देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रद्धाञ्जलि ग्रेटा राणा


ग्रेटा राणालाई मैले ‘पेन नेपाल’को स्थापनाअघि नै भेटिसकेको थिएँ । साँच्चै भन्ने हो भने, त्यो भेट नै पछि ‘पेन नेपाल’को स्थापनाको आधार बन्यो । भेट कसरी भएको थियो र किन ?

डाइमनशमशेर राणाको एक उपन्यास ‘सेतो बाघ’ अत्यन्त लोकप्रिय र चर्चित भयो । डाइमनशमशेरले ‘सेतो बाघ’ बढी चर्चित भयो । ग्रेटा राणा पनि एक समर्थक लेखिका थिइन् । उनले ‘सेतो बाघ’को अंग्रेजीमा अनुवाद गरिन् । त्यो विदेशमा पनि पढियो । पछि ‘पेन नेपाल’मा डाइमनशमशेरसँग भेट हुँदा भन्थेँ– ‘त्यही अंग्रेजीबाट त्यो फ्रेन्चमा पनि अनुवाद भएको छ । अरू भाषामा पनि हुँदैछ मलाई त यसैको रोयल्टीले बसीबसी खान पुग्छ ।’

वास्तवमा यसको मूलमा त ग्रेटा राणा नै थिइन । तिनताका म ‘विमर्श’ वा त्यसै समूहको कुनै अखबारमा स्तम्भ लेख्थेँ । त्यसैले एकदिन खोज्दैखोज्दै ग्रेटा राणासँग अन्तर्वार्ताका लागि समय मागेँ । उनी खुसी भइन् । त्यसबखत उनी ‘माउन्टेनियरिङ, जलवायु’ आदि के केसँग सम्बन्ध संस्थामा काम गर्थित् । मैले उनको अन्तर्वार्ता उनकै अफिसमा गएर लिएको थिएँ । ग्रेटा राणासँग त्यही क्रममा परिचय भयो ।
उनको स्वभाव मिलनसार थियो । अरू त्यसमा केही असहिष्ण्ुाता देखिए पनि, उनी हंशमुख मिलनसार भएकी लेखिका थिइन् ।

गे्रटा राणाले उपन्यास, कविता पनि लेखेकी छन् । उनको सम्भवतः प्रारम्भिक उपन्यास ‘घोस्ट इन् बाम्बु’ थियो, नभए पनि प्रारम्भिकमध्ये एक अवश्य थियो । त्यो मैले पढेको छु । त्यसमा ह्युमर, गम्भीरता र सन्देश सबको समिश्रण छ । त्यो एक राम्रो र उच्च कोटीको उपन्यास हो । अंग्रेजीमा हुनाले नेपाली पाठकमा त्यति चर्चित भएन । ग्रेटाका अन्य कृति पनि अंग्रेजीमै छन् । त्यही कारण हो, त्यही कारण लेखिकाका रूपमा नेपालीको कम परिचय बन्यो । उही ‘सेतो बाघ’की अनुवादिकाका रूपमा उनी परिचित भइन् । तर उनको मौलिक लेखन धेरै धेरै उच्च छ । उनले अनुवाद गराउन आफैं पनि धेरै रुचि लिइनन् कि ? नत्र त उनको मौलिक लेखनको बलियोपन सबैलाई थाहा हुन्थ्यो ।
ग्रेटा मेरै समकालीन हुन् । पछि व्यक्तिगत भेटघाटको क्रममा बुझ्दै जाँदा केही महिनाको फरकबाहेक, उनको र मेरो जन्मवर्ष उही रहेछ ।

बेलायतकी उनी । यहाँ मधुकर राणासँग विवाह गरेर आइन् । कतिपय वातावरण संरक्षणका अभियानसँग पनि जोडिइन् । पेन नेपाल’ की एक प्रमुख संस्थापक बनिन् ।
यसै वर्षको बैशाखमा ‘पेन’का एक पदाधिकारीले बताएका थिए– ‘हामी तपाईंहरू तीनजनाको सम्मान गर्ने भएका छौं, तपाईं ग्रेटा राणा र ………’ तेस्रो नाउँ अहिले मेरो सम्झनामा छैन । मैले भन्ने– ‘हामी पेन नेपाल’का संस्थापक हौं, धेरै समयसम्म ‘पेनसँग जोडिएका थियौं । ग्रेटा राणा त्यसकी एक प्रमुख व्यक्तित्व सँधैं भइरहिन् त्यसबखत ।

उनले, सम्मान गर्ने त भने, तर कहिले गर्ने भनेर भनेनन् सम्भवतः मिति तोकिएको थिएन होला संस्थामा । ग्रेटालाई फोन गरे फोन उठेन । यो चाहिँ अलि हालकै कुरा हो ।

ग्रेटाकहाँ म धेरै पटक गएको छु । भेट्नभन्दा भन्थिन्– फोन गरेर आउनु होला । मैले भने– ‘ग्रेटाजी फोन गरेर समय लिएरै आउँछु नि ।’ म त्यसै गर्थेँ पनि ।

–‘ग्रेटाजी कहिले फुर्सत हुन्छ ?’

