देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘सभापति निर्वाचनमा जान डराउनेहरूको घेराबन्दीमा हुनुहुन्छ’:

देशान्तर

नेताहरूको दौराको फेर समाएर वरिपरि घुमेकाहरू कुनै पनि हालतमा निर्वाचन चाहँदैनन् । अहिले कांग्रेसमा देखिएको मुख्य लडाइँ पनि यही हो । नेताहरूको वरिपरि घुमेर पद खाने बानी परेकाहरू निर्वाचनमा जान चाहिरहेका छैनन् । किनभने उनीहरू निर्वाचनमा जाँदा भोलि नराम्रो पराजयको सिकार हुनुपर्छ त्यो पनि आफ्नै कार्यकर्ताबाट ।

पछिल्लो समय केन्द्रीय समिति बैठक बसेको लामो समय भयो । के विषयमा अल्झिरहेको छ ?

बैठकमा पार्टीलाई कसरी निकास दिन सकिन्छ भन्ने विषयमा नै छलफल र बहस भइरहेको छ । हो, लामो समय भइसक्दा पनि केन्द्रीय समिति एउटा निर्णयमा पुग्न सकेको छैन । पार्टीलाई मजबुत बनाउँदै क्रियाशिल बनाउनुपर्ने विषयमा अहिलेको छलफल केन्द्रित हुनुपर्ने हो । तर, त्यो भएको देखिएको छैन । अझै पनि नेताहरू तेरो र मेरोमा नै लागिरहनु भएको छ र पार्टीको हित कसरी हुन्छ भन्ने बिषयमा ध्यान केन्द्रित हुन सकिरहेको छैन ।

अहिले हामी महाधिवेशनको संघारमा छौ र यसका लागि केही विषयहरूलाई केन्द्रमा राखेर शीर्ष नेताहरूले छलफल चलाउनुपर्ने थियो । आगामी फागुनमा नेपाली कांग्रेसको १३औं महाधिवेशनको समय सकिँदैछ र १४औं महाधिवेशन गराउनुपर्ने चुनौतीपूर्ण घडीमा आइपुग्दा पनि कांग्रेसका संरचनाहरू पुरानै शैलीका छन् । समयको पाबन्दीलाई हेर्दै महाधिवेशनतर्फ पार्टी जानुपर्ने अवस्था छ ।

महाधिवेशनको मिति तोकेर अहिलेका लागि पार्टी संगठन संरचनाहरूलाई पूर्णता दिने काम गरौं भनेर केही नेताहरूले प्रस्ताव पनि गर्नुभएको छ । यसमा केन्द्रीय समिति केन्द्रित हुन सकिरहेको छैन । निर्वाचन सकिएको यति लामो समय भइसक्यो स्थानीय संरचना बनेका छैनन् । प्रदेश समितिहरू बनेका छैनन् । जिल्ला र क्षेत्रमा सवै काम बाँकी छन् । केन्द्रमा अहिले विभागहरू बन्न सकेका छैनन् र अब महाधिवेशनमार्फत नयाँ नेतृत्व नआइकन केन्द्रीय विभागहरू बनाउनुको अर्थ पनि देखिएको छैन ।

बैठक चलिरहेकै अवस्थामा पार्टी सभापतिले अरू नयाँ बखेडाहरू झिकिरहनु भएको छ । उहाँलाई निर्वाचनमा जान डराउनेहरूले घेराबन्दीमा राखिरहेका छन् । यो घेराबन्दीबाट सभापति बाहिरको संसारमा आउन नसक्नु नै कांग्रेसले भोग्नुपरेको दुर्गति हो । अहिले यिनै विषयमा बहस र छलफल भइरहेको छ ।

पछिल्लो दुई वर्षदेखि केन्द्रीय समितिमा यस्ता बहसहरू हु“दै आएका छन् । तर, अहिलेसम्म कुनै विषय निचोडमा पुगेको छैन । यो बहस परिणममुखी कहिले हुन्छ ?

