देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काजीको भ्रमण धार्मिक यात्रामात्र 

देशान्तर

बेइजिङमा पानी पर्दा काठमाडौंमा छाता ओढ्ने कम्युनिस्टको नेतृत्वमा गठबन्धन बनेपछि हतारहतार चीन भ्रमणमा गएका माओवादी केन्द्रका उपाध्यक्ष, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भ्रमण उपलव्धिमूलक नहुँदा राजनीतिक वृत्तमा तीर्थाटनको संज्ञा दिइएको छ ।

पछिल्लो सत्ता समीकरणमा चीनको हात रहेको चर्चा चलिरहेका बेला नारायणकाजीको बेइजिङ यात्राले यसलाई पुष्टि गरेको छ । तर, उनी ९ दिन लामो चीन भ्रमणमा रहँदा भ्रमण भने उपलव्धिविहीन नै भएको छ । उनले राजनीतिक भेटवार्ता गरे पनि कुनै पनि औपचारिक सहमति भने गर्न सकेनन् । चीनको महत्वाकांक्षी योजना बीआरआईमा समझदारी हुने हल्ला चले पनि उनले आफ्नो भ्रमणको एजेन्डा पनि सार्वजनिक नगरेर गएका थिए । चीनसँग ७ वर्षअघि नै बीआरआई कार्यान्वयनका लागि सम्झौता भए पनि नेपालले अहिलेसम्म उक्त सम्झौता कार्यान्वयनमा ल्याएर योजना छनोट नै गरेको छैन । अहिले पनि पोखराको विमानस्थल चिनियाँ ऋणमा रहेकाले अरू थप योजनाका लागि ऋण ल्याउने अवस्था नरहेको जवाफ दिँदै आएको छ । नेपाली कांग्रेसको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ सालमा अनुदान पाए लिने ऋण नलिने जवाफ चीनलाई दिएका थिए । 

अहिले कम्युनिस्टको सरकार भएका बेला चीनले नेपालमा केही लगानी गर्न सक्छ र त्यसको मेसो मिलाउनका लागि उपप्रधानमन्त्री श्रेष्ठ पुगेर राजनीतिक भेटवार्ता गरेर व्यक्तिगत सम्बन्ध विस्तार गरे पनि देशलाई फाइदा पुग्ने कुनै काम गर्न भने सकेनन् । उनी ग्वान्जाउ हुँदै चीन पुगेका थिए भने बेइजिङमा भेटवार्ता गर्ने र नेपाली राजदूतावासले गरेको कार्यक्रममा सहभागी भएर मेजमानी खाएर चोङछिङ, ल्हासा हुँदै मनसरोबार पुगेका छन् । मानसरोवर हिन्दुहरूका पवित्र धार्मिकस्थल रहेकाले पनि यसलाई तीर्थयात्राको रूपमा पनि हेरिएको छ । उनी सोमबार काठमाडौं फर्किने छन् ।