–‘भोलि आउनुस् ३ बजे ।’

गएपछि पुग्न वा खोज्न एक घण्टा अनि कुराकानी लगभग दुई घण्टा । त्यसकारण म अलिक दिनमै भेट्न चाहन्थे । भन्थेँ १२ बजेतिर हुँदैन ?’

‘हुन्छ आउनुस् ।’

जाउलाखेलमा, हरेक पटक अलिक बेर खोज्नै पथ्र्याे ट्याक्सीमा हेर्दै जान्थेँ शालिग्राम लेखेको बोर्ड । त्यो कहिले पछि छुट्थ्यो, कहिले अगि ओर्लन्थेँ । हिँडेरै खोजुँ भनेर ।

भेटेपछि साहित्यिक कुरा, ‘पेन नेपाल’का कुरा उनी के लेख्दैछिन्, त्यसका कुरा केही व्यक्तिगत कुरा, आदिआदि । दुई घण्टा छिनमै बितेजस्तो लाग्थ्यो कुकिज र कफी, कहिले केक पनि लिएर एक वा कहिलेकाहीँ दुई कप कफीसँग भएका ती आन्तरिक क्षणिकहरू मेरा लागि अत्यन्त महत्वपूर्ण छन् ।

एकपटक ग्रेटाको युवावस्थाको पासपोर्ट साइजको फोटा, उनको कुनै पुस्तकसँग मकहाँ आयो । मैले ग्रेटालाई फर्काउन भनेर त्यो खल्तीमा हालेँ । कुनैबेला साथीहरूका साथ हुँदा त्यो फोटो खल्तीबाट भुइँमा झर्‍यो । मैले टिपे । तिनले पनि त्यो हेरे । भने– यो केटी को हो ? तेरो त होइन, यो कुरा पछि मैले ग्रेटालाई पनि सुनाइदिएँ । त्यसबखत त्यहाँ अन्य महिला पनि थिए । ग्रेटा बेस्सरी हाँसिन् र त्यस बखत र अरू बेला पनि उनी सुनाउने गर्थिन् । ‘मैले फोटोले उसको साथीहरूले उसको गर्लफ्रेन्डको फोटो भन्ठान्यो हा, हा, हा, ।

म अलिक लज्जितजस्तो देखिन्थेँ । यो सुनाउनुको आशय के हो भने, उनी त्यति खुल्ला मनकी ठट्टा गर्नेमात्र होइन, ठट्टा मन पराउने पनि थिइन् । उनका केही नातेदार पनि आउँथेँ कहिलेकाहीँ । सब राणा परिवार वा अन्य अभिजात वर्गका मधुकरशमशेरलाई पनि भेट्थेँ रमाइलै हुन्थ्यो ।

एक पटक उनले तस्बिरहरूको बीचमा एकजना त्यो रानीसाहेबको तस्बिर पनि देखाइन् । जो वीरगन्जकी थिइन् । रानीसाहेबको दरबार भन्थे । उनको वीरगन्जको घटना पनि छ, तर उनलाई मैले कहिल्यै देखिनँ । ग्रेटाकहाँ तस्बिरमा पो देखेँ । उनले आफ्ना केही स–साना केटाकेटीसँग पनि चिनाएका थिए । ती त अब ठूला भइसके होलान् ।

यसरी ग्रेटासँग मेरो लामो र राम्रो र बौद्धिक र व्यक्तिगत सम्बन्ध रह्यो । हामी सधैं शिष्ट र आत्मीय सम्बन्ध रह्यो । केही समयदेखि ग्रेटालाई फोन गर्थेँ उठिरहेको थिएन । धेरै अगिदेखि उनी माइग्रेन छ भन्थिन् । हामीले र सम्भवतः उनको पनि सामान्य नै लिएकी होलिन् । सामान्य औषधिले निको हुने । यस पटक एक महिना भयो होला, बढी नै पनि जहिले फोन ग¥यो, घण्टी जान्छ, उठ्दैन । ग्रेटा त्यस्तो होइनन् । थाहा पाउँदा कल ब्याक पनि गर्थिन् । के थाहा अचानक यस्तो हुन्छ ? श्रीमा (बुहारी) ले बताइन् ग्रेटा राणाको निधन भयो । धेरैको लेख्नु ? सुन्नासाथ म त … अत्यन्त दुःखी भएँ । आत्माको शान्तिको कामना गर्दै भन्छु ‘पेन नेपाल’मा ग्रेटा नभएको भए त्यति चाँडो आउँदैन थियो, जति चाँडो आयो एक आत्मीय मित्र गुमाएको दुःख अनुभव गर्दैछु भित्रैदेखि ।