देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेताहरूको अकर्मयण्ताले राजावादी उत्साहित

देशान्तर

काठमाडौं । तीन साता अघि फागुन ७ गते ७५औँ प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देशमार्फत आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिँदै व्यवस्था बदलियो भन्नेहरूले जनताको अवस्था बदल्न नसकेको आरोप लगाउँदै देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान समेत गरेपछि राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ भने राजावादीहरू उत्साहित बन्दै राजतन्त्र पुनस्र्थापनाको असान्दर्भिक, औचित्यहीन माग लिएर सडकमा उत्रिएका छन् । ज्ञानेन्द्रमा एकाएक फेरि शक्तिमा आउने लालसा जागेपछि हौसिएका राजावादीहरू सडकमा आई राजतन्त्रको पक्षमा नाराबाजीसमेत गर्न थालेका छन् ।

राजाको पछिल्लो वक्तव्यले उत्साहित राप्रपा, राप्रपा नेपाललगायतका राजनीतिक दल र विभिन्न समूहमा रहेका राजावादीहरूले राजसंस्थाको पुर्नस्थापनाको माग गर्दै काठमाडौंलगायत देशका विभिन्न सहरमा प्रदर्शन गर्दै आएका छन् । यसलाई वर्तमान व्यवस्था अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरूले अहिलेका प्रमुख दलहरूका शीर्ष नेताहरूको अकर्मण्यताले गर्दा राजावादी उत्साहित भएको टिप्पणी गर्न थालेका छन् । तर, गणतन्त्र पक्षधर नेताहरूले भने राजालाई पार्टी खोलेर राजनीतिक प्रतिस्पर्धामा उत्रिन खुला चुनौती दिँदै आइरहेका छन् । वास्तवमा पूर्वराजा ज्ञानेन्द्र र उनलाई गद्दीमा पुनस्र्थापना गर्न चाहने राजनीतिक दलहरू र उनका पक्षधर उत्साहित हुनुमा लोकतन्त्रवादी दलहरूका शीर्ष नेताहरूको क्रियाकलाप नै जिम्मेवार भएको राजनीतिक विश्लेषकहरूको ठहर छ ।


फेरि शक्तिमा फर्किने ज्ञानेन्द्रको आकांक्षापछि जुर्मुराएको राप्रपा आफ्नो नेतृत्वमा राजावादी समूहहरूलाई एकीकृत गरेर सडकमा उत्रिने तयारीसमेत गरिरहेको देखिएको छ । राप्रपाले राजावादी समूहलाई एकीकृत गर्न वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको नेतृत्वमा एउटा समिति समेत बनाएको छ । राप्रपाका सांसदहरूले संघीय संसद्मा समेत राजतन्त्रको वकालत गर्दै आएका छन् । राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्र लिङदेन र ज्ञानेन्द्र शाहीहरू संघीय संसद्मा राजतन्त्र फर्काउन आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने कुरा गरिरहेका छन् । लामो समयसम्म चुप लागेर बसेका ज्ञानेन्द्र पछिल्लो समयमा विभिन्न अवसरहरूमा भिडियो सन्देशमार्फत देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउँदै आएका छन्, पछिल्लो वक्तव्यमा उनले मूर्त रूपमा नै फेरि नारायणहिटी फर्किने इच्छा देखाएपछि राजनीतिक वृत्तमा अनेकथरिका अनुमानहरू पनि भइरहेका छन् ।

ज्ञानेन्द्रले दलहरूलाई ठाडो चुनौती दिँदै वक्तव्य दिनुमा सत्ताधारी दलका नेताहरूको पनि हात रहेको टिप्पणी समेत भइरहेको छ । ज्ञानेन्द्रको वक्तव्यले राजावादीहरूमा उत्साह छाइरहेको अवस्थामा मूलधारका राजनीतिक दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत पार्टीका नेताहरूले आपत्ति जनाइरहेका छन् । नेताहरू जनताको आकांक्षा पूरा नगरी व्यक्तिगत लाभ र सत्तालिप्सामा मात्र केन्द्रित हुँदा जनता निराश रहेको मौकामा राजावादीहरू सलबाएको विश्लेषण पनि राजनीतिक वृत्तमा भइरहेको छ । पछिल्लो समयमा प्रमुख राजनीतिक दलका नेताहरूको कार्यशैलीप्रति जनतामा असन्तुष्टि छ । सत्ताधारी दलका केही नेताहरूले गणतन्त्रको संस्थागत विकास र जनअपेक्षा अनुसार काम गर्न नसक्दा पनि त्यसको आक्रोश सडकमा देखिएको पनि विश्लेषणहरू भइरहेको छ । त्यसैकारण पनि आमनागरिकसरहका पूर्वराजाको अभिव्यक्तिले समेत दलका केही नेताहरू तर्सिएको टिप्पणी समेत हुन थालेको छ । केही नेताहरूका कारण संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाउने काम भइरहेकाले पनि राजावादीहरू उत्साहित भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।


अन्य विषयमा सत्ता र विपक्षमा बाँडिए पनि गणतन्त्रविरुद्ध पूर्वराजावादीहरू सक्रिय हुन खोजेपछि प्रमुख दलले रणनीतिक रूपमा प्रतिवाद गरेका छन् । ज्ञानेन्द्रले अहिलेको व्यवस्था र दलहरूप्रति कटाक्ष गर्न थालेपछि केही नेताहरूले उनलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने अभिव्यक्तिसमेत दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले पूर्वराजाको अभिव्यक्ति संविधानअनुसार दण्डित हुने खालको भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजाको पछिल्लो वक्तव्य र राप्रपाको आन्दोलनप्रति सार्वजनिक रूपमा असन्तुष्टि पोख्दै आएका छन् । लोकप्रिय लागेको भए निर्वाचनमा लड्न पूर्वराजालाई उनले चुनौती दिएका छन् । नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार नगर्ने उनको भनाइ छ ।


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजतन्त्र अब इतिहास भएको टिप्पणी गरे । बिहीबार महोत्तरीमा कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले पूर्वराजाले ज्यादती गरेकै कारण गणतन्त्र आएको बताए । ‘राजा स्वयं नै कारक भएर नेपालमा गणतन्त्र आएको हो । राजाले सत्ता सम्हालेपछि नेताहरूलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे,’ देउवाले भने, ‘ज्यादती गरेपछि गणतन्त्र आएको हो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि पूर्वराजा ज्ञानेन्द्रलाई सत्तामा आउने इच्छा जागेको हो भने पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सोहीअनुसारको संविधान क्रियाशील भएको अवस्थामा केही हजारको संख्यामा जुलुस निकालेर राजा फर्काउने कुरा असान्दर्भिक रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । लोकतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुन सक्दैन । राजा आऊ, देश बचाऊ भन्दै सडकमा मच्चिँदैमा राजतन्त्र पुनस्र्थापना हुने होइन ।