 

पक्कै पनि अहिलेसम्म भएका पार्टीभित्रका बहस र छलफलले कांग्रेसलाई मार्गनिर्देश गर्न सकेको छैन । र, अब पार्टीमा हुने यस्ता बहसहरूलाई देखिने गरी परिणाममुखी बनाउनुपर्छ भन्ने पक्षमै धेरै केन्द्रीय प्रतिनिधिहरू पनि हुनुहुन्छ । तर, कुरा अन्त्यमा पार्टी सभापति र त्यसपछिका नेताहरूमै गएर टुंगिँदै आएको छ । अहिले बहसका लागि बहस मात्रै गरेर हुने अवस्था किन छैन भने अहिलेसम्म नेपाली कांग्रेस पुरानो संरचनामा छ ।

त्यो पुरानो संरचनालाई संविधान अनुसार नयाँ संरचनामा लानुका साथै ढिलामा अबको एक वर्षभित्रमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था खडा भइसकेको छ । किनभने यदि हामीले एक वर्ष अझै महाधिवेशनको समय थप्यौं भने त्यसपछि महाधिवेशन सक्नका लागि एक वर्ष समय लाग्छ । त्यो भनेको आजको मितिबाट दुई वर्ष हो र त्यो दुई वर्षपछि स्थानीय तहको निर्वाचन सुरु हुन्छ । त्योबेला नेपाली कांग्रेस राष्ट्रिय निर्वाचनतिर जाने कि पार्टीको निर्वाचनतिर लाग्ने ? हामीलाई ठूलै समस्या खडा गर्छ ।

दुई वर्षसम्म पार्टीको अधिवेशनमा समय खर्च गर्ने हो भने कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी कहिले गर्ने ? त्यसकारण केही प्राविधिक समस्याहरूले पनि तत्काल महाधिवेशनको मिति घोषणा गर्नु नै अहिले बुद्धिमानी हुनेछ भन्ने मलाई लाग्छ । तर, मलाई मात्र लागेर भएन नेतृत्वलाई पनि लाग्नुप¥यो । पार्टीलाई घेराबन्दीभित्र राख्ने सोच नेतृत्वको हो भने स्थानीय निर्वाचनमा हामीले जसरी सोच बनाउनुपर्ने हो त्यो हामीले बनाउन सक्दैनौं र फेरि योभन्दा नराम्रो हार कांग्रेसले व्यहोर्नुपर्छ ।

नेतृत्वले स्थानीय तहको निर्वाचन जेसुकै होस् भन्ने हो भने भोलि कार्यकर्ताको चित्त कसरी बुझाएर पार्टी चलाउने हो त्यो पनि विचारणीय भइसकेको छ । पार्टीको अस्तित्वलाई समाप्त पारेर नेतृत्वमा बसिरहने सो नेतृत्वको हो भने मेरो भन्नु केही छैन । हैन भने यो केन्द्रीय समितिलाई उपयोग गरेर चाँडोभन्दा चाँडो निर्णयमा पुग्न आवश्यक छ ।

कांग्रेसका दोस्रो पुस्ताका केही नेताहरूले पार्टी सभापति देउवा र इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलबीच हुने सहमतिले मात्रै पार्टी चलिरहेको आरोप लगाइरहेका छन् । अहिले पनि भागबन्डाकै आधारमा केन्द्रीय समिति सकिने हो ?

भागबन्डा गरेर पार्टीमाथि कब्जा गरिहने प्रवृत्ति ठीक होइन । तर, यसलाई हाम्रो प्रयासले मात्रै निरुत्साहित गर्न सकिएको छैन । भाग शान्तिका कारण नै नेताहरू घेराबन्दीमा पर्ने काम पनि भइरहेको छ । जस्ले गर्दा नेताको वरिपरि घुमिरहनेहरूले बारम्बार अवसर पाइरहेका छन् र उनीहरू यो अवसर गुम्न नदिनका लागि अनेक थरी गरेर भए पनि नेतालाई घेराबन्दीबाट बाहिर आउन पनि दिइरहेका छैनन् ।

उनीहरू निर्वाचनमा जान सक्दैनन् । निर्वाचनमा जान सक्ने अवस्था पनि नबनाउने र पद पनि छोड्न नचाहने केही मुठ्ठीभरका नेताहरूका कारण यो समस्या कांग्रेसमा आइरहेको छ । अधिवेशनबाट निर्वाचनबाट पद प्राप्त गर्नेहरूले कहिल्यै पनि चाकडी गर्दैनन् । उनीहरू कार्यकर्ताका माझमा जान चाहन्छन् । कार्यकर्ताबाट निर्वाचित हुन चाहन्छन् र उनीहरू कार्यकर्ताका माझमा लोकप्रिय पनि हुन्छन् । तर, झुन्डहरूको हँुदैन ।

