देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुलुक अब निर्वाचनमा जानुपर्छ : एनपी साउद

देशान्तर

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एनपी साउदले अब सबै मिलेर तत्काल मुलुकलाई निर्वाचनमा लैजानुपर्नेमा जोड दिएका छन् । अहिले सबै राजनीतिक पार्टीहरू अधिवेशन गरेर नयाँ नेतृत्वका साथ आएकाले सबैको इच्छा भनेकै निर्वाचनमार्फत मुलुकलाई निकास दिनका लागि तल्लीन रहेको बताए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले पनि रूपान्तरणको एजेन्डालाई स्वीकार गरेको बताउ“दै केन्द्रीय सदस्य साउदले अबको निर्वाचनमा नेपाली कांग्रेस एक भएर चुनावमा होमि“दा पहिलो शक्ति बन्ने विश्वास पनि व्यक्त गरे । देशान्तरका लागि मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै साउदले पार्टीको नेतृत्व चयनको प्रक्रियामा भाग लिइसकेपछि एक पक्षले जित्ने र अर्को पक्षले हार्ने कुरा स्वाभाविक भएको पनि बताए । वर्तमान सभापति दोस्रो कार्यकालका लागि निर्वाचित भइसकेकाले सबैलाई मिलाएर देशभरिका कार्यकर्तालाई न्याय गरेर अघि बढ्ने पनि विश्वास व्यक्त गरे । सँगसँगै अधिकारका विषयमा कांग्रेसको विधानमा केही जटिलता रहेको संकेत गर्दै नेपाली कांग्रेसलाई बसको संज्ञा दिँदै उनले भने ‘बसमा ट्रक, जिप र मोटरसाइकलको इन्जन राखेर चलाउँदा लामो दूरीको यात्रा तय नगर्न पनि सक्छ ।’ प्रस्तुत छ, साउदसँग गरिएको कुराकानीको यो सम्पादित अंश ।

 

 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले के सन्देश दियो त ?
नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको छ । देशभरिका ९ लाख क्रियाशील सदस्यताहरूका बीचमा प्रजातान्त्रिक अभ्यासमा सहभागी हुन पाए । वडा क्षेत्र प्रदेश हुँदै अधिवेशनबाट महाधिवेशन सम्पन्न हुन पुग्यो । यसले आम नेपाली कांग्रेसका कार्यकर्तामा नयाँ जोस, उत्साह र जाँगर पैदा गरको छ । हामीले प्रजातान्त्रिक अभ्यासलाई पार्टीले अंगीकार गरिसकेपछि पार्टीभित्र एकता स्थापित गर्नुपर्छ भन्ने मान्यता पनि हो । निर्वाचन प्रजातन्त्रको परिपूरक अंग हो । निर्वाचनको प्रक्रियाले मान्छेको आस्था, एकतालाई कुनै पनि किसिमले खलल पुर्‍याउनु हुँदैन ।

निर्वाचनलाई जीवन पद्धतिको स्वाभाविक अंगको रूपमा ग्रहण गर्नुपर्दछ । अर्को कुरा नेपाली कांग्रेस, समाज र मुलुकलाई रूपान्तरण गर्नुपर्छ भन्ने नारा पनि तय गरेका थियौं । महाधिवेशनबाट अब सशक्त कांग्रेस बलियो कांग्रेस र रूपान्तरित कांग्रेस भएर आएको छ । महाधिवेशन पछि बलियो भएर हामी अगाडि आएका छौं । साथै अब आसन्न निर्वाचनबाट नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने लक्ष्यका साथ अहिलेको नेतृत्व पनि आएको छ ।

कांग्रेस पूरै रूपान्तरण भयो त, के का आधारमा रूपान्तरण भन्ने ?
कांग्रेस एउटा मूलतः लोकतान्त्रिक पार्टी हो । कांग्रेसको नेतृत्व चयनका लागि यति ठूलो लोकतान्त्रिक अभ्यासबाट चुनाव हुन्छ भन्ने कुरो स्थापित भएको छ । वास्तवमा दक्षिण एसियाका कतिपय राजनीतिक पार्टीहरू आफ्नो नेतृत्व चयनको प्रक्रिया आधा एक घण्टामा टुंंग्याउँछन् । तर, हामीकहाँ लामो बहस, अभ्यास र छलफलपछि मात्रै नेतृत्व चयन हुने अवस्था छ । जसरी अहिले नेतृत्व आएको छ । जसरी अहिलेको नेतृत्व समावेशी, प्रतिस्पर्धी र खुला रूपमा पनि आएको छ यसले नेपाली कांग्रेस रूपान्तरित बाटोमा अघि बढेको भन्न सकिन्छ ।

