काठमाडौं । सरकार र तीन सातादेखि आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिहान ८ बजेबाट दुई पक्षबीच वार्ता सुरु भएको हो ।
वार्तामा शिक्षा मन्त्री रघुजी पन्त, मन्त्रालयका सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव मदनराज जोशीलगायत २५ जना सहभागी छन् ।
वार्तामा अहिले आन्दोलनरत पक्षले उठाएका मागहरूमाथि छलफल चलिरहेको छ । नयाँ शिक्षक ऐन जारी हुनुपर्ने, विद्यालयलाई स्थानीय तह मातहत नभई संघअन्तर्गत राख्नुपर्नेलगायत माग राखेर तीन सातादेखि आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्री पन्तले शुक्रबार औपचारिक रूपमा वार्तामा बोलाएका थिए ।
वार्तामा सहभागी हुने भनेर सरकारले सार्वजनिक गरेको सूचीमा असहमति जनाउँदै शिक्षक महासंघका पदाधिकारी अनुपस्थित रहेपछि स्थगित हुन पुगेको वार्ता शनिबार बिहानैबाट सुरु भएको हो ।
सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्कंने वातावरण बनउनु भनेर आदेश जारी गरेकाले सरकार दबाबमा परेको छ ।
प्रतिक्रिया