निर्वाचनका माध्यमबाट टुंग्याउनुपर्ने विषयमा पनि तेरो र मेरो गर्ने हो भने यस्तो प्रवृत्तिले पार्टीलाई कहाँ पु¥याउँछ त्यो तपाईं– हामी सबैले अनुमान गरेको कुरा हो । हामी सबै प्रक्रिया निर्वाचनको माध्यमबाट टुंग्याउनुपर्छ भनिरहेका छौं भने नेताहरूको दौराको फेर समाएर वरिपरि घुमेकाहरू कुनै पनि हालतमा निर्वाचन चाहँदैनन् ।

अहिले कांग्रेसमा देखिएको मुख्य लडाइँ पनि यही हो । नेताहरूको वरिपरि घुमेर पद खाने बानी परेकाहरू निर्वाचनमा जान चाहिरहेका छैनन् । किनभने उनीहरू निर्वाचनमा जाँदा भोलि नराम्रो पराजयको सिकार हुनुपर्छ त्यो पनि आफ्नै कार्यकर्ताबाट । यस्तो झुन्डबाट पार्टीलाई मुक्त गर्ने उपाय भनेको निर्वाचन हो र त्यही माध्यमबाट जानुपर्छ भन्ने हाम्रो भनाइ हो ।

कांग्रेस विधानको धारा ७२ को ४ मा संक्रमणकालीन व्यवस्था छ । तर, त्यो व्यवस्थाअनुसार पार्टी सभापति जान चाहिरहनु भएको छैन र तदर्थ समितिमै जोड छ । विधानका केही धाराहरू निलम्बन गरेर भए पनि जानुपर्छ भन्ने कुरा पनि उठेको छ । विधानको धारा नै निलम्बन गर्नुपर्ने अवस्था हो ?

अहिले विधानअनुसार जानका लागि सबैभन्दा सजिलो बाटो पनि यही र विधानको स्प्रिट पनि यही हो । अन्यथा पार्टीको नेतृत्वमा बसेपछि विधि पनि मान्दिनँ र विधान पनि मान्दिनँ भन्न पाइन्छ ? पार्टी नेतृत्वले नै विधानको पालना नगर्ने हो भने भोलि तल कसरी लागू हुन्छ ? कार्यकर्ताले कसरी मान्छन् ? विधानमा अहिले देखा परेको विद्यमान परिस्थितिबाट पार पाउनका लागि अहिले कायम रहेका क्रियाशिल सदस्य र क्षेत्रीय प्रतिनिधिहरूबाट पनि गर्न सकिनेछ भनिएको हँुदा अहिले विधानको कुनै धारा निलम्बन गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।

विधानले दिएको अवसरलाई उपयोग गरेर जाने हो निलम्बन गरेर जाने होइन । बरु विधानमा के कुरालाई थप गर्न सकिन्छ भने एक वर्ष अगाडि नै स्थानीय तहमा बनाउने संरचनालाई अहिले मानेर पनि आगामी अर्को कार्यकालका लागि पनि जान सकिन्छ । अहिले निर्वाचित भएर आएका प्रतिनिधिहरूको कार्यकाल आगामी १५औं महाधिवेशनसम्मका लागि बनाएर लान सकिन्छ । हामीमा इच्छा शक्ति छ भने त्यो गर्नु उपयुक्त हुन्छ ।

यसैलाई मान्यता दिने गरेर अब निर्वाचनको प्रक्रिया नै अगाडि बढाइदिए राम्रो हुन्छ । हामी र हाम्रो नेतृत्व तहमा भित्रबाटै के आउनुप¥यो भने हामी कुनै पनि गुट बनाउँदै छैनौं । हामी झुन्ड बनाउँदै छैनौं र म बलियो बनाउन खोज्नुभन्दा पनि पार्टीलाई बलियो बनाएर लानुपर्छ भन्ने सोच मात्रै आउने हो भने अहिले केही पनि समस्या छैनन् । कांग्रेस फेरि पनि जाग्न सक्छ । पार्टीमा हरियाली आउन सक्छ । तर, पार्टी नेतृत्वले म भन्ने अहम् कायम राखेर काम गर्नु भएन । अहिलेको अवस्थामा कांग्रेसको नेतृत्वमा बसेर यतिसम्म पनि लान नसक्ने हो भने नेतृत्वमा बसिरहनुको अर्थ हुँदैन ।

