देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवाको जोस र पाकाको होसमा कांग्रेस चल्छ

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले वर्तमान नेतृत्वले सबैलाई न्याय गर्ने कुरामा आशावादी रहेको बताएका छन् । अहिलेको नेतृत्वमा पाका उमेरदेखि युवाहरूको समिश्रण रहेकाले युवाको जोस र पाकाको होसमा पार्टी चल्ने बताए । देशान्तर साप्ताहिकका लागि मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै महाधिवेशन पछि सबैमा उत्साह जागृत भएको पनि बताए । विगतमा नेतृत्व एकल चलेको स्मरण गर्दै अब त्यसरी पार्टी अघि बढ्न नसक्ने पनि बताए । चितवनका कोइराला २०७४ सालको स्थानीय तहको निर्वाचनमा जसरी अबदेखि कांग्रेसका मतदाताले रुख चिन्हबाहेक अन्य चिन्हमा मतदान नगर्ने पनि प्रष्ट पारे । प्रस्तुत छ, कोइरालासँग गरिएको कुराकानीको यो सम्पादित अंश

कांग्रेसको १४ औं महाधिवेशनबाट अपेक्षा के थियो र, सन्देश के दियो ?

महाधिवेशनबाट कांग्रेस पंक्तिमा फरक प्रकारको उत्साह जागेको छ । कांग्रेसको नेतृत्वमा आएको फेरबदलले आमजनता पनि उत्साहित भएका छन् ।
कांग्रेसले हिजोको कमी कमजोरीलाई समीक्षासहित सुधार गरेर पार्टीलाई सशक्त बनाउने वातावरण बनेको छ ।

अहिलेको नेतृत्वबाट सुधारको अपेक्षा गर्न सकिन्छ त ?
निकै सम्भावना छ । किनकि, यो पटकको नेतृत्वमा पाका पुस्ता र युवा पुस्ताको समिश्रण छ । पाकाको अनुभव र युवाको जोस मिलाएर अघि बढ्न सक्ने वातावरण पनि देख्छु म । महाधिवेशन प्रतिनिधिले पनि यही म्यान्डेट दिएका छन् ।

तर मूल नेतृत्व पुरानै भएकाले खास अपेक्षा नराख्दा हुन्छ भन्ने चर्चा पनि त चल्न सुरु भइसकेको छ नि ?
पुरानो त कसरी भन्नुहुन्छ ? पुरानो नेताको रूपमा एकजना सभापति मात्रै त हुनुहुन्छ । अन्य नयाँ अनुहार र युवा पुस्ताको वर्चस्व छ । व्यापक पुस्तान्तरण भएको छ । अबको नेपाली कांग्रेस हिजोजस्तो एक जना व्यक्तिले चलाउँदैन् । युवाहरूको दरिलो उपस्थितिले अब कांग्रेस सामूहिक धारणा र नेतृत्वबाट अघि बढ्छ । हिजोको नेतृत्व शैली दोहोरिन्छ जस्तो मलाई त लाग्दैन ।

मूल नेतृत्व हिजोकै रहँदा परिर्वतनको अपेक्षा कसरी गर्ने ?
हैन । हिजो र आज परिस्थिति निकै फरक छ । हिजो र आज महामन्त्रीमा जुन पुस्तान्तरण भएको छ । यसले पार्टीमा निकै प्रभाव पार्ने देखिएको छ ।

अहिलेको नेतृत्वबाट तपाईहरू पूर्ण आशावादी हुनुहुन्छ ?
पूर्ण आशावादी नै छौ । पदाधिकारी र सदस्यहरूको संयुक्त छलफलबाटै पार्टी अघि बढ्छ । त्यसमा म ढुक्क छु । म तपाईंलाई पनि विश्वास दिलाउन चाहन्छु ।

