देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन मूच्र्छना’लाई नियाल्दा




उमेरले सात दशक टेकेका मुकुन्द पौडेल लामो समय आँखा अस्पतालमा सेवा गरेका व्यक्ति हुन् । जागिरे जीवनबाट निवृत्त भएपछिको समयलाई सिर्जनशील ढंगले व्यतीत गर्ने उनको निर्णय र सिर्जनशील सक्रियताले चारवटा कृति जन्माइसकेका छन् ।
कविता, मुक्तक र गीतमा विशेष कलम चलाइरहेका पौडेलले चौथो कृतिका रूपमा ‘मन मूच्र्छना’ ल्याएका छन् । यस कृतिमा ३०० भन्दा बढी रचना संग्रृहीत छन् । ‘मुक्तक संग्रह’ भनिएको यस कृतिबारे केही लेख्नुअघि मुक्तकबारे चर्चा गर्नु उपयुक्त होला ।

संस्कृतको चतुष्पदी अर्थात् चार पंक्तिमा लेखिने लघुकाव्य (छोटो कविता) हो आज भनिँदै आएको मुक्तक । यद्यपि, चतुष्पदी र मुक्तकमा धेरै समानता, थोरै भिन्नता छन् । चतुष्पदी शास्त्रीय छन्दमा लेखिने गर्छ तर मुक्तकलाई छन्दमुक्त लेखिँदै आएको अवस्था छ ।
चार पंक्तिमा लेखिने चतुष्पदी र मुक्तकको बाह्य संरचना उस्तै देखिन्छ । सुरुका दुई पंक्तिमा अनुप्रासयुक्त शब्दको प्रयोग अनिवार्य, तेस्रो पंक्ति स्वतन्त्र र चौथो पंक्तिमा पुनः अनुप्रासयुक्त शब्दको प्रयोग अनिवार्य मानिन्छ चतुष्पदी÷मुक्तकमा ।
यसरी नै सुरुका दुई पंक्तिले जिज्ञासा जगाउने, तेस्रो पंक्तिले जिज्ञासा उत्कर्षमा पु¥याउने र चौथो पंक्तिले प्रभावकारी ढंगले जिज्ञासा समाधान गर्ने काम चतुष्पदी÷मुक्तकमा हुन्छ ।
उर्दू÷फारसीमा रुबाई भनिने चतुष्पदीकै रूप पनि शास्त्रीय छन्द (बहर) मै लेखिन्छ । यद्यपि, नेपाली साहित्यमा लेखिँदै आएको मुक्तक भने मुक्त लयमा लेखिएको पाइन्छ ।
उसो त, विक्रमको २०३० को दशकदेखि सामूहिक र अभियानकै रूपमा सुरु गरिएको मुक्तक लेखनले यसबीचमा निकै फड्को मारिसकेको छ । सयौँ कृतिहरू आइसकेका छन् भने मुक्तक प्रधान संस्था स्थापित छन् । रेडियोमा मुक्तक विशेष कार्यक्रम सञ्चालित छन् भने पत्रपत्रिकामा समेत मुक्तकलाई राम्रै स्थान दिइएको पाइन्छ ।
यही लहरमा मुकुन्द पौडेल जोडिएका छन्– ‘मन मूच्र्छना’मार्फत । यस कृतिभित्रका रचनालाई आस्वाद गरिरहँदा निकै आनन्द मिल्छ पाठकलाई । पौडेलले यी रचनामा विविध विषयलाई टिपेर चोटिलो ढंगले प्रस्तुत गरेका छन् । समसामयिक राजनीतिक, सामाजिक बेथिति, सांस्कृतिक बिचलन, आर्थिक अपचलन, अख्तियार दुरुपयोग, अनैतिक र भ्रष्ट आचरणलाई तीव्र रूपमा उधिनेका छन् सिर्जनामा ।
राजनीतिक अस्थिरता र नेतृत्वको बेइमानी सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक विकास र समृद्धिको बाधक भएको उनको आशय छ । सुन्दर, शान्त, स्थिर र सभ्य समाजको परिकल्पना र चाहना पौडेलका रचनामा भेटिन्छ ।
माया वा प्रेमका विषयमा धेरै कुरा भनिएका छन्, अझै भन्न सकिन्छ । माया गर्न वा प्रेम गर्न कुनै उमेर र अवस्था बाधक हुँदैनन् । प्रेम प्रणयपरक र शाश्वत दुई प्रकारका हुन्छन् । प्रणयपरक प्रेम नारी र पुरुषबीचको आकर्षणमा केन्द्रित हुन्छ भने शाश्वत प्रेमले विश्व बन्धुत्व, भाइचारा, मानवीयतालाई बुझाउँछ ।
यस कृतिका रचनामा पौडेलले दुवै प्रकारका प्रेम अभिव्यक्त गरेका छन् । मानवीय प्रेमसँगै प्रणयपरक प्रेम पनि आएका छन् तर भद्र र शालीन अनि शिष्ट तवरले । प्रणयको उत्ताउलो र अश्लील अभिव्यक्ति यी रचनामा पाइँदैन ।
७० वर्षको उमेरमा पौडेलले कल्पना गरिएको प्रेमका अभिव्यक्ति पढ्दा पाठक किशोरावस्थामा पुग्छ । यो मुक्तककारको सिर्जनात्मक सफलता हो ।
आवरण प्रकाशनले बजारमा ल्याएको कृतिभित्रका रचनाहरू सुन्दर र प्रभावकारी हुँदाहुँदै पनि कतिपय रचनाले मुक्तकको सैद्धान्तिक मूल्यलाई बेवास्ता गरेका छन् । मुक्तकको संरचनालाई तोडेका छन् । त्यसो त, ३० को दशकदेखि नै मुक्तक लेखक र अभियन्ताहरूले छोटा कविताका रूपलाई मुक्तक भन्दै आएका छन् । पछिल्लो समय त प्रचलित मुक्तकको सैद्धान्तिक मान्यतालाई नै विचलित बनाउँदै गरेका पाइन्छ, मुक्तकमै विद्यावारिधि गरेका समेतले ।
यद्यपि, मुक्तकको नयाँ पुस्ताले अबका दिनमा मुक्तकलाई एउटा निश्चित मानकभित्र समेट्ला भन्ने अपेक्षा गर्न सकिन्छ । यस कार्यमा सन्तोष अम्गाईं, बादल घिमिरेजस्ता युवा सक्रिय छन् भने रामकाजी कोने, रमेश पौडेलजस्ता अग्रज अभिभावक छन् ।