देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनसम्पर्क समिति स्पेनद्वारा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

देशान्तर

बार्सिलोना – नयाँ वर्ष २०८२ को अवसरमा नेपाली जनसम्पर्क समिति स्पेनले भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्दै नयाँ वर्षलाई हर्षोल्लासपूर्वक स्वागत गरेको छ। कार्यक्रमको मुख्य आकर्षण सर्बाधिक लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुतिले थियो, जसले कार्यक्रममा विशेष उत्साह थपेको थियो।

साथै, विभिन्न सांगीतिक, नृत्य तथा साहित्यिक प्रस्तुतिहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएका थिए। स्थानीय कलाकारदेखि नवप्रतिभासम्मले उत्साहजनक प्रस्तुति दिएका थिए।
समितिले केवल सांस्कृतिक कार्यक्रममै सीमित नरही सामाजिक सेवाका विविध क्षेत्रमा पनि निरन्तर सक्रियता देखाउँदै आएको छ।

हालै सम्पन्न तथा घोषण गरिएका कार्यक्रमहरूमा निम्न समावेश छन्:
• स्पानिश भाषा कक्षालाई निरन्तरता

• नवआगन्तुकहरूलाई लक्षित वेटर तालिम कार्यक्रम

• बच्चाहरूमा डिजिटल लत घटाउन तथा आत्मरक्षा सीप विकासका लागि कराते तालिम तथा शारीरिक व्यायाम कक्षा

• अंग्रेजी भाषा सिक्न इच्छुक विद्यार्थी तथा युवाहरूका लागि विशेष कक्षा

• सजिलो भाषा सिक्न सकिने पुस्तकहरूको निःशुल्क वितरण

यी कार्यक्रमहरू स्पेनमा नयाँ आगन्तुक र काम गर्ने अनुमति प्राप्त गर्न बाँकी व्यक्तिहरूको स्थानीय भाषा र सीप विकासमार्फत उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अगाडि बढ्न सहयोग पुर्‍याउने लक्ष्यसहित सञ्चालन गरिएका छन्।

समितिका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार, “हामी समाजका विविध तहमा प्रभावकारी योगदान पुर्‍याउने उद्देश्यका साथ अघि बढिरहेका छौं। शिक्षा, सीप विकास, स्वास्थ्य, नवप्रतिभालाई नेपालसँग जोड्ने, दूतावास तथा नेपाल सरकारसँग समन्वय गर्ने, नेपाली संस्कृतिको संरक्षण हाम्रो प्रमुख प्राथमिकता हो।”

श्रेष्ठले नयाँ ठाउँमा बसोबासका क्रममा देखिने सामाजिक तथा कानुनी चुनौतीहरू जस्तै: कोठा, काम र ‘पात्रोमिन्त्रो’ (निवास अनुमति) सम्बन्धी जानकारीको अभावबाट कोही पनि समस्यामा नपरोस् भन्ने हेतुले, “आवश्यकतामा विश्वेश्वर कार्यक्रम” अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताए।

समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सक्रिय रुपमा कार्यरत समितिले आगामी दिनहरूमा झनै प्रभावशाली कार्यक्रमहरू ल्याउने योजना बनाएको छ।

कार्यक्रम गैरआवासीय नेपाली संघ (NRNA) का युरोप संयोजक चिन्तामणि सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा समितिका पूर्व अध्यक्ष पुष्पराज भण्डारी, ईन्द्र शर्मा, गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष पेशल कोईराला, जन प्रगतिशील मञ्च युरोपका उपाध्यक्ष गंगा भुषाललगायतले समितिको योजनाबद्ध सक्रियताको प्रशंसा गर्दै मन्तव्य दिएका थिए।