देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोबिन्दको ‘मेरो पनि दिन आउला’  टिकटकमा ‘हिट’ 

देशान्तर

काठमाडौँ । यति बेला सामाजिक सञ्जाल फेसबुक, र टिकटक लोकप्रिय बनेको गीतको अंश हो ‘एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला’ ..। यो गीतका गायक भने दुई दशक अघि देखी नै साङ्गीतिक दुनियाँमा थिए । गीत गाउँथे तर सङ्गीतकारका रूपमा बढी चिनिएका थिए । उनी हुन दाङका गोविन्द मधुर आचार्य । साठीको दशकमा औपचारिक रूपमा आफ्नो आवाज रेकर्ड गराएका थिए गोविन्दले । लोक दोहोरी एल्बम ‘चिन्नै छोड्यौ नि’ नामको । जस्मा चार वटा वटा गीत थिए । दोहोरीमा उनकै दाजु सन्तोष आचार्य र प्रसिद्ध गायिका सिन्धु मल्लले गायनमा साथ दिएका थिए भने एउटा गीतमा गोविन्दको एकल स्वर थियो शब्द थियो गीतकार लोकराज अधिकारीको ,बोल थियो ‘कान्छीको रुमाल खस्यो पानीमा’ ।

त्यस यता काठमाडौँमा बसेर सङ्गीत सृजनामा लागेका गोविन्दले गायन र सङ्गीत दुबैलाई निरन्तरता दिए । चलचित्र, आधुनिक, लोक दोहोरी ,पर्व विशेष गीत ,चुनावी गीत , विभिन्न प्रचारात्मक गीत लगायतका गीतमा कतै स्वर मिसाए कतै सङ्गीत मिसाए । कुनै लोकप्रिय भए कुनै औसत रहे । तर जब सतसट्ठी अठसट्ठी तिर गीतकार लोकराज अधिकारीको शब्द अन्जु पन्त र मनोज राजको स्वरमा रहेको ‘मर्छु बरु छटपटीमा’  बोलको गीतमा सङ्गीत भरेर सार्वजनिक भयो गोविन्दलाई सङ्गीतकारका रूपमा पछाडि फर्केर हेर्नु परेन । कामको अभाव भएन निरन्तर उनको खोजी भैरहयो ।


गोविन्दले सङ्गीत भरेका ‘भैहाल्छ नि’ , ‘रोल्पा रोग’  ‘बुलाकी’ नामक चलचित्रका गीत पनि लोकप्रिय रहे । त्यस्तै ‘भन के के गर्नु पर्छ’ , ‘मलाई दुख्दा दुख्ने मुटु’  , ‘चोटै चोट मात्र किन’ , ‘तिमीलाई त मेरो पीडामा’ , ‘यो जुनीमा तिम्रो सिउँदो’  , ‘फूल भनूँ जिन्दगीलाई’  , ‘तिम्रो भैन भने’ , ‘आमाले पकाएको दर’  , ‘तिजै आयो लै बरिलै’  , ‘नाच्ने हो बाटुली’  लगायत उनी द्वारा सङ्गीतबद्ध दर्जनौँ गीतले दर्शकको माया पाएका छन् ।पूजा, मेला पर्वमा लोक गीत गाउँदा गाउँदै काठमाडौँ छिरेका आचार्यको पहिलो गीत ‘कान्छीको रुमाल खस्यो पानीमा’  स्थानीय एफ एममा बज्न थाले पछि जिल्लामा लोकप्रिय भैसकेका थिए ।


दुई दशक पछि पछिल्लो गीत ‘एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला’  सार्वजनिक भए पछि गोविन्दलाई खोज्नेहरूको सङ्ख्या पनि बढेको छ । यो गीत पछि उनको गायनमा पुनरागमन ठानिएको छ । यद्यपि यो बिचमा पनि उनले निरन्तर गाइनै रहेका हुन् । के गीतले भने जस्तै गोविन्दको त्यो एक दिन आएको हो त अब ? गीतमा आचार्य सँगै दिनेश अधिकारीको शब्द रहेका छन् । गोविन्द मधुर आचार्य युट्युब च्यानलबाट सार्वजनिक ‘लिप सिङ’ भिडियोलाई छायाङ्कन, सम्पादन र निर्देशन सुलभ आचार्यले गरेका हुन् । गीतको उत्पादक सिर्जना लामिछाने हुन् ।