साथसाथै हामीले संघीय ढाँचालाई पनि सम्मान गर्ने कोसिस गरेका छौं । यसले नेपालको संविधान, ढाँचा अनुरूप र पार्टीले लिएको राजनीतिक ध्येय अनुरूप लैजाने काम भएको छ । १३ औं महाधिवेशनमा जम्मा साढे चार लाख क्रियाशील सदस्यता रहेको थियो । यो पाँच वर्षमा यो संख्या दोब्बर भएको छ । हाला कि क्रियाशील सदस्यता लिनेको संख्या हेर्दा एउटै परिवारका धेरै रहेको पाइएको छ । अहिले पनि हामीले लक्षित समूहसम्म क्रियाशील सदस्यता वितरण गर्न पाएका छैनौं । अब पार्टी दूरदराजका गाउँगाउँमा पुग्न सकोस् अहिलेसम्म त्यसो हुन सक्या छैन ।

महाधिवेशनमा तपाईंहरूले मुख्य पद महामन्त्री हार्नुभयो, तपाईंहरूमा पनि समस्या त छ नि ?

यसलाई पार्टीभित्रको प्रजातान्त्रिक अभ्यासलाई जितहारको खाकामा बदल्न मिल्दैन । हामी एउटै पार्टीभित्र एउटै विचारमा एउटै कार्यपद्धतिमा अगाडि बढी राख्या छौं । हाम्रो नीति कार्यक्रमका बीचमा कुनै मतभेद छैन । नेतृत्व चयनको प्रक्रियामा हामीले प्रजातान्त्रिक अभ्यास गरेका हौं । नेपाली कांग्रेसले अंगीकार गरेको नीति नै प्रजातान्त्रिक पद्धति रहेकाले यसमा चुनाव हुन्छ, चुनाव भएको ठाउँमा एक जनाले जित्छ, अरूले हार्छन् । यसलाई स्वाभाविकरूपमा लिनुपर्छ । वास्तवमा गुटको छायाँ निर्वाचनमा नपरेको भए असाध्यै राम्रो हुन्थ्यो । तर विचार समूहका आधारमा निर्वाचन भए पनि सबै विचार समूहका मान्छेहरूको नेतृत्वमा पहुँच स्थापित भएको छ । पदाधिकारीसम्म सबै विचारसमूह पुगेका छन् । यसले पार्टीलाई वैचारिक र सांगठनिक आधार दिएको छ । त्यसलाई हामीले स्वाभाविक रूपमा ग्रहण गर्नुपर्छ । कहिलेकाहीँ जे हुन्छ ठीक हुन्छ भन्ने आधारमा पनि परिघटनाहरू घटिरहेका हुन्छन् । पार्टीका यतिका साथीहरूले लोकतान्त्रिक अभ्यास गरेर नेतृत्व चयन गरेका छन् । अहिले नयाँ पुस्ताका साथीहरू पनि पदाधिकारीदेखि केन्द्रीय कार्यसमितिमा प्रवेश गरेका छन् । त्यसलाई लिएर कुण्ठित रहनुपर्ने आवश्यकता छैन । अहिलेको मत परिणामले पार्टीलाई नयाँ तरिकाले अघि बढ्नका लागि उत्प्रेरणा दिनेछ भन्ने विश्वास छ ।

