शासक भन्छन् – बाघ धेरै भयो मुलुकमा
तर जंगली शासनका तीन बादशाह
गोविन्दे, ध्रुवे र रोनाल्डो
सिधासाधा मनुवा गोविन्दलाई मारेर गोविन्दे बनेको
पहरा दिइरहेको सैनिक ध्रुवलाई मारेर ध्रुवे बनेको
ध्रुवेले त कति मान्छे मा¥यो कति ?
फुटबलको जगत्मा धेरै गोल हान्ने रोनाल्डोको नाम
जंगलमा धेरै गोल हानेको त्यो हात्तीले पायो
सरकारी हात्तीको अनधिकृत प्रजनन अत्यधिक गरेकोले
त्यसैले जनताले नाम दिए – रोनाल्डो
पुच्छर नभएको यो अजङको हात्तीसँग भिड्न धेरै गाह्रो
एकपटक गोविन्देले भिड्दा दाँत फुस्कियो
पचास गोली खाएर पनि आतंक मच्चाएको छ ध्रुवेले
तर रोनाल्डोलाई देख्ने बित्तिकै सुइँकुच्चा ठोक्छ
जंगलको बादशाह रोनाल्डोको एकछत्र राज यहाँ ।
ब्रह्मनाल पुग्ने बेला भएको किन नहोस्
रियाल चुहाएर भए पनि, अंग–प्रत्यंग फेरेर भए पनि
सुवर्ण भस्म चाटेर भए पनि
डुंग गनाउँदा पनि गन्दै सहन नसक्ने उद्घोष गरेर
सत्तारूपी सुन्दरी भोग्ने बढ्दो व्यग्रताले हाँकेको
शून्य अनुशासन छ यहाँ जंगल राज गर्न
अब भनौँ – पशु र यी शासकमा को तल, को माथि ?
बुढी राप्ती तरेर हात्ती प्रजनन केन्द्र पुग्दा
त्यहाँ ढोई अर्थात् महिला हात्ती मात्रै लहरै बाँधिएका
म नजिकै गएर हेर्न थालेँ
पथप्रदर्शकले मलाई झट्का दिएर पछाडि ताने
हक्क न बक्क भएर हेर्दा सयौँ मान्छे पछि हटेका
घोर नीरव सन्नाटा चिरेको पथप्रदर्शकको फुसफुसाहट
त्यो आएको भयंकर रिसाहा रोनाल्डो हो
बिरलै देखिन्थ्यो यसरी
अरूले जस्तै हेरिरहेँ म केही डराएर तर आँखा नझिम्क्याएर
ऊ एउटा ढोईकोमा गयो
केही बेरपछि ढोईले मूत्र त्याग गरी
पथप्रदर्शकको अर्को फुसफुसाहट
मूत्र त्याग गरेको हुन्न भनेको, मानिन उसले
म जिल्ल परेको देखेर उनले थप फुसफुसाहट गरे
रतिक्रिया जबरजस्ती गर्न पाइँदैन
यही क्रम जारी रह्यो एकपछि अर्को ढोईकोमा
खै के भएको हो कोही तयार भएनन्
सर्वशक्तिमान रोनाल्डो अलि पर एक्लै उभिइरह्यो
शासकले जे पनि गर्छ लोभ वासना पूरा गर्न
तर रोनाल्डोले वासना पूरा गर्न जथाभावी गर्दैन
अनुशासन तोड्दैन जनावरले उत्सर्ग वासनामा पनि
जे पनि गर्न सक्ने रोनाल्डो
ठिंग उभिएर हेरिरहेको छ
तर आफ्नो नियतलाई बदनियतमा रूपान्तरण गर्दैन
वासना पूरा गर्न जबरजस्ती गर्दैन
बल मिच्याइँ गरेर नियम बदल्ने वा संशोधन गर्दैन
शक्तिले मदमत्त छ रोनाल्डो
तर झन् बढी अनुशासित
त्यो देखेपछि मलाई सोध्न मन लाग्यो–
शासक र जनावरमा को अनुशासित ?
को समझदार ?
प्रतिक्रिया