देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भीम धितालको निरन्तर सांगीतिक यात्रा

देशान्तर


काठमाडौं । सल्यानमा जन्मिएर संघीय राजधानीलाई कर्मथलो बनाएका युवा व्यवसायी भीम धिताल (स्माइल)ले नेपाली संगीतको क्षेत्रमा आफूलाई निरन्तर विभिन्न रूपमा उभ्याएका छन् । विगत चार वर्ष अघिदेखि यो क्षेत्रमा जोडिएका धितालले गीतसंगीत निर्माण, अभिनय, र निर्देशनमा समेत जोडिएर सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका हुन् ।
पुष्कल शर्माको स्वर रहेको ‘माया चोखो छ’ बोलको गीतबाट अभिनय यात्रा थालेका भीमले राजु परियार र शान्तिश्री परियारको स्वरमा रहेको ‘माया चोखो छ २’ मा पनि अभिनय गरे । उनलाई अभिनयमा सगुना शाही र सारिका केसीले साथ दिएका छन् । दुवै भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी हुन् ।
भीमले त्यसयता अभिनयसँगै निर्माण र निर्देशनमा हात हालेका छन् । आफ्नै नामको अफिसियल युट्युब च्यानल सञ्चालन गरेका धितालले केही दिनपहिले आफ्नै लगानीमा ‘एउटा खुसी’ बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । अन्जु पन्त र विशाल निरौलाको स्वर रहेको यो गीतको भिडियोमार्फत उनले निर्देशनमा समेत हात हालेका छन् ।
गीतसंगीतलाई पनि व्यावसायिक रूपमा अगाडि लैजाने उद्देश्यले आफ्नै अफिसियल युट्युब च्यानल सञ्चालनमा ल्याएको बताउने धितालले राम्रो र गुणस्तरीय शब्द संगीत पाउँदा आफैं लगानी गर्ने गरेको देशान्तरलाई बताएका छन् । गीतसंगीतको बजार खस्कँदै गएको तर गीतसंगीतमा लगानी महँगो हुँदै गएको बताउने भीमले गीतसंगीत निर्माण गर्दा सहकार्यमा जोड दिनुपर्ने बताए । निर्मातालाई जोगाउन सकेमात्र निरन्तरता हुने उनको भनाइ छ । धितालले केही समयपछि प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द र प्रसिद्ध संगीतकार अर्जुन पोख्रेलको संगीतमा तयार भएको युगल गीत सार्वजनिक गर्ने जानकारी पनि दिएका छन् । गीतको अडियो मीठो बनेकोले भिडियोमा पनि मेहनत गर्ने टिमसँग सल्लाह भइरहेको र यो गीत दर्शकश्रोताले मन पराउनेमा आशावादी रहेको उनले बताए ।
धितालले आफूसँग जोडिएका सर्जक सिर्जनाले राम्रो व्यापार गरेको खण्डमा सर्जकलाई आम्दानीको केही हिस्सा दिनेसमेत बताएका छन् । उनले त्यसका लागि सहकार्य गर्ने सर्जक स्रष्टा कलाकारहरूले आफ्नै सम्पत्ति ठानेर स्तरीय सिर्जना बनाउनेतर्फ जोड दिनु पर्ने आवश्यकता पनि औंल्याएका छन् ।