अहिलेको कार्यसमितिमा युवाहरूको जबरर्जस्त उपस्थितिले पुस्तान्तरण र रूपान्तरणको अभियान सुरु भएको हो ?
संविधान विभिन्न किसिमका राजनीतिक सोच भएका पक्षहरूलाई समायोजन गरेर लैजाने सवालमा ज्यादा प्रगतिशील र उदार किसिमको बनेको छ । हाम्रा परम्परागत ढाँचामा पनि गम्भीर किसिमका परिवर्तनहरू आएका छन् । प्रतिनिधित्वको पद्धति बदलिएको छ । तर, सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस भएको हुनाले यसमा एउटा परम्परागत सोच राख्ने वर्ग जहिले पनि नेतृत्वमा छ र जहिले पनि त्यो वर्ग आफ्नो प्रमुख भूमिकाका साथ कुनै न कुनै रूपमा पार्टी भित्र बसिरहेको छ । त्यसकारण पार्टीलाई अहिलेको बदलिँदो सन्दर्भ बदलिँदो समय र बदलिँदो समाज अनुकूल बनाउने लक्ष्यका साथ हामीले अगाडि बढ्न जरुरी छ ।

यस अर्थमा अहिले नयाँ वर्ग युवा पिँढी पार्टीभित्र आएको छ, त्यसले परिस्थितिलाई ज्यादा अग्रगामी सोचका साथ हेर्छ । त्यसले आजको समस्याहरूलाई समाधान गर्ने किसिमले मात्रै सीमित राख्न सक्दैन । त्यसले भोलिका चुनौतीहरूलाई पनि हेरिरहेको हुन्छ । त्यसकारण त्यो वर्ग पार्टीको संरचनामा अधिकतम पहुँचले दुईवटा लक्ष्य हासिल गर्न सजिलो भएको छ ।
एउटा पार्टीको दृष्टिकोणमा आउने परिवर्तनलाई त्यसले स्वाभाविक र सरल बनाएको छ । नेपाली समाज र विशेष गरी युवाहरूलाई ग्राह्य बनाएको छ । दोस्रो कुरा भनेको नेपाली जनसंख्यामा पनि युवाको ठूलो उपस्थिति छ । जसले गर्दा युवाका राष्ट्रिय मुद्दासँग केही सरोकारहरू छन् । त्योभन्दा बाहेक वर्गीय मुद्दाहरू पनि छन् ।

मूल नेतृत्वमा पाका उमेरका पदाधिकारी र अरू युवा हु“दा काम गर्न सहज, असहज के हुन्छ ?
हामीले जुन विधान बनाएका छौं, यो विधानसँग मैले पटकपटक अहसमति जनाउँदै आएको छु । मेरो सोच के थियो भने मूल नेतृत्व र संगठनको ढाँचा चाहिँ केही निर्वाचनमुखी होस्, तर काम गर्दाखेरि सभापति जो निर्वाचित हुन्छ त्यो सभापतिले काम गर्दा न्यूनतम रूपमा त्यो उपस्थित हुनुपर्छ ताकि जुन नेतृत्व चयन भएको छ, त्यो नेतृत्वले काम गर्दाखेरि आफ्नो प्रतिबद्धता लक्ष्य कार्यक्रम कार्यान्वयन गर्दाखेरि त्यो नेतृत्वले व्यवधानको सामना गर्न नपरोस् । अब सबै मानिसहरू निर्वाचित भए भने तपाईंले भन्नु भएको जस्तै, यो वा त्यो खेमा वा विचार समूहबाट निर्वाचित हुन सक्दछन् । यस्तो भयो भने बसमा ट्रक, जिप र मोटरसाइकलको पार्टपुर्जा हालेर बस चलाउन खोज्यो भने बस लामो समयसँग स्मुथले नचल्ने जोखिम पनि रहन्छ ।

अहिलेको कार्यसमितिमा यो जोखिम छ भन्न खोज्नु भएको हो ?
हाम्रो विधानमा यो जोखिम विद्यमान रहेको देख्छु । सबै ठाउँमा निर्वाचन छ । निर्वाचित मान्छेहरू विभिन्न विचार समूहबाट निर्वाचित भएका छन् । उनीहरूले पार्टीमा काम गर्दै जाँदाखेरि कहिलेकाहीँ अन्तरविरोध भयो भने पार्टीको सभापतिलाई निर्णायक रूपमा काम गर्ने वा हाँक्ने गरेर विशेषाधिकार रहेको देख्दिनँ म ।