पार्टी सभापति भनेको हाम्रो अभिभावक हो । हामीले सभापतिसँग धेरै कुराहरूमा अपेक्षा गर्न मिल्छ र फेरि हामीले पार्टीलाई पद्धतिअनुसार अगाडि बढाएर कांग्रेसलाई खम्बाको रूपमा बलियो बनाउने चाहना राख्नुहोस्, पछाडि हामी छांै, हजारौं कार्यकर्ताहरू छन् । भोलि हामीले गाउँमा जाँदा तेरो सभापति यस्तो भनेर प्रश्न आउनुभन्दा हाम्रो सभापति यस्तो हो भनेर हामीले पनि गर्व गर्न सक्ने अवस्था बनोस् भन्ने चाहेका हौं । तर, यति गर्न नसक्नु भनेको धेरै ठूलो कमजोरी हो । नेतृत्वको यो प्रवृत्तिमा कत्ति पनि परिवर्तन आएन भने हामी ठूलो दुर्घटनामा त पर्छौं नै देश र जनताले पनि कांग्रेसलाई माफ गर्ने अवस्था आउँदैन ।

एकातिर दिनप्रतिदिन कांग्रेस जनताबाट अलग्गि“दै छ भने अर्कोतर्फ तपाईंहरू नेतृत्वको आलोचना मात्रै गर्ने तर हटाउन नसक्ने अवस्थामा हुनुहुन्छ । कांग्रेसमा पुस्तान्तरण हुन्छ कि हुदैन ?

अहिले नै एउटा निर्वाचनको परिणामलाई लिएर कांग्रेसको यसरी विश्लेषण गर्न मिल्दैन । जनताले सुधारिएको कांग्रेसको चाहना गरेको पक्कै हो । किनभने सामान्य परिवार वा समाजमा पनि जोसँग बढी अपेक्षा राखिन्छ उसैको विरोध पनि बढी हुन्छ । नेपाली कांग्रेस भनेको पनि त्यही हो । जनताको इच्छालाई, जनताको चाहनालाई र जनताको सुखदुःखमा पनि सँगै हिडेको पार्टी हो ।

अहिले नेतृत्वमा खराबी देखियो भन्दैमा कांग्रेस सकियो भन्ने पक्षमा म छैन । हामी जनताको पार्टी भनेर पनि हिँड्ने र जनताको चाहना विपरीत पार्टीलाई साना–साना झुन्डमा विकास गर्ने प्रवृत्तिमा लागेको हुनाले यो अवस्था आएको हो । नेताहरूमा म मात्रै बलियो हुनुपर्छ, पार्टी भनेको केही हैन भन्ने मनोभावनाले मात्रै काम गर्ने हो भने तपाईंले भनेका विषयहरूमा हामीलाई अगाडि आउन कठिन हुन्छ । तर, अझै पनि नेताहरूको मनस्थितिमा परिवर्तन आउँछ कि भन्ने आशाहरू बाँकी नै छन् र निर्णय पनि हुन बाँकी रहेकाले यो विषयमा मैले धेरै तिक्तता राख्नु उपयुक्त हुँदैन ।

जहाँसम्म पुस्तान्तरणको विषय छ, अब पार्टीमा पुस्तान्तरण हुनुपर्छ भनेर नै अधिवेशनको विषयलाई जोडका साथ उठाएका हौ । र पुस्तान्तरण पनि अधिवेशनबाट मात्रै हुने हो । अहिले यो विषयमा त्यति धेरै छलफल गरिहनु पनि पर्दैन । अहिले त पुस्तान्तरणभन्दा पहिले जनताका अगाडि नेपाली कांग्रेसलाई कसरी लिएर जाने भन्ने नै मूल विषय हो । नेतृत्व विधि र विधानअनुसार चल्नुपर्ने हो कि होइन वा नेतृत्वलाई विधान नलाग्ने हो कि विधानलाई पालना गर्न नसकिने भए विधिसम्मको पालना गरिदिएको भए पनि यस्तो अवस्था आउने थिएन ।

हाम्रा पूर्वजहरूले पनि विधान नभएको अवस्थामा पनि विधिबाट पार्टी चलाएका थिए । सबैले कांग्रेसलाई राम्रो नै मानेका थिए । त्यसले गर्दा विधिसम्मत जान हामी तयार भयांै भने अरू कुनै पनि समस्याले कांग्रेसलाई बाधा पु¥याउँदैन । यसका लागि नेतृत्वको इच्छा शक्ति र सोचमा परिवर्तन ल्याउनै पर्छ, अरू उपाय छैन ।

केन्द्रीय समितिमा नमिलेको अर्को विषय भनेको नियमावलीमा राखिएका केही बु“दाहरू पनि रहेका छन् । सदस्यहरूबाट शुल्क उठाउने र आचारसंहिताको विवाद चाहि“ कसरी समाधान गर्नुहुन्छ ?