महाधिवेशनमा देखिएको गुट केन्द्रीय समितिमा पनि रहन्छ वा साम्य हुन्छ ?
लोकतान्त्रिक पार्टीमा समूह अस्वीकार गर्न सकिँदैन । यसलाई पार्टीभित्रको सुन्दरता मान्नुपर्छ । हिजोको दिनमा पार्टीभित्र समूह संस्थागत थियो । अस्वाभाविक रूपमा समूहले आकार लिएको थियो । मलाई लाग्छ, जसरी हामी विभिन्न समूह बनाएर निर्वाचनमा होमियौं । अब हाम्रो धारणा के छ भने अब एजेन्डा र विषयको आधारमा विचार समूह बन्नुप¥यो । समूहलाई संस्थागत बनाउँदै जान दिँदैनौ । निर्वाचनपछि पनि मैले सभापतिलाई भेटेर भनेको छु कि, अब तपाईं सबैको सभापति हुनुहुन्छ, सबैलाई एक बनाएर लैजानुस् । अबदेखि कुनै समूहको बैठक नबस्नुहोला । कांग्रेसलाई एक बनाएर सबैको सभापति बन्नुहोला । यही कुरा सभापति शेरबहादुर देउवालाई भेटेर भनेको पनि छु । म हिजो जुन समूहबाट निर्वाचन लडे । त्यो समूहका सभापतिका उम्मेदवार डा. शेखर कोइरालालाई पनि मैले भने कांग्रेसमा हिजो ६०–४० को भागबन्डा भो । यसले पार्टीलाई विभाजनउन्मुख बनायो । अब पार्टीमा त्यस्तो भागबन्डा होइन । पार्टीमा न्यायको पक्षमा आवाज उठाउने हो । अन्याय पाएका नेता, कार्यकर्ताको पक्षमा आवाज उठाउने हो । तर भागबन्डा लिनु हुँदैन । भागबन्डाको राजनीति संस्थागत रूपमा अन्त्य गर्नुपर्दछ भनेर अनुरोध गरेको छु । डा.साबले त्यो कुरा सार्वजनिक स्थानमा बोलिसक्नुभएको छ । केन्द्रीय समितिमा निर्वाचित साथीहरूले पनि यही कुरा बोल्छौं भन्नुभएको छ । समूह भयो भने पनि एजेन्डामा आधारित हुनेछ । भागबन्डाको आधारमा समूह रहँदैन ।

अस्ति पदभार ग्रहण कार्यक्रममा डा. शेखर किन उपस्थित नभएको ? त्यहीबाट पार्टीभित्र बेमेलको राजनीति मौलाउ“छ कि भन्ने आशंका पैदा भयो नि ?
त्यो दिन त, डा.शेखरको चितवनको देवघाटमा पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसकारणले उहाँ उपस्थित नहुनु भएको हो । त्योबाहेक अरू कारण भएजस्तो लाग्दैन ।

वरीयताको कुराले गर्दा डा. शेखर कोइराला उपस्थित नभएको भन्ने कुरा छ ?

मैले पनि मिडियाबाट सुनेको हुँ । हाम्रा केही साथीहरूको गुनासो पनि थियो । ४० प्रतिशत मत ल्याएका कारण डा. शेखरको वरीयता दोस्रो या तेस्रोमा हुनुपर्ने भनाइ चलेको हो । तर यही विषयमा डा.साबसँग कुरा गर्दा उहाँले पार्टीभित्रको वरीयतामा खास गुनासो छैन । मलाई नेता कार्यकर्ताले मतदान गरेर जुन स्थान दिएका छन् । त्यो महत्वपूर्ण छ, भन्नुभयो । उहाँले म जनता र कार्यकर्तासँग जाने भएकाले पार्टीभित्रको वरीयतालाई त्यस्तो ठूलो मानेको छैन भन्ने उहाँको कुराले उहाँलाई वरीयताको पिरलो छैन ।

अब तपाईंहरूको समूह नेता को ?
निर्वाचनमा जाँदा डा. शेखर कोइरालाको समूहबाट अघि बढेको हुँ । त्यो निर्वाचन सकिएपछि सकियो । पार्टीमा समूह संस्थागत हुन दिनु हुँदैन । त्यसकारणले सम्पूर्ण निर्वाचित नेतालाई आफ्नो नेता मानेर अघि बढ्ने हो । डा. शेखर कोइरालाई पनि सभापतिले समेटेर लानुपर्छ र उहाँले पनि राम्रा काममा सभापतिजीलाई सहयोग गरेर अघि बढ्नुपर्छ ।

तर केही नेताले अबको समूह नेता डा. शेखर भन्दै हुनुहुन्छ । यसले फेरि समूहलाई संस्थागत गर्ने संकेत दियो नि, हैन र ?

