देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शान्ति खै कता ?


मन कति दुखेको छ कसले महसुस गर्न सक्छ र ?
भित्र कति चोट लागेको छ कसले देख्न सक्छ र ?

मुटुको धड्कनको माया
हृदयको संवेदनशीलताको सपना
चकनाचुर भएका ऐनाजस्तो
केही देखिँदैनन्, सिवाय टुटफुट
भएका
दुर्घटित डरलाग्दो आकृति बनेर
सर्वाङ्गीण तहसनहस गरिरहेका

आवाज सुन्दा रोमाञ्चित हुने
नयाँ युग देखाउने क्षितिजको लालिमा
खग्रास ग्रहणको अँध्यारोमा रूपान्तरित
दिउँसै मैनबत्ती बाल्नुपर्ने सेरोफेरो

त्यसैले, हो त्यसैले
उज्यालोको खोजीमा
पखेटा लागेकाहरू दूर परदेश उडे
बुद्धिमान पुर्खाले सग्लो राखेको बेंसीका खेतहरूमा
धानको बाला झुल्न छोडे
लेकबाट गाउँ नै स¥यो बेंसीमा ती फाँट सक्दै

डाँडा माथिको म टोलाइरहेको
भत्केको घर, सुकेको कुलो, बाझो खेत हेरेर
सकी नसकी म अझै हिँड्दै छु
सपना साँचेर होइन
त्यो त जीवनको भ्रम रहेछ
उमेरको उद्वेगलाई पापीहरूले खेलाएका रहेछन्

भुलभुलैयामा सारा जीवन गुमाएको मान्छेको
केही चेतना बल्ल अविर्भूत भएको
यी हल्लाखोरहरू सब अर्थहीन हुन्
बेकार, झल्लु, परजीवी हुन्
त्यसैले यिनको वर होइन पर बस्न चाहन्छु

जहाँ यी पापीहरूले देखाएको सपना हुन्न
जहाँ उत्प्रेरित राज्यको लोभी आँखा अझै पुगेको छैन
जहाँ सम्बन्धको निकृष्ट पहुँच हुँदैन
त्यहाँ मात्र स्पर्श महसुस गर्दछु शान्तिको
ॐ शान्तिः शान्तिः शान्तिः ।