प्रत्येक सुरुवात
टुंगिनै पर्छ
तर पनि
यात्राको क्रमबद्धता
जब भत्किन्छ
मनभित्रको धरातलबाट
आकाश र धर्ती छुने आवेग निस्कन्छ
उथलपुथल भएर, निसास्सिएर
हराएको बेला
सुनामी उठिरहेको हुन्छ
संरचनाहरू तहसनहस भएका हुन्छन्
बाँकी रहन्छ शून्यता मात्र
समयसँग आबद्ध
त्यो असीमित शून्यताभित्र
थाहा नभएको आशा
कुनै क्षण चल्मलाउँदा
लाग्छ त्यो कुनै कुनामा सुतिरहेको छ
त्यो उठ्न सक्छ
त्यतिबेला लाग्न सक्छ
फेरि पनि यात्रा सुरु हुन सक्छ कि भनेर
तर अर्कै गोरेटो समातेर
अर्कै परिवेशमा आबद्ध भएर
यो सम्भावनाबाट उद्गम भएको यात्रा
एउटै सुरुवातको खण्ड हो
अन्ततः टुंगिनै पर्दछ
मञ्जिलमा पुगेर होस्
या नहोस् ।
प्रतिक्रिया