देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भँगेरी फुल


सानो चरो भँगेरो
कसैको हानी नगर्ने बिचरो
बचेरो पाल्न भुर्र भुर्र उडेको
चुचेरोमा चारो ल्याउँदै गरेको
यसलाई नै देखिसहेनन्
भक्षण गरेर बाँचेकाहरूले
चराचुरुंगीको संरक्षण अपरिहार्य भन्दै
गुलेलीमा मट्यांग्रो चढाएर
उसैलाई हान्न घुमिरहेका छन्
हामी पनि बिचरा

गुलेली हानिरहेकी वीरांगना देखेँ
यस्तै स्वाभिमानको ‘प्रोक्सी युद्ध’ देखे
झ्याउँकीरी सरह टनेलबाट आएकाहरू देखे
रूपान्तरणको नरसिंह बाजा र ढोलक सुनिरहेको छु
कस्तो रूपान्तरण ? यत्र, तत्र, जताततै टुटफुट
मोटाउँदै गएका साहुहरू
घट्दै गएको आर्थिक वृद्धि
तर समानान्तर वृद्धि
वायु प्रदूषण र भ्रष्टाचारको
खतरनाक ढंगसँग बढ्दै गइरहेका
अब त विश्व रेकर्ड स्थापित गर्दै
जिस्क्याइरहेका गरिबी र पछौटेपनलाई

भँगेरोको पोथीको नामको फुल
भँगेरी फुल ढकमक्क फुलेको
वसन्त ऋतुको आगमन भएको काठमाडौँमा
धुलाम्मे भएका भँगेरी फुलहरू देख्दा
हस्याङफस्याङ गरिरहेका गुलेलीबाजहरू देख्दा
टोलाएर आफैंसँग बात मारिरहेको छु
आज जंगबहादुर भएको भए
भँगेरी मैयाँसँग खेलेर
भँगेरी दरबारमा बसिरहँदैनथे होलान् ।