देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निगमको जहाज इजरायलमा मर्मत सम्भार सकि काठमाण्डौं आइपुग्यो

देशान्तर

काठमाडौं । नेपाल वायुसेवा निगमको 9N-AKX जहाज आवश्यक मर्मत पश्चात् इजरायलबाट दुबई हुँदै काठमाण्डौं अवतरण भएको छ । उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आई इजरायल स्थित नियमानुसार छनौट भएको Maintenance and Repair Organization- MRO मा मर्मत भइरहेको थियो ।

मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरुको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएको र MRO तथा निगमका सम्बन्धित इन्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदन अनुसार सो सँग सम्बन्धित पार्टपुर्जाहरुको बजारमा अभाव भएको तथा युद्ध प्रभावित क्षेत्र भएको कारण आपूर्तिमा कठिनाइ भई मर्मत सम्भार कार्यमा केही ढिलाई हुन पुगेको देखिएता पनि वर्तमान नेतृत्व, प्राविधिक तथा अन्य सम्बन्धित कर्मचारीहरुको लगातारको अथक प्रयासबाट युद्ध प्रभावित क्षेत्र भएको अवस्थामा समेत इन्जिनको सकेसम्म छिटो मर्मत गराई जहाज उडान योग्य भएको निगमले जनाएकाे छ ।

उक्त जहाज पूर्व निर्धारित समय अनुसार २०८१ बैशाख १० गते नै मर्मत सकि उडान भर्ने तालिका रहेको तर पछि Landing Gear को Alternate Braking System मा प्राविधिक समस्या देखिएकोले सोको लागि चाहिने पार्टपुर्जा सम्बन्धित आपूर्ति कर्ता M/S A.J. Walter मार्फत अमेरिकाको मायामीबाट इजरायलमा ल्याई जडान गरी उडान योग्य बनाउन केही ढिलाई हुन पुगेको जनाए ।

यस कार्यमा इजरायल स्थित नेपाली राजदुतावासबाट भएको सहयोग र समन्वयको लागि निगम हार्दिक आभार प्रकट गरेकाे छ । जहाजको इन्जिन मर्मतमा ढिलाई हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौता अनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।मर्मत पश्चात निगमको जहाज नियमित उडानमा आएपछि यात्रुहरुको माग र बजार चापलाई अझ सशक्त ढंगले सम्बोधन हुने कुरामा निगमले विश्वास दिलएको छ।