देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं कांग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता, पूर्व स्वास्थ्य राज्यमन्त्री तथा काठमाडौं जिल्ला कार्यसमितिका पूर्व सभापति तीर्थराम डंगोलको ७७ वर्षको उमेरमा निधन भएको छ।

उहाँको शुक्रबार राति काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो। लामो समयदेखि प्रोस्टेट क्यान्सर र मधुमेहबाट पीडित रहनुभएका डंगोलको स्वास्थ्य अवस्था पछिल्लो समय गम्भीर बनेको थियो।

स्वर्गीय डंगोलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज (वैशाख १३ गते) बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। त्यसपछि अपरान्ह २ बजे काठमाडौंको टेकू दोभानमा उहाँको अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।

वि.सं. २००४ साल माघमा जन्मिनुभएका डंगोल नेपालको लोकतान्त्रिक आन्दोलनमा समर्पित व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ नेपाल विद्यार्थी संघका संस्थापक सदस्यसमेत रहनुभएको थियो। वि.सं. २०४३ मा काठमाडौं नगरपालिकाको उपप्रमुखमा निर्वाचित डंगोल २०५६ मा प्रतिनिधिसभा सदस्य र २०६४ सालमा संविधानसभा सदस्यसमेत बन्नुभएको थियो।

वि.सं. २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा काठमाडौं जिल्ला सभापतिको हैसियतमा उहाँले सक्रिय नेतृत्व लिनुभएको थियो। निरंकुश राजतन्त्रविरुद्धको संघर्षमा उहाँले पटक–पटक जेल जीवन पनि व्यतित गर्नुभएको थियो।

राजनीतिसँगै साहित्य र समाजसेवामा पनि सक्रिय डंगोलले “काठमाण्डू कांग्रेस र तीर्थराम” नामक पुस्तक लेख्नुभएको थियो। उहाँ र धर्मपत्नी तेजकुमारी डंगोलको नाममा स्थापना भएको “तेज–तीर्थ ट्रष्ट”मार्फत हरेक वर्ष पत्रकारिता, मानव अधिकार तथा लोकतन्त्र, र नेपाल भाषा साहित्यका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई एक–एक लाख रुपैयाँसहित सम्मान गरिँदै आएको छ।

लोकतन्त्रको स्थापना र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै गणेशमान सिंह शहीद स्मृति शान्ति प्रतिष्ठानद्वारा प्रदान गरिने स्वर्ण पदकबाट सम्मानित डंगोल नेपाल राष्ट्रिय सम्वत् मूल समारोह समितिका अध्यक्ष समेत रहनुभएको थियो।

डंगोलको निधनप्रति नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