देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति हिँड्नु भएको ‘बाटो’ सबैका लागि अनुकरणीय


गएका केही दिन देशको राजनीतिक घटनाक्रम उपल्लोदेखि तल्लो तहसम्म नै निकै चर्चित रहे । त्यसमध्येका दुईवटा घटना उल्लेख्य छन् । एउटा हो प्रधानमन्त्रीबाट संसद्मा ८४ दिनका बीचमा दोस्रोपटक विश्वासको मत लिनु र दोस्रो, भर्खरै पदभार ग्रहण गर्नुभएका राष्ट्रपतिबाट सडकमा प्रकट भएको सादगी । यी दुइवटै घटना राजनीतिक र सामाजिक रूपले अर्थदायी छन् ।

यो बेलाको यो समय सरकारका तीन महिनाको सेरोफेरोमा थियो भने राष्ट्रपतिका दुई हप्ता मात्रै । यसबीच सरकारका काम भने सर्वाधिक विवादित रहे भने राष्ट्रपतिका काम सर्वाधिक स्वागतमा परे । यी दुई पद र जिम्मेवारी भिन्न होलान् तर सत्तामा रहनु भएकाहरूबाट जनअपेक्षाको सम्बोधन कसरी हुँदैछ भन्ने यो एउटा उदाहरण हुनुपर्छ । राष्ट्रपतिबाट पदग्रहण गरेलगत्तै सडकमा जस्तो सादगी प्रकट भयो त्यसलाई आम नागरिकले गणतन्त्रको यात्रामा डेढ दशकपछिको प्रारम्भ मान्नुभयो । यसअघि यो पदबाट सडकमा जस्तो तामझाम देखाइन्थ्यो त्यो त्यसबेलादेखि यो बेलासम्मनै नागरिक तहबाट सर्वाधिक आलोचित थियो । राष्ट्रपतिको सडक तामममझाम कस्तो थियो भने कर्तव्यपालना गर्दागर्दै चिकित्सकले कुटाइ खानुपरेको थियो भने प्रहरी निलम्बनमा पर्नु प¥यो । सडकमा प्रकट भएका यस्ता घटनाका बारे त्यसबेलाका राष्ट्रपति आफनो दायित्वको कुरा नभएको भनेर मौन बस्नु भयो । तर त्यो गलत रहेृछ । तेस्रो राष्ट्रपतिले शपथ लिएपछिको पहिलो दिनदेखिनै यो कुरा सिद्ध हुँदै आएको देखियो ।

अर्को, राज्यसभामा जानुभएपछि जोकोही पदाधिकारीले आफ्ना पूर्वप्रतिबद्धता कार्यान्वयनमा नल्याइँदा राज्य व्यवस्थाप्रति नै वितृष्णा उब्जिने हुन्छ । अहिलेका राष्ट्रपतिबाट आफ्ना पूर्वघोषणाहरू सुरुदेखि नै कार्यान्वयन गर्न थाल्नु भएको देखियो । त्यसकारण यो काम जो कोहीका लागि अनुकरणीय होस् भन्ने कामना गर्नु परेको हुनुपर्छ र राष्ट्राध्यक्षका काम राज्यका निकाय र तिनका पदाधिकारीबाट त्यसै पनि अनुसरणीय मानिनै पर्छ । त्यसमाथि शासनशैलीमा सुधार हुन्छ र त्यसबाट जनअपेक्षाको सम्बोधन हुन्छ भने यसलाई मार्गदर्शन किन नमान्ने ?

प्रधानमन्त्रीको दोस्रोे विश्वासको मत
प्रधानमन्त्रीको दोस्रोे पटक लिइएको विश्वासको मत राजनीतिक वृत्तमा महत्वपूर्ण घटना हो । प्रधानमन्त्रीले संसद्मा विश्वासको मत माग्नु र दिनु संसदीय व्यवस्थाको एउटा सत्र सामान्य संवैधानिक प्रक्रियाभित्र पर्छ । संविधानसभाले बनाएको संविधानको व्यवस्थाअनुसार संसद्को यो दोस्रो कार्यकाल प्रारम्भ हँुदासम्म तीनवटा यस्ता अभ्यास सम्पन्न भए । यी तीनवटै विश्वासका मतमा केही ऐतिहासिकता कायम भएका छन् । पहिलो संसद्को उत्तरार्धमा तत्कालीन प्रधानमन्त्रीले विश्वासको मत माग्नु हुँदा त्यो सरकार दुई तिहाइको हाराहारीमा थियो ।

तर संसद्ले त्यसबेला प्रधानमन्त्री माथि विश्वास जनाएन । संसद्को दोस्रो कार्यकाल प्रारम्भ भएको भोलिपल्टै यसबेलाका प्रधानमन्त्रीले माग्नुभएको त्यस्तो प्रस्तावमा करिब शतप्रतिशत संख्याबाट विश्वास प्रकट भयो । गएको पुस २५ मा यो संसद्को बैठक प्रारम्भ भएको थियो र २६ गते मागिएको विश्वासको मतमा प्रतिनिधिसभाका ९९.२६ को संख्याका माननीयहरूले सम्माननीय प्रधानमन्त्री माथि विश्वासको मत दिनुभयो । संसद्को तेस्रो दल जसको सिट संख्या २७५ मध्ये ३२ को छ त्यस दलका नेता प्रधानमन्त्रीमा नियुक्त भएर यति धेरै मत पाउनुभयो । यो आफंैमा एउटा ऐतिहासिक नै हो ।