शेरबहादुर देउवा विगतमा देउवा गुटको मात्रै सभापति बन्नुभयो, अब त सिंगो कांग्रेसको सभापति बन्ने बेला भएन र ?
सभापति शेरबहादुर देउवा जहिले पनि सिंगो नेपाली कांग्रेसको सभापति हुनुहुन्थ्यो र यदि केही कमी, कमजोरी छ भने सिंगो पार्टीकै सभापतिको रूपमा उहाँले भूमिका खेल्नुपर्छ । उहाँले अहिले दोस्रो कार्यकाल सुरु गरिसक्नु भएको छ । उहाँका प्राथमिकताहरू सबै देशभरिका साथीहरूलाई न्याय होस्, पार्टी बलियो होस्, नेपालको राजनीतिमा निर्णायक भूमिकामा रहेको पार्टी बहुमतका साथ फेरि पार्टी नेपालको राजनीतिमा पुनस्र्थापित होस् । त्यो बाटोतर्फ उहाँ अगाडि बढ्नुपर्छ ।

विगतमा नेपाली कांग्रसको नेतृत्व असक्षम भयो भन्ने आरोप लाग्थ्यो, अब पनि त्यस्तै कांग्रेस कि अलि अगाडि बढेको कांग्रेस ?
पार्टी चुस्त र दरिलो बनाउनु पर्छ । पार्टीभित्र अत्यधिक ज्यादा निर्वाचन हुँदाखेरि पार्टीको जुन ऊर्जा छ त्यो आन्तरिक प्रतिस्पर्धामा मात्रै सीमित हुने खतरा रहेको छ । ८० प्रतिशत ऊर्जा पार्टीको आन्तरिक प्रतिस्पर्धामा खर्च भइरहेको छ । नेपाली कांग्रेसले अरू पार्टीसँगको प्रतिस्पर्धामा मात्रै २० प्रतिशत ऊर्जा खर्च गरेको छ । यसले के देखाउँछ भने जो हाम्रो साथीहरूसँग जति क्षमता छ त्यो क्षमता अन्य प्रतिस्पर्धी पार्टीहरूसँगको वैचारिक प्रतिस्पर्धामा देखाउन सक्नु भएको छैन । नेपाली कांग्रेसको तल्लोदेखि महाधिवेशनसम्म आइपुग्दा आठ चरणको निर्वाचन पार गर्नुपर्छ । यस्तो गर्दा कुनै न कुनै प्रक्रियामा साथीहरू आन्तरिक रूपमा असफल पनि हुनुहुन्छ । संगठनको शैली भनेको ‘पिरामिड’ आकारमा हुन्छ । तल ठूलो माथि साँघुरिँदै जाने नै हो । तर आन्तरिक लोकतन्त्रको नाममा धेरै चरणमा निर्वाचन हुँदा त्यसले नकारात्मकता सिर्जना गर्दछ ।

अर्को कुरा हाम्रा जति पनि भ्रातृ र शुभेच्छुक संस्थाहरू छन् त्यसको बारेमा हाम्रो नेतृत्व र हाम्रो सोच के हुन्छ भने हरेक संस्थामा आफू अनुकूलको नेतृत्व आओस् । आफूलाई काम गर्न सजिलो हुने खालको नेतृत्व आओस् भन्ने सोच हुन्छ । हाम्रो वैधानिकता कस्तो छ भने तत् संगठनमा प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने कुरा हुन्छ । चुनाव पनि होस्, मेरो मान्छे पनि आओस् भन्ने कुरालाई कहिलेकाहीँ चुनावलाई स्थगित गरिराख्या छ, हस्तक्षेप गरिराख्या छ । कहिले चुनावबाट आएका समितिहरू भंग भइराख्या छन् । त्यसैले भ्रातृ र शुभेच्छुक संस्थाहरूसँग हाम्रो सम्बन्ध स्थिर हुनुपर्ने थियो, नीतिगत तहमा उनीहरूसँग एट्याचमेन्ट हुनुपर्ने, पार्टीको कार्यक्रम तहमा उनीहरूलाई इन्ड्रोस गर्नुपर्ने । तर उनीहरूको आन्तरिक अभ्यासले यी संस्थाहरू स्वतन्त्र हुुनुपर्ने । उनीहरू लोकतान्त्रिक अभ्यासलाई आत्मसात् गर्ने र व्यवहारमा उतार्ने कार्यान्वयन गर्ने हुनुपर्छ । तर कतिपय सन्दर्भमा पार्टी र भ्रातृ संस्थाहरूकै बीचमा समन्वय नभएका कारणले त्यो अभ्यास स्थापित हुन पनि सकिराख्या छैन । त्यसकारण पनि केही समस्या छ । अर्को कुरा पार्टीभित्र धेरै ठूलो गुटबन्दी छ । यो गुटबन्दीका कारणले हामीसँग रहेका ३० वटा भ्रातृ र शुभेच्छुक संस्थाहरूका तल्लो तहसम्म निर्वाचनहरू भइरहेका हुन्छन् र त्यसले गर्दा पनि पार्टीले आन्तरिक चुनावमा मात्रै केन्द्रित हुनुपर्ने अवस्था छ । कहिले नेविसंघ, कहिले तरुण दल, कहिले महिला संघलगायतका चुनावहरू भइरहँदा पार्टी एक किसिमले तनावमा बसिरहनुपर्ने अवस्था छ ।

