देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसपी बढुवाले सुशासनको … फुस्कियो 

देशान्तर

काठमाडौं ।  सुशासनको नारा लगाउन नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विवादै विवादका पर्याय तथा प्रचण्डका सारथि रहेका गृहमन्त्री रवि लामिछानेले सुशासनको नारा लगाएको पटक्कै सुहाएको छैन । सहकारी ठगीको आरोप लाग्दै आएका लामिछानेले गृह मन्त्रालयको नेतृत्व लिएपछि ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिसको निर्णय विवादमा परेको छ । वरीयता मिच्दै बढुवा गरेपछि सुशासनको नाराको ‘धोती फुस्किए’को रूपमा अथ्याइएको छ । 

प्रधानमन्त्री र सत्तारूढ दल नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओलाई बढुवा सिफारिसमा प्राथमिकता दिएपछि निर्णयको आलोचना भएको हो । 

प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर अध्यक्षताको बढुवा सिफारिस समितिले बुधबार १२ जना डीएसपीको सूचीबाट ८ जनालाई एसपीमा बढुवा सिफारिसको निर्णय गरेको थियो ।

वरीयतामा पहिलो, छैटौं, नवौं र बाह्रौंलाई पन्छाएर ओली र प्रधानमन्त्री पीएसओले बढुवामा प्राथमिकता पाएका छन् ।

ढकेन्द्र खतिवडा, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरेलाई एसपी बढुवाका लागि सिफारिस गरिएको सार्वजनिक भएको हो ।

डीएसपीको एक नम्बर वरीयताका प्रदीपकुमार क्षेत्री र छैटौं नम्बरका नारायण रञ्जितकार बढुवा सिफारिसमा परेका छैनन् भने बढुवा सिफारिस भएकामध्ये घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल तथा तामाङ र लिम्बू एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वअंगरक्षक (पीएसओ) हुन् । घिमिरे डीएसपीको १२औं, लिम्बू आठौं र तामाङ नवौं वरीयतामा थिए । अहिले घिमिरे आठौं, तामाङ पाँचौं र लिम्बू सातौं नम्बरमा बढुवा सिफारिस भएका छन् ।

२०७२ साउन १ गते प्रहरी निरीक्षकबाट डीएसपी बढुवा हुँदा पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री थिए । तर अहिले एसपीमा बढुवा सिफारिस गर्दा क्षेत्रीको नाम छुटाइएको छ भने आठौं, नवौं र बाह्रौं नम्बरका पीएसओ भइसकेका अधिकृतहरू सिफारिसमा परेका छन् । त्यस्तै छैटौं नम्बरका डीएसपी पनि छुटेका छन् । ८ दरबन्दीका लागि १२ जना डीएसपी प्रतिस्पर्धामा भएका बेला रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि यो प्रहरी अधिकारीको पहिलो बढुवासम्बन्धी सिफारिस हो । आईजी नियुक्त भएको एक वर्षयता वसन्त कुँवरले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनलाई प्राथमिकतामा राखेर प्रहरी अधिकारीहरूको बढुवा गर्दै आएकोमा यस पटक भने वरीयता मिचिएको भन्दै प्रहरी संगठनभित्रै असन्तुष्टि देखिएको छ । 

एसपी सिफारिस भएका घिमिरे २०७८ सालसम्म प्रधानमन्त्री दाहालका पीएसओ रहेका थिए भने तामाङ २०७२ र लिम्बू २०७४ सालमा केपी ओली प्रधानमन्त्री हुँदा पीएसओ थिए । गृहमन्त्री लामिछाने र शक्ति केन्द्रको दबाबका कारण मेरिटका आधारमा बढुवा गर्ने अडानबाट प्रहरी नेतृत्व पछि हटेको प्रहरी प्रधान कार्यालयका अर्का एक एसएसपीको भनाइ छ ।