देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सूर्यको राप र रविको तापमा स्वाहा ! 


लठजी आज्ञा गर्नुहुन्छ, हे बैरी हो । तिमीहरूलाई मैले चौथो अध्यायमा सुनको कचौरामा सिलावरको सिक्का माग्नेहरूबाट आशा गर्नु बेकार छ भन्ने कथा सुनाए ।  आज मकरसंक्रान्ति । आजैबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई महत्वपूर्ण मानिन्छ । यो शासकहरूका लागि मात्र सुखद पनि देखिन्छ । किनभने अहिलेको शासकहरूका लागि कुनै पनि प्रतिपक्ष नभएकाले जसरी हुन्छ लुड्याउने भन्ने मात्र इच्छा देखिन्छ ।
अर्को कुरा । सूर्य दक्षिण गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले तिमीलाई शासन गर्ने नाइकेहरू पनि विगतमा दक्षिणबाट चल्ने भए पनि अहिले उत्तर र समुन्द्र पारितिर पनि लस्केकाले तिम्रा नाइकेहरूले सुख भोग गर्नेछन् र तिमीहरूका दुःखका दिन सुरु भएर जानेछन् ।

लठजीको आज्ञा सुनी बैरीहरू बिन्ती गर्दछन् । हे लठ महाराज सधैं दक्षिणबाट सञ्चालित हाम्रा शासकहरू उत्तरतर्फ लस्केको पनि एक दशक नै हुन लागिसक्यो । तर पनि कुनै परिवर्तन भएको देखिँदैन ! सात समुन्द्र पारिबाट आएका फिरंगीहरूबाट के आशा गर्न सकिएला कि नसकिएला बिन्ती गर्नुहवस् ?

बैरीहरूको जिज्ञासा सनेर लठजी मन्द मुस्कुराउँदै आज्ञा गर्दछन्, है बैरी हो अब विस्तारमा भन्छु सुन । मकर संक्रान्तिका दिनदेखि धनु राशिबाट मकर राशिमा प्रवेश अर्थात् संक्रमण गर्ने सूर्यको रापले त्यही सूर्यको किरण अर्थात् रविको तापलाई पनि स्वाहा बनाउने संकेत देखिएको छ । तिमीहरूले भने जस्तै जुन सोचले सात समुद्र पारिबाट आएका फिरंगीहरूलाई तिमीहरूले विश्वास गरेका छौं त्यसबाट तिमीहरूले केही पनि पाउँदैनौं ।

कसरी भने शासन गर्ने नाइके जब भाषणमा उत्रन्छ त्यसबाट अपेक्षा नगर्नु । जसरी छिमेकी देशको इतिहासमा झाँसीकी रानी भन्ने कथा तिमीहरूले सुनेका हौला त्यस्तै फिंरिगीहरूले तिम्रा सन्तानहरूलाई प्रयोग गर्नेछन् । अनि आफ्नो स्वार्थसिद्ध भए पनि आफ्नो बाटो लाग्ने छन् । अहिले देखिएका तिम्रा अनुहारका फिरंगीहरू पनि तिनै हुन् । यिनीहरू जसरी हुन्छ शक्तिमा रहिरहने र आफ्नो स्वार्थ पूरा गर्ने दाउ हेरिरहेका छन् ।

यतिखेर सूर्यको रापको वरपर जसरी न्यायो मानेर बसिरहेका देखिन्छन् त्यसले बैरीहरूलाई सत्यानाश गर्नेछन् । शासन सम्हाल्नेहरूलाई जब प्रतिपक्ष भन्नेको कुनै भूमिका नै नभई उही सत्तापक्ष जस्तो देखिन्छ त्यसबाट जनजनले धोका पाउने छन् । फिरंगीहरूको काम भनेको नेतृत्व आफैंले लिने र जनजनलाई ‘मुखमा राम राम बगलीमा छुरा’ भने जस्तै स्वाहा बनाउने नै हो ।

अहिले तिमीहरूले महसुस गरेका छौ कि छैनौं । मंसिर ४ गते गते अघिसम्म ‘नो नट अगेन’ भन्दै स्यालहुँइया गर्नेहरू अहिले ‘बा’ पथमा लम्किसकेका छन् । मंसिर ४ गते धार्मिक दृष्टिकोणबाट पनि निकै नै उपयुक्त थियो । सो दिन उत्पत्ति एकादशी भएका कारणले सत्ययुगमा भगवान्देखि कलियुगका जनजनका लागि पनि राष्ट्रको अनुष्ठाका लागि महत्वपूर्ण नै मानिन्छ ।

