देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अरुणको पक्राउले व्यापारी आतंकित, राजनीति तरंगित

देशान्तर


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाको ४० वर्षअघिको जग्गा निजीकरणसम्बन्धी प्रकरणमा प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपका सदस्य एवम् सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई घरबाटै पक्राउ गरेपछि निजी क्षेत्र तरंगित भएको छ भने राजनीतिक रूपमा टिकाटिप्पणी सुरु भएको छ । मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलगायत कारण राज्यसँग असन्तुष्ट निजी क्षेत्र यो प्रकरणका कारण सरकारसँग थप चिढिएको छ भने राज्यले नै उद्योगी व्यवसायीलाई निरुत्साहित र आतंकित बनाएको जनाएको छ ।
प्रहरीले जति सजिलोगरी चौधरीलाई पक्राउ ग¥यो, त्यसलाई स्थापित गर्न भने त्यति सजिलो नरहेको कानुनका जानकारहरू बताउँछन् । निजीकरण राज्यको नीति रहेको र सोहीअनुसार भएका निर्णयबाट बाँसबारी छाला जुत्ता कारखानाको जग्गा च्याम्पियन फुटवेयरले लिएकोले उक्त जग्गा लिने व्यक्तिभन्दा निर्णय गरेर दिने व्यक्ति, पदाधिकारी तथा संस्था जिम्मेवार हुने उनीहरूको तर्क छ ।


सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक–पटक आग्रह गर्दै आएको भन्दै निजी क्षेत्रले पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको जनाएको हो । पक्राउअघि प्रहरीले कुनै सूचना नदिएको र अनुसन्धानका लागि पनि नबोलाएको भन्दै यस प्रकारको गिरफ्तारीले केही महिनाभित्रै नेपालमा हुन गइरहेको लगानी सम्मेलनलाई पनि असर पर्न सक्ने निजी क्षेत्रको ठम्माइँ छ ।


यता अर्थमन्त्री डा. प्रकाशशरण महत पनि लगानी सम्मेलनको मुखैमा प्रतिष्ठित व्यापारिक घरानामाथि गृह मन्त्रालयले धरपकड गरेको भन्दै असन्तुष्ट छन् । अर्थमन्त्रीलाई असफल बनाउने डिजाइनअनुसार गृह मन्त्रालय लागिरहेको भन्दै महत असन्तुष्ट भएका हुन् । त्यसो त सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले वर्तमान गृहमन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिँदै आएको र प्रधानमन्त्रीले अर्थमन्त्रीमा आफूले चाहेको व्यक्ति ल्याउन खोजेको कतै छिपेको छैन । चौधरीसहित तीन जनालाई पक्राउ गरेको सीआईबीले भने करिब तीन महिनाको अनुसन्धानपछि निष्कर्षमा पुगेरै पक्राउ गरिएको भन्दै शंका नगर्न आग्रह गरेको छ ।
कतिपयले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने काम पनि पछिल्लो समय सीआईबीको जिम्मा लगाइएको भन्दै टिप्पणी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभागजस्ता निकायले गर्नुपर्ने काम सीआईबीले गर्न खोज्दा प्रणालीमै खलल पुग्ने सुरक्षा र प्रशासनका जानकारहरूको टिप्पणी छ ।
चौधरीको पक्राउलाई सत्तारूढ कांग्रेसलाई गठबन्धनमा गलाउनका लागि गरिएको सुनियोजित घटना पनि ठान्ने गरेका छन् । चौधरी कांग्रेसका सांसदसमेत रहेका उद्योगपति विनोद चौधरीका भाइ हुन् । उनले पनि चौधरीले सरकारले प्रतिशोध साँधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको संसदीय दलको बैठकमै उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रक्रिया कानुनसम्मत रूपमै किनेको बताएका थिए । अरुणको पक्राउ र सम्भावित परिस्थितिबारे उनले संसदीय दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकोे ध्यानाकर्षण गराएका थिए ।


चौधरीका अनुसार च्याम्पियन फुटवेयर भन्ने चालू अवस्थाको कम्पनीले २०५२ सालमा खुल्ला प्रतिस्पर्धाबाट बाँसबारी छाला जुत्ताको सेयर खरिद गरेको थियो । कांग्रेस सांसद सुनील शर्माले चौधरीको गिरफ्तारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको डिजाइनमा भएको बताउँदै ठूलाठूला उद्योगपति र ठूला घरानाहरूलाई ह्यारेस गरेर अन्डरटेबल डिल गर्ने प्रचण्ड र नारायणकाजीको डिजाइन देखिएको कडा प्रतिक्रिया दिए । पक्राउ परेका चौधरीसहित छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा र सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई जिल्ला अदालत, काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।