देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाकुम्भ मेला


यो योग १४४ वर्षपछिको ग्रह संयोजनको
यो योग ब्रह्माण्डको गति र मान्छेको मतिको
प्रयागराजको यो संगम –
गंगा, जमुना र विलुप्त सरस्वतीको
यो संगममा डुबुल्की चैतन्य अभिवृद्धिको
श्रुतिप्रदत्त समय प्रवाहले मलाई छुँदा
मेरी अर्धांगिनीसँगको महाकुम्भ स्नान
स्मरण पिता, प्रपिताको
अभिव्यञ्जना पवित्र विश्वासको

विश्वासले बचाएको श्रुति
श्रुतिबाट निःसृत विश्वास
उडेको बादल, झरेको पानी
ब्रह्माण्डको चक्रमा लयबद्ध हामी
विश्वासको विश्रान्ति मानव सन्तुलन
घामपानीको तालमेल, प्रकृति मिलन
यही हो तुलो सृष्टिको
मानव जीवन र संघर्षको

सृष्टि एउटा समग्र सन्तुलन
जहाँ प्रत्येक सुरुवातको एउटै अर्थ
अन्त्य –
समयको अन्तरालमा
फरक अन्तराल, फरक अन्त्य
१०० वर्ष बाँचोस् भनिने एउटा मान्छे
उसको के कुरा ?

हजारौँ वर्ष बाँचेका सभ्यता मरे
धरतीले नै बोकेको छ सुरुवात र अन्त्यको कथा
पन्ध्र टेक्टोनिक प्लेटमाथिको महासागर
मरुभूमिदेखि हिमशृंखला
कर्णालीको सरयू नदी
कोसी गण्डकीको गंगा

करोडौँ वर्षअगाडि
अहिले सगरमाथाको चुचुरो
महासागर भएको ठाउँ
माछाहरू पौडी खेलिरहेका थिए
सधैँ चलायमान प्लेट्सको एक आपसमा घुसपैठ
रगड झगड, टुटफुट
यस क्रममा कतिपटक हिमाल बने
कतिपटक सागर सुके
समयको प्रवाहसँग बहिरहेको
अन्त्य र सुरुवातको क्रमबद्धता
यसैमा अहिले जोडिएको फगत म
बगरको एउटा बालुवाको कणजस्तो

महाकुम्भ योग हो सूर्य, चन्द्र र बृहस्पतिको
यात्रा मिलनको यी तीन ग्रहको
अमरत्वको छिटो परेको यो संगम
अमृत स्नानको थलो बन्यो अनवरत विश्वासको

अमरत्व प्राप्तगर्न असमर्थ देवता
दानवसँग सहकार्य गर्न पुगे
समुन्द्र मन्थन गरेर अमृत निस्कियो
विष्णुले मोहनी रूप लिए
कुम्भ अर्थात् अमृतको भाँडोबाट
त्यो योगमा एक छिटो अमृत खस्यो
यो संगम बनेको थलोमा

श्रुतिप्रदत्त विश्वासमा बाँचेका
असल विचार र असल कर्मका लागि
कति पाप नाशका लागि, कति मुक्तिका लागि
महाकुम्भ स्नान गर्न आएका मान्छेहरू
जति परसम्म आँखाले हेरे पनि अटाई नअटाई
लाग्छ, मानव सागरको अञ्जुलीमा
महाकुम्भ संगम छ ।