देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रमा सेन्टरको सेवा चुस्त बन्दै

देशान्तर

काठमाडौं । मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टरमा प्रमुखका रूपमा रहेका डा. बद्री रिजालको सकारात्मक पहलका कारण हाल ट्रमा सेन्टरप्रति सेवाग्राहीको हेर्ने नजरमा परिर्वतन आएको छ भने सेवाग्राही सन्तुष्ट भएर फर्कने गरेका छन् ।
जनशक्ति अभाव हुँदाहुँदै पनि डा.रिजालले सेवा प्रवाहलाई चुुस्त दुरुस्त बनाउन हरसम्भव प्रयास गरेको बताए । आकस्मिक विभाग तथा ओपीडीमा विभिन्न चोटपटक, सडक दुर्घटना, हाडजोर्नी, नसासम्बन्धी बिरामी आउँछन् । ट्रमाको आकस्मिक विभागमा आउने गम्भीर प्रकृतिका बिरामीलाई सहज र सुलभ तरिकाले उपचार दिइरहेको, अप्रेसन गर्नुपर्ने बिरामीहरूको अप्रेसनलाई प्राथमिकताका साथ छिटो र सुलभ बनाइएकोले पनि सेवाग्राहीले कुनै गुनासो गर्ने ठाउँ नभएको बिरामी कुरुवाहरूले बताएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ । २०० शय्याको पूर्ण क्षमतामा सञ्चालित यो अस्पतालले कुनै घटना, दुर्घटना वा चोटपटक लाग्दा निजी अस्पतालमा गएर महँगो शुल्क तिर्न बाध्य गरिब जनताका लागि सकेसम्म निःशुल्क र नभए न्यूनतम शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुँदै आएको छ । गत वर्ष ट्रमा सेन्टरबाट ८२ हजारलाई ओपीडी सेवा दिइएकोे, १७ हजार ५ सयलाई आकस्मिक सेवा दिइएका र ६ हजार ९ सय मेजर अप्रेसन गरिएको थियो ।
अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको रिजालले जानकारी दिएका छन् । अस्पतालबाट अनलाइन टिकट लिने व्यवस्था मिलाइएको छ भने र बिहान ८ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन ट्रमाले स्तरोन्नति पनि गरिरहेको छ ।

समयसमयमा अत्यावश्यक उपकरणहरू खरिद गर्दै ट्रमाले अहिले बिरामीहरूलाई छिटो, छरितो सेवा प्रवाह गरिरहेको छ भने कुनै पनि बिरामी अस्पतालभित्र उपचार पाउन लामो समय बस्न नपर्ने र एकदुई हप्ताभित्रमै घर फर्किने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पनि ट्रमा सेन्टरको सेवा प्रवाहलाई छिटो, छरितो बनाउन आवश्यक पर्ने नीतिगत निर्णय तत्काल गरिदिने गरेका छन् । केही महिना पहिले राष्ट्रिय ट्रमा सेन्टरको दसौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभई नहुने उपकरण खरिद गर्न सकारात्मक रहेको बताएका थिए ।
मन्त्री बस्नेतले ट्रमा सेन्टरले प्रदान गरिरहेको सेवा सन्तोषजनक भएको भन्दै यसको सेवा विस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताएका छन् ।