मलाई जनता नभनिदेऊ
म जनता नै बन्न सकिनँ
जनता बन्न दिँदैनन् यिनीहरूले ।
कागजी सार्वभौमसम्पन्न बनाएर
कागती निचोरेझैँ निचोरिरहेका
हरेक दुष्कर्ममा फगत मेरो मोहर लगाउँछन्
मेरो नाम भट्ट्याएर ।
माछाको लागि पानीजस्तो भ्रष्टाचार यिनीहरूको
विकासले आँखा तरेको फल दिन
मेरै नाममा गुल्छर्रा उडाइरहेका
मेरो नाम लिएर मलाई नै लुटिरहेका छन्
मसाने गिद्धले जस्तो लुछिरहेका छन् ।
वैधानिक गुण्डागर्दी पनि मेरै नाम लिएर गर्न थाले
एउटै धामी, एउटै झाँक्री
टावरको एउटै वरद नेतृत्व
कतिले काम पाएका, कतिले दाम कमाएका
यसको सुरक्षा नै नेतृत्वको सुरक्षा
यसको लागि पनि मेरै नाम लिइरहेका ।
कति मेरै नाम लिन्छौ
मलाई नै लखेट्न मेरै आँगनबाट
मठमन्दिर खोलेर त्यहीँ बलात्कार गर्ने
त्यो मठाधीशसरह
सार्वभौमसम्पन्न भनेर मलाई
रैतीबाट झन् दास बनायौ
बिन्ती छ ! दाम कमाउन यति धेरै
मेरो नाम नलेऊ ।
जम्मा पारेकै छौ मुसण्डहरू
मेरै सम्पत्ति तोडफोड गर्न
द्रव्य–राजनीतिको भरौट–पोसाक दिएर
कहिले अरिङ्गाल बनेर चिल्न
कहिले बाघ बनेर झम्टन
कहिले गणतन्त्रको रक्षा
कहिले राजतन्त्रको पुनर्बहाली
हरे ! त्यसमा पनि रटाएछौ मेरै नाम लिन ।
राजनीतिको बहाल खाएर
निहाल भारुराम र डलररामहरू
आहाल बनाएका छौँ यो मुलुकलाई
मेरै नाम लिएर
बिन्ती छ ! यति धेरै मेरो नाम नलेऊ
महानगरदेखि हरेक पालिकामा
मालिका–युद्ध नगर
मलाई सुविधा दिने नाम लिएर
नसक यसरी यो मुलुक
मेरै नाम लिएर
मलाई चाहिँदैन
यति धेरै तिमीहरूको भोजनप्रदत्त सुविधा
म धेरै नै निसासिइसकेँ
कृपया मलाई सास फेर्न देऊ मेरो आँगनमा ।
प्रतिक्रिया