यो तनाव कम गर्नका लागि तपाईंहरु नै मिलेर जाँदा हुन्छ होला नि, चुनाव देख्यो कि आफ्नो मान्छे र फलानो मान्छे भन्दै पार्टी नहिँडे हुँदैन ?
हो । हामीले लगातारका चुनावहरू म्यानेज गर्ने कुरालाई विधानले नै दिनुपर्छ । विधानमा यस्तो व्यवस्था छैन ।

भ्रातृ तथा शुभेच्छुकको नेतृत्व पार्टीले चयन गर्नुपर्छ भनेको हो ?
हो । कुनै न कुनै रूपमा विधानले ती संस्थाहरूको नेतृत्व पार्टीले तोक्ने व्यवस्था गर्नुपर्छ ।

अब त टीके प्रथा मनोनीत प्रथा त चल्दैन नि ?
होइन । कुनै न कुनै रूपमा पार्टी र ती संस्थाहरूका बीचमा समन्वयन हुने अवस्था चाहिन्छ । तपाईंले कुन लोकतान्त्रिक र अलोकतान्त्रिक भन्न गाह्रो हो । बेलायतमा लेवर पार्टीकी कन्जरभेटिभ पार्टीको सरकार छ भन्ने कुरा प्रधानमन्त्रीको भएको छ त्यसबाट थाहा हुन्छ । अमेरिकामा कोको मानिस राष्ट्रपतिका उम्मेदवार बन्दैछन् भन्ने कुरा थाहा हुन्छ । अमेरिकामा ठूलो प्रजातान्त्रिक अभ्यासबाट पार्टीको राष्ट्रपतिको उम्मेदवारको चयन हुन्छ । मनोनयन भइसकेपछि रिपब्लिकन पार्टीको हो भने उसले अर्को डेमोक्र्याट्रिक पार्टीको हो भने डेमोक्र्याट्रिक पार्टीको राष्ट्रपतिको उम्मेदवारले मनोनयन गर्छ । यस्तो भयो भने उसले उठाएका मुद्दाहरूलाई पार्टीले लिएर अगाडि बढ्छ । त्यसकारण मनोनयन हुनेबित्तिकै टीके प्रथा होइन । लोकतान्त्रिक अभ्यास भइसकेपछि आफू अनुकूलको संरचना बनाएर केही कुरा ल्याउने विषयलाई अन्यथा भन्न मिल्दैन ।

अहिलेको मत परिणाम हेर्दा सभापतिमा ६०–४० को रेसियो देखियो, अब गुटहरू सकिए कि अरू बन्छन् ?
सभापतिको मतदानको सन्दर्भमा ६०-४० प्रतिशत भएको छ । केन्द्रीय समितिको छनोटको कुरा गर्ने हो भने ७५-२५ प्रतिशत रहला । अझ सभापतिले मनोनीत गर्ने ३३ जनाले अर्को पक्षको मत अझ साँघुरिनेछ जस्तो लाग्छ । त्यसकारण पार्टीभित्र गुटहरूको संरचना नयाँ सन्दर्भमा रूपान्तरण हुनेछ भन्ने मलाई लाग्या छ ।

