देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थाङ्नामा सुताइएका गुडिया


जे थियो केही उज्यालो त्यो बचेको थियो
मैले उज्यालोको चहकदार पुञ्ज नै खोजे
टनेलबाट आएकाले बचेको पनि क्रमशः निले
खग्रास ग्रहण लागेको दिनजस्तो अँध्यारो
झ्याउँकिरीजस्तो आल्हादित भएका यी
रोमाञ्चित आवेगमा मुक्ति–गीत गाइरहेका
झ्याउ–झ्याउ, हैरान लाग्दो झ्याउ–झ्याउ
अनवरत एकोहोरो कहिले नटुंगिने आवाज
गडगडाउँदो टुकुचाको भेलजस्तो
कतै छोपिएर, कतै उधारिएर, कतै खुला
एउटा जङ्गलको चक्रमा, अर्को सहरको बक्रमा
यसरी जहाँ पायो त्यही भोजन
झुसिलो डकारको दुर्गन्ध हटाउन
बाँडिएका पाचकका पुडियाहरू
थाङ्नामा सुताइएका गुडिया सरह बनाइए सबैलाई
यस्तो क्रमभङ्गबाट स्वाधीनताका इमारतहरू
एकपछि अर्को ढाल्दै गएका छन्
उज्यालो निल्नेहरू यो कायर पुरुषार्थमा
घनिभूत अँध्यारो ताण्डव नृत्य गरिरहेका छन्

खरानीबाट बिउँतिने अमरपक्षी सरह
चेतनाको पुञ्ज बनेर बिउँतिन प¥यो
वास्तविक मुक्ति खोज्ने समय आयो
उज्यालो खानेहरूको अवशानमा मात्र
पूर्वाहुतीको उज्यालो यहाँ उघ्रिने छ
अनि त म भन्छु– युद्ध आवश्यक होइन,
आवश्यकताको नेटो त कटी नै सक्यो
अब त युद्ध अनिवार्य छ, यहाँ
उज्यालो निल्नेहरूलाई रोक्न ।