निर्वाचनमा त सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाले आ–आफ्नो समूहको नेतृत्व गर्नुभएको थियो । निर्वाचनपछि त्यो समूह रहनु हुँदैन । त्यसले पार्टीलाई बलियो बनाउँदैन । त्यसैले त हामीले पार्टी सञ्चालनको क्रममा हामीले समूहको भेला डाक्ने, बैठक बस्ने काम रोक्नुपर्छ । सम्पूर्ण कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने अभियानमा सम्पूर्ण कांग्रेसका नेता तथा कार्यकर्ता अडिग भएर उभिनुपर्छ । नेता भनेको सबैको हुनुपर्छ । मेरो आग्रह पनि छ । आशावादी हौं । हिजोको जस्तो अवस्था आउँदैन भन्ने लाग्छ । पार्टीलाई बलियो बनाउने हो भने संस्थागत गुटबन्दी हटाउन सक्नुपर्छ ।

कांग्रेसले अहिले सरकारको नेतृत्व पनि गरिरहेको छ । तपाईं एक जना केन्द्रीय सदस्य भएकाले सरकारको कामको मूल्यांकन कसरी गर्नुहुन्छ ?
एकल सरकार छैन्, गठबन्धनको सरकार भएकाले निश्चय पनि हामीले सोचेजस्तो काम नहुन सक्छ । मलाई के लाग्छ भने यो चुनावी सरकार पनि हो । अबको एक, डेढ वर्षमा तीनै तहको चुनाव पनि गर्नुपर्ने दायित्व छ । सरकारसँग अरू बढी अपेक्षाभन्दा पनि राम्रोसँग चुनाव सम्पन्न गरिदिए हुन्थ्यो भन्ने लाग्छ । र जनतालाई अहित गर्ने काम नगरिदिए हुन्थ्यो भन्ने छ । अहिलेसम्म हेर्दा सरकार निकै सन्तुलित तरिकाले चलेको छ ।

सरकार जनजीविकाको सवालमा एक्टिभ हुन सकेन भन्ने टिप्पणी हुने गर्छ नि ?

यसअघि कम्युनिस्टको करिब दुई तिहाइको सरकार थियो । उस्ले हरेक क्रियाकलाप जनविरोधी गरेको थियो । भ्रष्टाचारमा चुर्लुम्म डुबेको थियो । यो सरकारले कमसेकम त्यस्तो काम त गरेको छैन । जति हामीले चाहेको चाहिँ पाएका छैनौं । त्यसमा संयुक्त सरकारले पनि प्रभाव पार्दछ । अब यो सरकारले गर्ने भनेकै चुनाव सम्पन्न गर्ने हो । त्यो नै उपलब्धिका रूपमा लिन्छु मैले । जनहित विपरीतको काम नगरिदिए पुग्छ ।

चुनाव कहिले गर्ने ? संसद्को पाँच वर्षे अवधि पूरा गरेर गर्ने कि यसअघि नै गर्ने ?
अब निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन प्रस्ताव गरेको छ । एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ ।

अबको चुनावमा कांग्रेसको हैसियत के हो ?
सके एकल बहुमत ल्याउँछ । नत्र, एक नम्बरको पार्टी बन्छ ।

त्यसको आधार भन्नुस् त ?
कांग्रेसको १४ महाधिवेशनले पार्टी पंक्ति र जनतामा ल्याएको उत्साह हो । जुन हिसावले नेतृत्वमा पुस्तान्तरण भएको छ, यसले आशा बढाएको छ ।

यही आधारले मात्र कांग्रेसलाई भोट देलान् त ?
मुख्यतयाः नेपाली कांग्रेस पार्टीप्रति आम जनताको विश्वास, आशा र भरोसा छ । कांग्रेसले नै मुलुकको विकास गर्छ भन्ने छ । यसअघि नेतृत्वबाट केही कमजोरी भएका कारण जनतामा निराशा थियो । गुनासो थियो हामीप्रति । जब नेपालमा कम्युनिस्टको सरकार आयो । उनीहरूको गतिविधि, आचरण र रवैया देखेपछि जनताको मन फेरिएको छ । कम्युनिस्ट व्यवहारले कांग्रेसप्रति झुकाव बढाएकाहरूलाई अहिलेको महाधिवेशनले नेतृत्वमा युवा पुस्ताको उपस्थितिले युवा पुस्तामा आकर्षण बढाएको छ । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पनि जनताको पक्षमा हिजो पनि र आज पनि काम गर्ने पार्टी हो भन्ने बुझाइ जनमानसमा पाइन्छ । अब कांग्रेसको विकल्प छैन भन्ने मेरो पनि भनाइ हो ।

माओवादीको अधिवेशनमा पुगेर सभापति तथा प्रधानमन्त्री देउवाले निर्वाचनसम्मै गठबन्धन जान्छ भन्नुले जनतामा यी दलहरूले मिलेरै खाने त रैछन् नि भन्ने सन्देश पो जान्छ कि ?