पार्टीभित्र प्रतिशतको भागबन्डा के गर्ने नि ?
हामी प्रतिशतमा होइन मेरिट बेसिसमा जानुपर्छ । पार्टीका सबै साथीहरूलाई न्याय हुने गरेर अगाडि बढ्नु पर्छ ।

अब सरकारको कुरा गरौं,

कहिलेसम्म गठबन्धनको सरकार ?
हामीले बहुमत प्राप्त नगरुन्जेलसम्म गठबन्धन सरकार । राष्ट्रिय सहमति कायम गरेर अब शीघ्र निर्वाचनमा जानुपर्छ । सबै राजनीतिक दलहरू मिलेर अघि बढेमा निर्वाचनको वातावरण बन्छ । एमालेले अहिले पनि शीघ्र निर्वाचन भनिरहेको छ । कांग्रेस निर्वाचनका लागि तयार रहेको छ । गठबन्धनभित्र रहेका दलहरूलाई पनि तयार गरेर चाँडोभन्दा चाडो निर्वाचन गरेर मुलुकलाई स्टाविलिटीतर्फ लैजानु पर्छ ।

तीन तहको निर्वाचनमा कांग्रेस कसरी पहिलो, तपार्इंहरूको संगठन कि कम्युनिस्टको विभाजनका कारण ?
नेपाली कांग्रेसको भर्खरै महाधिवेशन भएको छ । हामीहरूमा नयाँ स्फुर्ति आएको छ । यसलाई एकीकृत रूपमा अगाडि लैजाने वातावरण हामीलाई बनेको छ । त्यसकारण पनि नेपाली कांग्रेसलाई अगाडि बढ्न सजिलो भएको छ । त्यतिमात्रै कुराले हामीले बहुमत प्राप्त गर्न सक्छौं भन्ने छैन । अहिले विपक्षी केही विभाजित छ तर पुनर्संगठन हुन खोज्दै छ । त्यसका लागि नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्छ र जनताका माझ आफूलाई प्रस्तुत गर्नुपर्छ र जनताका मुद्दाहरूलाई जबरजस्त किसिमले उठाएर नयाँ सोचका साथ अगाडि बढ्नुपर्छ ।

एमसीसीका कारण गठबन्धन भत्कँदै छ, यसमा सत्यता छ ?
एमसीसीका विषयमा प्रधानमन्त्री र अरू राजनीतिक दलका नेताहरूले बोलिसक्नु भएको छ । राष्ट्रिय सहमतिले मात्रै विभिन्न देशबाट पाउने आर्थिक सहायता र एमसीसीको विषयलाई हामीले ग्रहण गर्नुपर्छ । एमसीसी लिँदाखेरि नेपालका लागिमात्रै होइन की अन्तर्राष्ट्रिय चलखेल हुने नेपाली सन्दर्भ यसमा जोडिएको छ ।

नेपाली राजनीतिक दलहरूका बीचमा एमसीसी लिने कि नलिने भन्ने बहस भइराख्या भए पनि छद्मरूपमा अन्तर्राष्ट्रिय शक्ति राष्ट्रको द्वन्द्वमा पनि रूपान्तरण भएको छ । विषयवस्तुमा जाने हो भने विगतमा हामीले लिएको अन्तर्राष्ट्रिय सहयोग र एमसीसीका विषयमा फरक छैन । तर, आर्थिक सहायता दिने देशले कुनै न कुनै रूपमा इन्ट्रेस्ट राखेको हुन्छ भन्ने कुरालाई पनि हामीले आत्मसाथ गर्नुपर्छ । पहिलो हामी जसले जति दियो र जे दियो त्यही सहयोग लिने गरेका थियौं र यस्तो सहयोग पाउनुलाई हामीले सौभाग्य ठान्थ्यौं । अहिले विदेशी अनुदानमा पनि विभिन्न राजनीतिक शक्तिहरूको द्वन्द्व सुषुप्त अवस्थामा लुकेको हुँदो रहेछ र कुनै पनि बेला मुखरित हुन सक्दो रहेछ । त्यसको प्रस्फुटन नेपाली राजनीतिमा पनि देखा परेको छ । तर नेपाली कांग्रेस एमसीसीको पक्षमा रहेको प्रष्ट पार्दै यो पास गर्नुपर्छ ।