देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

`भरत छानिए  बिएफआई लन्डन फिल्म फेस्टिभलमा डेलिगेट्समा´

देशान्तर

काठमाडौं । लामो समयसम्म नेपालकै प्रतिष्ठित कान्तिपुर टेलिभिजनमा  भिडियो सम्पादकका रूपमा अनुभव सँगाले पश्चात् विगत केही वर्षदेखि आफ्नै व्यावसायिक संस्था `चित्रकला प्रोडक्सन´ स्थापना गरी सोही संस्था मार्फत श्रव्य दृश्य सम्बन्धी काम गर्दै आएका चलचित्र  तथा म्युजिक भिडियो सम्पादक भरत रेग्मीले लन्डनमा आयोजना हुने ६७ औँ संस्करणको `बिएफआई लन्डन फिल्म फेस्टिभल´ मा डेलिगेट्स (प्रतिनिधि) को रूपमा सहभागिता जनाउने भएका छन् ।

आयोजकले विश्वका सीमित व्यक्तित्वहरूलाई प्रतिनिधिका रूपमा छनोट गर्ने क्रममा नेपालबाट रेग्मीलाई उपयुक्त मानेर छनोट गरेको हो। महोत्सवमा सहभागिता जनाउन रेग्मी आगामी साता लन्डन प्रस्थान गर्नेछन् ।आयोजक समूहले दुई महिना अगाडिदेखि सम्पादक रेग्मीको   डकुमेन्टहरू अध्ययनपश्चात् प्रतिनिधिका रूपमा छनोट गरेको हो।

‘उक्त महोत्सवमा नेपालका तर्फबाट रेग्मी मात्र छनोट भएका छन्।  रेग्मीलाई ‘ प्रतिनिधिका रूपमा छनोट गरेपछि फेस्टिभलका लागि छनोट भएका चलचित्रहरू हेर्न र  हेरिएका चलचित्रहरूका बारेमा टिप्पणी गर्न फेस्टिभलको सिस्टममा अनलाइन एक्सेस दिइएको छ। रेग्मी भन्छन्  अहिले उनी निकै उत्साहका साथ अनलाइनबाट ती चलचित्रहरू हेर्नमा व्यस्त छन्। सबै चलचित्रको अवलोकन पश्चात् उनले आफ्नो राय र टिप्पणी फेस्टिभलका निर्णायक समूहलाई दिनुपर्ने हुन्छ।

फेस्टिभलले यो वर्षसम्म ६७ वर्ष पुरा गर्दै छ । यो फेस्टिभलको नयाँ संस्करणका लागि पनि विश्वव्यापी चलचित्रहरू छनोट भएका छन् ।

यसरी एउटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको प्रतिनिधि हुन पाउनु मेरो लागि एउटा ठुलो अवसर हो, रेग्मी भन्छन् – नेपालबाट बुसान, कान्स जस्ता फेस्टिभलमा जस्तै लन्डनको विश्व प्रसिद्ध  फिल्म फेस्टिभलमा प्रतिनिधिको रूपमा सहभागी हुन पाउनु आफैँमा ठुलो कुरा हो । त्यहाँ पुगेर रेग्मीले ‘अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूसँग चलचित्र निर्माण सम्बन्धी धेर‌ै  कुराहरू सिक्ने अवसर पाउनेछन्। यो रेग्मीका लागि मात्र नभएर नेपाली चलचित्र जगतकै लागि गर्वको विषय हो। 

`ब्रिटिस फिल्म इन्स्टिच्युट´ को सहकार्यमा लन्डनमा हरेक वर्ष यो फेस्टिभल आयोजना हुँदै आइरहेको छ । यो वर्षको फेस्टिभल अक्टोबर ५ देखि १५ सम्म अर्थात् दुई हप्तासम्म सञ्चालन हुनेछ ।

`बिएफआई फिल्म फेस्टिभल´ मा विश्वका ७० भन्दा बढी देशका २४० वटा फिचर फिल्म तथा १५० वटा सर्ट फिल्महरू सहभागी हुँदै छन्।फेस्टिभलका लागि विश्वभरिबाटै प्रोफेसनलहरू मध्येबाट डेलिगेटस्हरुको छनोट हुने आयोजक संस्थाले जनाएको छ । डेलिगेटहरुले फेस्टिभलको हरेक सेसनहरूमा भाग लिनुपर्ने हुन्छ । उनीहरूले मनोनयनमा परेका सबै फिल्महरू हेरेर निर्णायक मण्डलीलाई आफ्नो राय बुझाउनुपर्ने हुन्छ। रेग्मीले स‍ो फेस्टिभलमा पुगेर  अन्तर्राष्ट्रिय चलचित्र सम्मेलनमा  नेपाली चलचित्रकर्मीको  प्रतिनिधित्वको  इतिहास,  नेपाली चलचित्रमा कथानक बुन्ने पद्धति, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा  स्थान, नेपाली चलचित्रकर्मीका आँखामा विश्व चलचित्र बजार लगायत विषयमा प्रस्तुति दिनेछन्। 

भिडियो सम्पादन, रङ्ग संयोजन र ग्राफिक्स/ एनिमेसनमा सिद्धहस्त रेग्मीले हालसम्म  कलिउड, ऋतु, अन्दाज, कथा काठमाडौँ, एक   लगायत १५ जति चलचित्र, जर्नी टु टप, द सोल्जर, सुनाकली लगायत २५ जति वृत्तचित्र, बनमा फुल्यो फूल, म हुँ प्रकृति, बाँचुञ्जेलीलाई, हरेक शब्द, बुढेसकालमा लगायत  १५०० जति म्युजिक भिडियो र २००  जति व्यावसायिक विज्ञापनहरूमा काम गरेका छन्।