यसमा गम्भीर रूपले नै छलफल भएको छ र यसमा स्वाभाविक ढंगको निर्णय हुन सक्ने कुरामा म विश्वस्त छु । किनभने नेपाली कांग्रेस पार्टी भनेको ‘मास बेस’ पार्टी हो । अहिलेसम्म सबैले दुःख गरेर नै यहाँसम्म आएका हौं । कांग्रेसका कार्यकर्ताहरूको आर्थिक अवस्था पनि राम्रो छैन । स्थानीय तहमा, जिल्लामा, प्रदेशमा साथीहरूका गुनासाहरू सुन्दा हामी सबैलाई दया जागेर आउँछ ।

यसमा मेरो अर्को धारणा के पनि हो भने नेताहरूले पद बेचेर कमाएको जुन पैसा छ त्यो पैसा पार्टीमा खर्च हुनुपर्छ । कार्यकर्ताले त आधा पेट खाएर पार्टीलाई बचाइराखेका छन् । पद बेच्ने नेताहरू, मोज गर्ने नेताहरू, असल कार्यकर्ताले अआफ्नो पैसा खर्च गरेर पार्टी बचाई दिनुपर्ने परिपाटीको विकास गर्नु हुँदैन । कांग्रेस भनेको काठमाडौंमा नेताको घेराबन्दीमा घेरिएर बसेकाहरूले संगठन गरेको पार्टी होइन । यो कार्यकर्ताले बचाएको पार्टी हो ।

कांग्रेसको संगठन अहिले पनि घेरा कोरिएको टोपी र फाटेको कछाड लगाएका मान्छेहरूले बचाइरहेका छन् । अब फेरि उनीहरूबाटै चर्को शुल्क उठाउने कुरा कदापि हुन सक्दैन । यसको अर्थ के हो भने शुल्क उठाउने हो तर, स्वाभाविक ढंगबाट उठाइनुपर्छ र यसअघि केन्द्रमा बसेर नेताहरूले पद बेचेर जसरी कमाइ गरे, त्यो पनि पार्टीमा खर्च हुनुपर्छ ।

अर्को तपाईंले उठाएको आचारसंहिता पनि कांग्रेसमा अनौठो छ । नेताका वरपरि बसेकालाई आचारसंहिता लगाउनुपर्ने हो । उनीहरूलाई कहिल्यै पनि लागू नै नहुने तर उनीहरूले केन्द्रमा बसेर दिएको रिपोर्टका आधारमा संगठन निर्माणमा अहोरात्र खटिएका नेतालाई आचारसंहिता लाग्ने प्रथाको पनि अन्त्य हुनुपर्छ ।

यो रोगी मरेको चिन्ता भन्दा पनि काल पल्कने हो कि भन्ने चिन्ता हो । पार्टीलाई अनुशासित बनाउने कुरामा मेरो कुनै विरोध छैन तर न्यायसंगत हुनुपर्छ । हामीसँग पार्टी अनुशासन समिति पनि छ र यो समितिले नेताका वरिपरि बसेकाले जति अपराध गरे पनि हुन्छ र गाउँमा बसेका सोझा सीधा कांग्रेसबाहेक अन्यत्र जान नसक्नेलाई कारबाही गर्ने कुरामा पनि विचार पु¥याउनु पर्छ ।

शीर्ष नेताहरूविरुद्धमा आलोचना नै गर्न नपाइने भन्ने व्यवस्था छ आचारसंहितामा । कसैले कसैको आलोचना नै गर्न नपाउने पनि प्रजातान्त्रिक पार्टी हुन्छ र ?