तर त्यही प्रतिनिधिसभामा प्रकट भएको विश्वासको यो मत तीन महिना पनि कायम रहेन । पहिले जसबाट प्रधानमन्त्रीको प्रस्ताव भएको थियो त्यही दलले पहिले दिएको विश्वास ५० दिनको हाराहारीमा फिर्ता लिइयो । यसले संसद्मा विश्वासका नाममा अविश्वासको शृंखला सुरु गराउने खतरा देखायो । यद्यपि यति छोटो समयमा दोस्रो पटक मागिएको विश्वासकोे मत संसद्बाट प्राप्त भयो । मतको यो संख्या पहिले जस्तो थिएन तर कम्तीमा दुई तिहाइ चाहिँ आयो ।

नागरिकले अपेक्षा गरेअनुसार सही प्रकारले सरकार चलाउने हो भने कुनै पनि प्रधानमन्त्रीका लागि यो संख्या अत्यन्त सहज हो । संसद्को यो संख्याले देशको राष्ट्राध्यक्षमाथि समेत कार्बाही गर्ने क्षमता राख्छ । यसको अर्थ हो संसद्मा यो समयसम्म प्रधानमन्त्री वा उहाँको नेतृत्व सर्वाधिक बलियो अवस्थामा नै छ ।

संसद्मा प्रधानमन्त्री माथि यस प्रकारको मत प्रकट हुँदाको समय यो सरकार गठन भएको तीन महिनाको हाराहारीमा थियो । यसबेला यता नयाँ राष्ट्रपतिमा आदरणीय रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हप्तादिनको सेरोफेरो मात्रै थियो । यो हप्तादिनमा उहाँले जे गर्नु भयो, विद्यमान अवस्थामाथि परिवर्तनको सन्दर्भमा सरकारले त्यस्तो केही गरेको देखिएन । त्यसकारण पनि यो आलेखको शीर्षक नै राष्ट्रपति हिँड्नु भएको ‘बाटो’ सबैका लागि अनुकरणीय भनी रहन गयो ।

राष्ट्रपतिबाट अपेक्षा
सम्माननीय राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएपछि उहाँबाट सम्पादन हुनुपर्ने काम कुराका सन्दर्भमा आम तहमा नै अपेक्षाहरू प्रकट भए । उहाँको उच्च व्यक्तित्व र अवस्थामा सुधारका लागि गर्नु भएका लामो संघर्षले पनि यस्तो अपेक्षा जगाएको हुनुपर्छ । यसअघि यो पदबाट नागरिकका दुःखकष्ट र सुझावप्रति गरिएको बेवास्ता अभिलेख भइसकेको छ । तेस्रो राष्ट्रपतिबाट त्यस्तो नहोस् मन्ने जनचाहना स्वाभाविक रूपले प्रकट भएको अवस्था हो ।