तर, अहिले त्यो परिस्थिति रहेन । जसरी सत्ययुगमा उत्पत्ति एकादशीकै दिन ‘मुर’ नामक दानवले देवराज इन्द्रलाई इन्द्रासनबाट हटाई स्वर्गमाथि आफ्नो आधिपत्य  जमाएको थियो । त्यस बेला देवताहरूले निकै नै दुःख भोग्नु परेको थियो । त्यस्तै २०४६ सालबाट हिमालखण्डको नेपाल भन्ने देशमा पनि कलियुगका ‘मुर’ हरूले आधिपत्य जमाए तिमीहरूले दुख पाएका हौं । मंसिर ४ गतेकै दिनबाट तीन दशकसम्म लुट मच्चाइरहेको कलियुगका ‘मुर’ लाई ठेगान लगाउने प्रयत्न बैरीहरूले त गरे तर त्यसबाट ‘फिरंगी’ले मस्त लिने देखिएको छ ।

अहिले फिरंगीहरू जसले आफ्नो मातृभूमिलाई तिलाञ्जली दिएर गएका थिए । तीबाट राष्ट्र, राष्ट्रियताको कुरा मात्र हुने छ काम हुने छैन । जनताले जसरी तीन दशकदेखि ‘मुर’बाट दुःख भोग्नु परेको थियो त्यस्तै नै हुने देखिन्छ । तीन दशकसम्म कलियुगका ‘मुर’ बाट भोग्नु परेको पीडालाई मंसिर ४ गते केही मात्रामा भए पनि राहत त पाए । तर फिरंगीका भेषमा सदा रहने कुचेष्टा गर्ने देखिएकाले नै त्यो दिनको अनुष्ठाले पनि काम नगर्ने हो कि भन्ने देखिएको छ ।
कसरी भन्छौं होला भने, कलियुगमा ‘नो नट अगेन’ र ‘बा’ हरूलाई विश्राम दिनुपर्छ भन्दै अहिले त्यही ‘बा’हरूलाई शीर्षस्थ स्थानमा पु¥याएर तिनकै आशीर्वाद लिँदै कथा सुन्ने काम गरेको देखियो त्यसले अर्को ‘मुर’ को जन्म भएको हो कि भन्ने त्रास फैलिएको छ ।

ती  नै ‘मुर’ रूपी ‘बा’ हरूबाट कथा सुन्ने र भावी सन्ततिलाई पनि सुनाउने कुचेष्टा गर्ने फिरंगीहरूबाट नयाँ नयाँ कलियुगका ‘मुर’ ले गरेका कुकृत्य सन्नु र भोग्नुबाहेक केही पनि छैन ।

लठजीको आज्ञा सुनी बैरीहरू फेरि बिन्ती गर्दछन्, त्यसो भए अब बैरीजनहरूले के गर्दा उपयुक्त होला त प्रभु ?

हे बैरीहरू हो, अब तिम्रा नाइकेहरू नै प्रभुबाट चलेकाले यसै हुन्छ भन्न सकिँदैन । छिनछिनमा नै छेपारोले रंग फेरेजस्तै आफ्नो बोली फेर्ने तिम्रा नाइकेहरूलाई कसरी पो चिन्नु । ‘रात रहे औराख पलाउँछ’ भने झै आफ्ना अडानमा नभएका मंसिर ४ गते उत्पत्ति एकादशीजस्तो महत्वपूर्ण दिनबाट उत्पत्ति भएकाहरू माथि नै शंका उत्पन्न हुन थालेको छ । यस्तो देखिएकाले जसरी सत्ययुगमा इन्द्रसमेत ‘मुर’बाट छुटकारा पाउन भगवान् विष्णुको शरणमा गएका थिए । त्यसैगरी तिमीहरू अब ‘एउटा एउटा  झुन्डझुन्ड भएर होइन’ आ–आफ्ना नाइकेहरूले गरेका कुकृत्यका विरुद्ध बोल्न थाल्यौ भने मात्र तिमीहरूका सुखका दिन आउँला तिम्रा सन्ततीले समेत आफ्नै मातृभूमिलाई स्वर्ग जस्तो बनाउन सक्नेछन् । सुख भोग गर्नेछन् अनि समृद्धि ल्याउन सक्नेछन् ।

तिमीहरूको मातृभूमि संसारमा सबैभन्दा उत्कृष्ट र स्वर्ग भए पनि तिम्रा नाइकहरूले यसलाई नर्क बनाएका छन् । स्वर्गजस्तो देशलाई नर्क जस्तो बनाउने फिरंगीहरूबाट चल्नेहरूलाई चारपाटा मुडेर सात डाँडा कटाउनेतिर नै ध्यान देऊ अन्यथा उही सतीले सरापेको देश जस्तै हुनेछ ।