यसका पनि दुईवटा पाटाहरू छन् । कांग्रेसमा अहिले आलोचना मात्रै अलिक बढी भयो कि भन्ने चिन्ता पनि उठेकै हो । बाहिर गएर पार्टीका विषयमा नानाथरी कुरा गर्नुभन्दा आफूलाई चित्त नबुझेका विषयमा कोठाभित्रै झगडा गर्दा राम्रो पनि हुन्छ । आलोचनाको पनि सीमा हुन्छ । आफ्नो खेतीपाती नै आलोचना मात्र भएको भन्ने हिसाबले केही नेताहरू लाग्नु भएका गुनासाहरू पनि आएका छन् ।

पार्टीको आन्तरिक बैठकमा सबैले सबै कुरा राख्न र भन्न पाउनुहुन्छ । बैठकबाट निस्किए पछि कम्तीमा पनि शीर्ष नेताहरूका बीचमा दोहोरो कुरा नहोस् र बैठकमा भएका निर्णयहरूमा बाहिर जाँदा सबैका आवाज एउटै होस् भन्नका लागि पनि यो गरिएको हो । बोल्नै नपाइने अरू पार्टीमा जस्तो बन्देज आचारसंहितामा राखिएको छैन । पार्टीका विषयमा जे छलफल गर्नुपर्ने हो, जस्ले जसका विरुद्धमा तीतो पोख्नुपर्ने हो त्यो बैठकभित्र होस् र बाहिर जाँदा पार्टीका नीतिका विषयहरूमा एकरूपता देखियो भन्ने हो यसको उद्देश्य योभन्दा अगाडिका नेताहरूले पनि यस्तै गर्नु हुन्थ्यो ।

गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका बीचमा पनि बैठकमा भनाभन हुन्थ्यो तर, उहाँहरूले बाहिर कहिल्यै पनि यस्ता कुरालाई प्राथमिकता दिनु भएको थिएन । त्यसले गर्दा पनि राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिकालाई महत्वपूर्ण मानिन्थ्यो ।

कांग्रेसका भ्रातृ संस्थाको कन्तबिजोक हु“दा पार्टीको संसदीय फा“ट पनि कमजोर देखिएको छ । सरकारविरुद्ध तपाईंहरूले आन्दोलनका कार्यक्रम घोषणा गरे पनि प्रभावकारी देखिएका छैनन् । भ्रातृ संस्थाको सहयोग बिना कांग्रेसको आन्दोलन सफल हुन्छ ?

हाम्रा भ्रातृसंस्थाका विषयमा कति कुरा उठाउने अब त मलाई पनि दिक्क लाग्न थालेको छ । कतिभन्दा पनि नेतृत्वले सुनेको छैन । निश्चय पनि भ्रातृसंस्थाको सक्रियता बिना कांग्रेसको आवाज देशभरि पुग्न सक्दैन । अहिले भनिएको हाम्रो संसदीय फाँट कमजोर हुनुको कारण पनि यही हो । एक त हाम्रो संसद्मा संख्या कम छ र कम संख्यामा रहेर पनि साथीहरूले जे आवाज संसद्मा उठाउनु भएको छ ती आवाजहरू देशभरि पु¥याउने संयन्त्रहरू हामीसँग छैनन् ।

योभन्दा अगाडि संसद्मा आवाज उठाएका बेला नेविसंघसँग जोेडेर आउँथ्यो, तरुण दल जागेर आउँथ्यो, महिला संघ जागेर आन्दोलनमा आउँथे र देशभरि कांग्रेसका आवाजहरू गुञ्जन्थे । अहिले प्रायः भ्रातृसंस्था अस्तित्वमा छैनन् भने माथिबाट निर्देशन दिनेहरू कहिले कार्यकर्तामा नगएका हुनाले उनीहरूको निर्देशन नै पालनासमेत हँुदैन । नेताहरूले केन्द्रमा बनाएका गुटको प्रभाव पनि तलैसम्म गएको छ ।

हो अहिलेको सरकार मजबुत छ तर, उसले लिएका बाटाहरू सबै सही छन् त ? सही नभएकाले जनताले कांग्रेसको भूमिका सशक्त खोजेका हुन् । सरकार अहिले दुई तिहाइको उन्मादले अधिनायकवादतिर लम्किरहेको छ । यो कुरा जनतालाई मन परेको छैन र उनीहरू प्रतिपक्षमा रहेको कांग्रेसले इमानदारिताका साथ गर्नुपर्छ भन्ने हो । तर, हामी आफ्नो रक्षात्मक पंक्तिमै कमजोर बनेर गइरहेको अवस्था छ । त्यसकारण अझै पनि समय बिग्रिएको छैन । तर नेताहरूमा चेत नआएका कारण कांग्रेस थप बिग्रिने हो कि भन्ने चिन्ता बढाएको छ ।