मुलुकलाई सम्हाल्ने क्रममा संख्या पुर्‍याउनका लागि गठबन्धन गरिएको हो । मुलुकलाई निकास दिनलाई तत्कालीन गठबन्धन गरिएको हो ।

आगामी चुनावमा पनि गठबन्धन आवश्यक छ ?

मलाई लाग्छ, चुनावमा गठबन्धन हुन्छ जस्तो लाग्दैन । कांग्रेस एक्लै चुनावमा जान्छ । त्यो तागत राख्छ । हामी एक्लै लडेर बहुमत ल्याउँछाैं।

दिनेशजी, तपाई त अघिल्लो निर्वाचनमा चितवनको मेयरको उम्मेदवार हुनुहुन्थ्यो, त्यो बेला कांग्रेसले माओवादीलाई सघाउने भएपछि तपाईंको टिकट पनि खोसियो यो पटक कांग्रेस कार्यकर्ताले अर्को पार्टीको उम्मेदवारलाई भोट हाल्ने अवस्था आउँछ कि नाइँ ?
वास्तवमा तपाईंले सम्झना दिलाउनु भयो । त्यो कदमले कांग्रेसलाई निकै घाटा पुगेको छ । त्यो गलत कदम थियो । त्यसरी गठबन्धन बन्नु हुँदैनथ्यो । त्यसको सैद्धान्तिक आधार थिएन । कुनै व्यक्ति विशेषलाई जिताउन गरिएको गठबन्धन थियो । त्यसलै मुलुकभर कांग्रेसलाई क्षति पुगेको थियो । मैले त्यो बेला सभापतिजीलाई भनेको थिए, मलाई पुगेको क्षति त म पूरा गरुँला तर पार्टीलाई पुग्ने क्षतिपूर्ति गर्न निकै गाह्रो हुन्छ भनेको थिएँ । त्यही भयो । त्यो गठबन्धन गलत थियो । अब यस्तो गठबन्धन हुँदैन ।

भनेको चितवनका कांग्रेस समर्थकले रुख चिन्हमै भोट हाल्छन् ?
हो । रुख चिन्हबाहेक अन्त भोट हाल्दैनन् । हाल्न पनि हुँदैन ।

सभापतिले गठबन्धनको भाषा बोल्ने, पदाधिकारीले सिंगल चुनाव लड्ने कुराले कांग्रेसभित्र अन्तरविरोध सुरु भयो भन्न मिल्छ ?
चुनावमा कसरी जाने भन्ने विषयमा छलफल होला र निष्कर्ष आउँला । गठबन्धन भनेको सरकार गठनको बेला आवश्यक पर्दा गर्ने हो । चुनाव एक्लाएक्लै लड्दा जनताको मत र विश्वास थाहा हुन्छ ।

ए भनेको  चुनाव एक्लै लड्ने तर सत्तामा जान चाहिँ गठबन्धनको भर्‍याङ चढ्ने ?

निश्चय नै । देशलाई निकास दिनका लागि, लोकतन्त्रलाई संस्थागत गर्नका लागि, देश निर्माणको लागि गठबन्धन गर्ने हो । चुनावमा एउटा पार्टीको कार्यकर्ताले अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्ने वातावरण बनाउन दिँदैनौ ।

फेरि महाधिवेशनमै केन्द्रित हौ न, महाधिवेशनबाट उपसभापति, महामन्त्रीलगायतका पदमा गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङलगायतले जित्नु भएको छ । यसलाई कसरी बुझ्ने ?

