देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीको साम्प्रदायिक बकबक

देशान्तर

काठमाडौं । अहंकारी, दम्भी र तानाशाहीका पर्यायवाचीको रूपमा नेपाली राजनीतिमा चिनिएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद उर्फ केपी शर्मा ओलीको अराजनैतिक बकबकले कोसी प्रदेशमा साम्प्रदायिक भड्काव बढ्ने सम्भावना बढ्दै छ । त्यसको ताजा उदाहरण हालै सामाजिक सञ्जालमा एक व्यक्तिले गोरु काटेको भिडियो सार्वजनिक भएपछि धरान उपमहानगरमा २४ घण्टे कफ्र्यु (निषेधाज्ञा) नै लगाउनु परेको छ भने हिजो शनिबार त्यसका बाबजुद सनातन हिन्दुहरूले स्वतःस्फूर्तरूपमा हजारौंको संख्यामा जुलुस प्रदर्शन गरेका छन् । 

मंसिरमा सम्पन्न चुनावपछि प्रचण्डलाई बालकोटको बार्दली गठबन्धन गराएर प्रधानमन्त्री बनाएपछि निकै हौसिएका ओली उनकै अनावश्यक खटनपटनबाट दिक्क भएका प्रचण्ड कांग्रेस नेतृत्वको पुरानै गठबन्धनबाट अघि बढेपछि एमाले एकाएक प्रतिपक्षको बेन्चमा पुगेको थियो । सबै प्रदेश र केन्द्रमा मन्त्रीहरू गुमाउँदा रन्थनिएका ओली अहिले अनावश्यक रूपमा कोसी प्रदेशको आन्दोलनमा झिँगे दाउँ खेलेर बसेका छन् । हो, कोसी प्रदेशको नामकरणपछि त्यहाँ अहिले पनि पहिचानवादीहरूले आन्दोलन गरिराखेका छन् भने आन्दोलनमा एक जनाको मृत्यु पनि भइसकेको छ । आन्दोलन अहिले पनि जारी रहेका बेला ओलीले कोसी प्रदेशमा साम्प्रदायिकता भड्काउने अभिव्यक्ति दिँदै हिँडेका छन् ।

भक्तपुरको कौशलटारमा बिहीबार आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा झन्डै ४५ मिनेट भाषण गर्दा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजावादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि साम्प्रदायिक हिंसा भड्काउन खोजेको गम्भीर आरोप लगाए । कोसी प्रदेशको नाम पनि उच्चारण गर्न मन नपाउने ओलीले भने  ‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन्,’ उनले भने, ‘उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरू उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल ।’

देशको सार्वभौमसत्ता जोगाउ सकिएन भने वीर गोर्खाली कहलिनुको कुनै अर्थ नरहने भन्दै सार्वभौम सत्ता जोगाउ लड्नुपर्ने उनको भनाइ थियो । पटकपटक बाहुन भनेर प्रचण्ड र नेपालको नाउँ लिएर उनीहरूविरुद्ध जाइलाग्नु पर्ने आशयले अभिव्यक्ति दिएका थिए । 

ओलीको बोली र प्रचण्डका असान्दर्भिक अभिव्यक्तिका कारण बेलाबेलामा मुलुकमा यस्ता साम्प्रदायिक घटनाहरू बढ्न थालेका छन् । सदियौंदेखि विभिन्न धर्म, भाषा, जातजातिबीच सहिष्णुता कायम भएको मुलुकमा धर्मनिरपेक्षतालाई अँगालेपछि यस्ता घटना बढ्दै गएका हुन् । यसतर्फ मुलुकका जिम्मेवार प्रमुख दल र तिनका शीर्ष नेताहरू बेलैमा सचेत भएनन् भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुन्छ ।