पौडेल निर्वाचित हुनुभएपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यम उहाँको यो कार्यकालमा सम्पन्न हुनुपर्ने भन्ने सुझावले भरिएका थिए । त्यो क्रम अहिले पनि कायम रहेको पाइन्छ । तत्काल नै ती सुझाव कार्यान्वयनमा पनि आउन थाले । विगतमा राष्ट्रपतिको ‘सवारी’ आमनागरिका लागि जस्तो कष्टकर हुने गरेको थियो त्यसमा ठूलो सुधार आयो । सामाजिक सञ्ञ्जालमा यो सुधारको जस्तो स्वागत भयो त्यसले कुनै पनि पदाधिकारीबाट सम्पन्न हुने काममा नागरिकका अपेक्षा पूरा गर्नै नसकिने प्रकारका, धेरै ठूला रहेनछन् भन्ने भन्ने बुझाउँछ ।
तेस्रो राष्ट्रपतिमा उहाँले शपथग्रहण गरिरहँदा उहाँबाट अब निर्वाह हुनुपर्ने भूमिकाका बारे विभिन्न सञ्चारमाध्यमले आफ्ना सम्पादकीयबाट सुझाव दिइरहियो । त्यसमध्येको एउटा– राष्ट्रपति व्यक्ति र संस्था यस्तो होस्, जसले गणतन्त्रको गरिमा बढाओस् । राष्ट्रपति यस्तो होस्, जसलाई देखेर मुख मोडन मन नलागोस् । राष्ट्रपति यस्तो होस्, जसले आम नागरिकलाई पीडा नदिओस् । राष्ट्रपति यस्तो होस्, जसले अदृश्य र अलोकतान्त्रिक पात्रलाई नियुक्ति नदिओस् । राष्ट्रपति यस्तो होस्, जसले आफ्नो महलमा ट्वाइलेट, कार्पेट र पर्दामा करोड नअसुलोस् । राष्ट्रपति यस्तो होस्, जसले उपचार कोषबाट लुटेको लुट्यै नगरोस् । राष्ट्रपति यस्तो होस्, जसप्रति श्रद्धाले शिर निहुरियोस् । राष्ट्रपति यस्तो होस्, जो सादगी व्यवहारको उदाहरण बनोस् । राष्ट्रपति यस्तो होस्, जसले मन्त्रिपरिषद्देखि हर नियुक्तिमा भागबन्डा नखोजोस् । राष्ट्रपति यस्तो होस्, रामचन्द्रकी जय नारा स्वतःस्फूर्त कुनाकुनामा गुञ्जियोस् । राष्ट्रपति यस्तो होस्, कार्यकाल सकिएका दिन सबैले लेखून— नयाँ राष्ट्रपतिले रामचन्द्रबाट सिकून् ।
(इकागज) ।
घोषणा र कार्यान्वयन
कार्यान्वयन : उल्लेखितमध्येको ‘राष्ट्रपति यस्तो होस्, जसले आम नागरिकलाई पीडा नदिओस्’ भन्ने सुझाव कार्यान्वयनमा आइसकेको छ । शपथग्रहणलगत्तै समाचार विवरणले नै सो कुरा बताउँछन् । समाचारको त्यो अंश –
‘राष्ट्रपति रामचन्द्र पौडेल गत शनिबार शीतल निवासबाट वसन्तपुरस्थित कुमारीघर पुग्दा सडकमा सवारीसाधन रोकिएनन् । नागरिकले घण्टौं जाममा बस्नु परेन । यसअघिका राष्ट्रपति हिँड्दा सडक खाली गरेर सर्वसाधारणलाई हिँड्न पनि नदिने चलन नयाँ राष्ट्रपति आएसँगै बन्द भएकोमा धेरैले तारिफ गरे । कतिपयले भने यो अनौपचारिक कार्यक्रम भएकोले कारगेट प्रयोग नभएको आकलन गरे । आगामी दिन राष्ट्रपति पौडेल कसरी सडकमा निस्कन्छन् भन्ने हेर्न बाँकी रहेको धेरैको भनाइ थियो । घोडेजात्राका अवसरमा राष्ट्रपति पौडेल शीतल निवासबाट टुँडिखेल आउजाउ गर्दा पनि सडक खाली गराइएन । कुमारीघर आउँदा–जाँदाजस्तै अगुवा र पछुवा गाडीसहित उनी कार्यक्रममा आए र फर्किए । फागुन २९ मा राष्ट्रपतिको शपथ लिएका पौडेलले दुई पटक शीतल निवासबाट निस्कँदा अपनाएको तरिकालाई नै सरकारले अब कानुनी रूप दिने भएको छ । त्यसका लागि गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ परिमार्जन गरेर मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ ।
(सेतोपाटी ७ चैत्र)
०००
घोषणा :  राजतन्त्र र राष्ट्रपतिका व्यवहार र आचरणमा के–के भिन्नता हुनुपर्छ भन्नेमा प्रष्ट छु । अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती र विचलनको अवस्थाप्रति सजग रही कुनै पनि तलमाथि हुन नदिई प्रभावकारी ढंगबाट काम गर्नुपर्छ । अहिले हामीसँग संविधान र गणतन्त्रलाई संस्थागत गर्ने अभिभारा र चुनौती छ । गणतन्त्रको राष्ट्रपति र हिजोको राजतन्त्रको राष्ट्रध्यक्षको चरित्रमा मौलिक भिन्नता हुन्छ । त्यो पृथकता देखाउने प्रयास मबाट हुन्छ ।

मेरो एउटै कुरा हो, मैले जीवनमा जुन ‘मिसन’लाई अगाडि राखेर संघर्ष गरेँ, त्यो मिसनलाई पूरा गर्न संविधानसभाबाट संविधान जारी गर्न र लोकतन्त्रलाई स्थापित गर्न पूर्णरूपमा क्रियाशील भएँ । त्यसमा भिजेको तथा संविधानको सम्पूर्ण अक्षर, मर्म एवं भावनासँग जानकार र परिचित भएको तथा आत्मसात गरेको व्यक्तिका नाताले आउन सक्ने कुनै पनि चुनौतीबाट जोगाएर लैजान सक्छु भन्ने मेरो अठोट छ ।
राष्ट्रप्रमुखबाट गल्ती हुँदैन भन्ने मान्यता राखिन्छ । राष्ट्रपतिको काम, कर्तव्य र अधिकार र संविधानले तोकेको छ । तर, राष्ट्रपतिको भूमिका राष्ट्राध्यक्ष, संविधानको संरक्षकको नाताले सजग भएर राष्ट्रहितबारे सोचिरहेको हुनुपर्छ । त्यो पदमा पुगेपछि जनताले अपेक्षा गरेअनुसार यदि मैले आचरण परिपालन गर्न सकेँ भने शीतल निवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।