विद्यार्थी राजनीतिबाट खारिएका र जनताले आशा गरेका नेताहरू महत्वपूर्ण पदमा निर्वाचित हुनुलाई पार्टीभित्रको रूपान्तरणको रूपमा लिएका छौं । पाका र युवाको समिश्रणले कांग्रेसलाई सशक्त बनाउँछ भन्ने नै लाग्छ ।

अबको कांग्रेसको बैठकमा तपाईंहरूले उठाउने मुद्दा के हो ?
समय अभावका कारण १४ औं महाधिवेशनमा नेतृत्व चयनमा मात्र फोकस भयौं । अब नीतिगत बहस आवश्यक छ । नीतिका कुरा गर्न महासमितिको फोरम होला वा नीति अधिवेशन बोलाउने होला । कुनै न कुनै माध्यमबाट कांग्रेसले बोक्ने नीतिको टुंगो लगाउँछौ । साथै, जनता र राजनीतिक पार्टीको बीचमा एक प्रकारको खाडल देखिएको छ । त्यसलाई भर्नका लागि जसरी जनतालाई केन्द्रभागमा राखेर कार्यक्रम अघि बढाउनु पथ्र्यो तर अहिले नेताहरू आफैँमा मात्र केन्द्रित भएको अवस्था छ । त्यसैले पनि जनताले नेता र जनताप्रति निराशा र आक्रोश व्यक्त गरिरहेका छन् । यस्लाई न्यूनीकरण गर्नका लागि जनता र राजनीतिक दलबीचको दूरीलाई कसरी कम गर्ने भन्ने विषय महत्वपूर्ण छ । जनताको आवाज कसरी बोल्ने ? जनताको समस्या समाधानमा कसरी सहजीकरण गर्ने ? भन्ने विषयमा व्यापक छलफल गर्नेछौँ । यो विषयमा केही साथीहरूसँग अनौपचारिक रूपमा छलफल चलाएको छु । अबको केन्द्रीय समितिको बैठकमा पनि छलफल हुनुपर्छ । नेता र जनताबीचमा भएको तिक्ततालाई न्यूनीकरणका लागि कोसिस गरिनुपर्छ ।

महाधिवेशनपछि प्रदेश २ को अधिवेशन सम्पन्न भयो, अझैं झन्डै डेढ दर्जनभन्दा बढी जिल्लामा अधिवेशन हुन बा“की छ, ती अधिवेशनमा समूहगत रूपमा जाँदा जनताले कांग्रेसको एकताको कुरा ‘खुट्टी देख्दै पत्ताइयो’ भन्लान् नि ?

निर्वाचनको बेलामा समूहमा निर्वाचन लड्नु स्वाभाविक हो । यस्लाई अनौठो मान्नै परेन ।

सहमतिको अभ्यास यहीबाट सुरु गर्दा पनि होला नि ?

ठीक छ, सहमति भए त एकदम राम्रो । सहमति नहुँदा त लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयनमा जानु झन् राम्रो हो । आन्तरिक प्रतिप्रर्धामा समूह बन्नु नौलो हैन । विश्वका ठूला भनिएका देशका राजनीतिक दलमा पनि आन्तरिक प्रतिस्पर्धा भएको देखिन्छ । तर सवाल के हो भने निर्वाचन सकिएपछि समूह बिर्सनुपर्छ । निर्वाचन पछि पनि त्यही समूह अघि बढ्नु हुँदैन ।

अन्त्यमा अब चितवन कांग्रेसको अधिवेशनको कुरा गरौ न, पा“च जना जिल्ला सभापतिको आकांक्षी छन् भन्ने सुनेको छु । नेतृत्व चयन सहमतिबाटै कि निर्वाचनबाट ?
पुस २७ गते जिल्ला अधिवेशनको मिति तोकिएको छ । सभापतिको आकांक्षी जति जना भए पनि धेरै पटकको छलफल भइसक्यो । ज–जस्ले सभापतिको इच्छा राख्नुभएको उहाँहरूले प्रदेश र केन्द्रमा पनि उम्मेदवारी नदिएकाले उहाँको दाबेदारी यथावत् छ भन्ने बुझ्नुप¥यो । सहमति हुने कम र निर्वाचन हुने सम्भावना बढी छ ।

समूहगत उम्मेदवार हुने भयो ?
समूहगत भनेर केन्द्रमा जे जस्तो समूह बनेको थियो । त्यस्तो नहोला । यसअघिका अधिवेशनमा पनि केन्द्रको समीकरण थिएन । यसपटक पनि नहोला भन्ने नै लाग्छ । लोकल समूह बन्छन् ।

चितवनमा हेविवेट नेताहरू निर्वाचनमा उम्मेदवार बन्ने भएकाले पनि चर्चामा रहन्छ, अबको निर्वाचनमा जितको परिणाम कस्को पोल्टामा जाला त ?
पल्ला भारीको कुरा गर्दा ३ प्रतिनिधिसभा र ६ प्रदेश सभा गरी ९ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित्छ । त्यसमा कुनै शंका छैन ।