माध्यमबाट ग्रान्ड फिनालेमा उनले गोठालो जाँदा लाएको माया बोलको गीत प्रस्तुत गरेकी थिइन् । उनी कार्यक्रममा उपस्थित नभएपछि युरोपकै सन्तोष भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट ग्रहण गरी दिएका थिए ।

“प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा फस्ट रनर अप जापानका कर्मादोङ तामाङ बने । उनले नगद २ लाख र ट्रफी प्राप्त गरे । कर्मादोङले ग्रान्ड फिनालेमा कर्मादोङ तामाङले तातोपानी बजार बोलको तामाङ सेलो र आफैले सिर्जना गरेको उत्कृष्ट गीत प्रस्तुत गरेका थिए ।  

यसैगरी सेकेन्ड रनर अपको रूपमा सुवासचन्द्र पुन मगर रहे । पोर्चुगलका पुन मगरले तिम्रो न्यास्रो आउँछ निरमाया  र फूलको थुङ्गा हौ कि भन्ने बोलको गीत प्रस्तुत गरेका थिए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।  यस्तै, ग्रान्ड फिनालेमा विष्णु क्षत्री र गुना मगर निसुले पनि प्रतिस्पर्धा गरेका थिए ।

एनआरएन द सिंगरमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवेदन परेको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले  नेपाल र नेपालीसँग जोडिने रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा व्यक्त गरे । पर्यटनको पहिलो आधार नै संस्कृति भएको बताउँदै संसारको पर्यटनको केन्द्र रहेको बताए । नेपाल प्रकृति र संस्कृतिको धनी भएको बताउँदै यसबाट नेपालले लाभ लिनका लागि एनआरएनले सहयोग गर्नुपर्नेमा जोड दिए ।

अहिलेको अवस्थामा नेपालमा केही निराशाको सञ्चार भएको बताउँदै हाम्रा संस्कृति र सम्पदाबाट पर्यटनको विकास गर्दै सकारात्मक कुराको सञ्चार गर्न आवश्यक रहेको बताए ।

गीत सङ्गीत एकताको  सूत्रमा बाँध्ने माध्यम भएकाले हामीले यसको संरक्षण गर्नका लागि सरकारले काम गरिरहेको बताए । पूर्व अध्यक्ष भवन भट्टले भाषा र साहित्यले सबैलाई जोड्ने भएकाले यसको आवश्यकता रहेको बताए ।

कार्यक्रममा कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालले गर्व गर्नु पर्ने विषय मध्य यहाँको भाषा र संस्कृति रहेको बताउँदै भाषा र संस्कृति जोगाउने आफूहरूको दायित्व रहेको बताए । उनले विदेशमा रहेका आफूहरूले सन्ततिलाई नेपाली भाषा र संस्कृतिका बारेमा सिकाउनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको पनि बताए ।

एनआरएन अध्यक्ष रवीना थापाले विदेशमा बस्ने नेपालीहरूको भाषा र संस्कृतिको जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमले मद्दत पुग्ने बताइन् । भाषा र संस्कृति जोगाउनका लागि हामी सबै मिलेर विदेशमा बसेर छोरा छोरीलाई नेपालसँग जोड्नका लागि यस्ता कार्यक्रमले आगामी दिनमा निरन्तरता पाउनेमा जोड दिइन् ।

एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले संस्कृति तथा सम्पदा विभागले विदेशमा रहेका नेपालीहरूलाई गीत सङ्गीतमार्फत जोड्ने प्रयास गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरू आयोजना हुनुपर्नेमा जोड दिए ।

एनआरएनका पूर्व अन्तर्राष्ट्रिय संयोजक भीम उदासले यो कार्यक्रमको कन्सेप्ट बनाउनेहरू नै बधाईको पात्र रहको बताए । नेपालभित्र एनआरएन हाउस होल्ड नाम भइसकेको बताउँदै एनआरएनका कारण देशको समृद्धि र विकास हुने बताए । देश भित्र र बाहिर बसेका सबै नेपालीहरू मिलेर देशलाई समृद्धि बनाउन लाग्नु पर्नेमा जोड पनि दिए ।

एनआरएन द सिंगरका प्रमुख निर्णायक शम्भु राईले संस्कृति विनाको समाज र संस्कृति विनाको राजनीति परिकल्पना गर्न नसकिने बताए । यो कार्यक्रमले ऐतिहासिक काम गरेको बताउँदै आगामी दिनमा पनि नेपाली पहिचान दिलाउनका लागि सधैँ साथ रहने बताए ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार आनन्द कार्कीले आफूहरूले नेपाली गीत सङ्गीतलाई विदेशमा पुर्‍याउन अभियान चलाइरहेका बेला एनआरएन द सिंगर कार्यक्रमले राम्रो काम गरेको बताए ।

गोविन्द गौतमले कार्यक्रम समापन गर्दै प्रवासमा रहेका दोस्रो पुस्ताका नेपालीलाई कलाका माध्यमबाट नेपालसँग जोड्ने उद्देश्यले एनआरएनको संस्कृति तथा सम्पदा समितिले यो कार्यक्रम गरेको बताए । उनले २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।