देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रंगीबिरंगी सेतो जंगलमा छिरेपछि …  


लठ जी आज्ञा गर्नुहुन्छ हे बैरी हो ? बुझेर पनि कुरा बुझ पचाउनेहरूले गर्दा हिमालखण्डका जंगलहरूमा हरेक वर्ष हिउँदमा विदेशी चराहरू सयर गर्न नेपालका जंगलमा आउने गर्दा रहेछन् । पछिल्लो १७ वटा हिउँद बितिसक्न लाग्दा फरकफरक रूप धारण गरी चराचुरुंगी चरा आउने नेपाली मनुवाहरूले पत्तै पाएका रहेनछन् ।

पछिल्लो अवस्थामा भने त्यस्तो रूप धारण गरेर आउने चराचुरुंगीको बारेमा निकै चर्चा र बहस हुन थालेछ । बहस पनि कहिले तारे होटल त कहिले माले होटलमा हुने गरेको मनुवाहरूले निकै ढिलो पत्ता लगाएछन् ।
राजऽतन्त्रको समापन गरी गनऽतन्त्रलाई बोलाउने भन्दै फिरिंगीहरूले कहिले के काण्ड त कहिले के काण्ड मच्चाउँदै नेपाली मनुवाहरूलाई दिनुसम्म दुःख दिएछन् । धनयुद्धदेखि सत्तायुद्धसम्मका लागि यस्ता चराचुरुंगीहरूलाई फिरंगीहरूले सातै समुद्रपारिबाट पठाएका दूतहरूले गर्नुसम्म गरेपछि धनयुद्धमा लडेका मुग्लानतिर भासिएछन् ।

लठजीको आज्ञा सुनी बैरीहरू बिन्ती गर्छन्, हे लठजी पछिल्लो समय सेता जंगलमा देखिएका रंगीबिरंगी चराहरू कुन गँुढबाट कसरी फुत्त आए बिन्ती गर्नु होस् । लठजी आज्ञा गर्छन्, हे बैरी हो तिमीहरूले भने जस्तो सजिलै नेपाल देशको केन्द्रीय सेतो जंगलमा त्यस्सै चराचुरुंगी प्रवेश गरेका छैनन् । फरकफरक तत्व लिएर फरकफरक फिरंगीहरूको फेरो समोतर तिनीहरूको आएको देखिएको छ । नपत्याए हरेक दस वर्षभित्र भएका गतिविधिहरूलाई नियाल ।
यो वर्षको हिउँदमा भने बानेश्वरतिरको सेतो जंगलमा मानिसका अनुहार जस्तै देखिने रंगीचंगी पुस ७ गते एकाएक छिरेछन् । मंसिर ४ गते विभिन्न परऽदेश र संघका लागि जंगलबाट गाइने कीराहरूले लखेटेर ७ गते बानेश्वरसम्म पु¥याएछन् । सेता घरभित्र छिरेका त्यस्ता चराचुरुंगी कुनै राता कुनै पहँेला कुनै साना कुनै ठूला, कुनै समूहमा मिलेर कुनै एक्लै डुलेर आका रैछन् ।

मान्छे छिर्ने सेता जंगलमा रंगीबिरंगी फिरंगी चराहरू छिरेका छन् । तिनको पहिरन र लवजहरूले पक्कै पनि नेपाली मनुवाहरूले सुख पाउने लक्षण भने देखिएको छैन ।

लठजीको आज्ञा सुनेर बैरीहरू बिन्ती गर्दछन्, त्यसो भए एउटा पुस्ताले दुःख पाएको देखियो अब कति पुस्ताले सहनु पर्ने भयो त लठजी ।

लठजीले बैरीहरूको बिन्ती सुनेपछि भन्छन्, जबसम्म नेपाली मनुवाहरूले छानेका नाईको गाइने कीराहरू फिरंगीहरूको भेषमा नेपाल लोकमा घुमिरहन्छ तवसम्म यस्तै नै भइनै रहन्छ । अहिले पनि सेता जंगलमा छिरेका रंगीबिरंगी ती चराहरू कुनै न कुनै किसिमले फिरंगीहरूले चलाएका देखिन्छन् ।

कोही उत्तरबाट चलेका कोही दक्षिणबाट चलेका कोही समुन्द्रपारिबाट चलेका । जवसम्म यी गाइने कीराहरू परनिर्भर भएर अरूबाट चलिरहन्छन् तवसम्म अर्थात् तिम्रा भावी पुस्ताले पनि दुःख पाइनै रहन्छ । लठजीको कुरा सुनी बैरीहरू निकै चिन्तित देखिन्छन् र फेरि बिन्ती गर्छन् त्यसो भए अब नेपाली मनुवाहरूले के गर्दा हुन्छ त ?

बैरीहरूको कुरा सुनी लठजी आज्ञा गर्छन्, नेपाली मनुवाहरूको कहिल्यै पनि चेत खुल्दैन । आज एउटा कुरा गर्छन् पछि अर्कै कुरा गर्छन् त्यसकारण पनि यिनीहरू दुःखबाट पार पाउने संकेत देखिँदैन । यिनीहरू त उही पुराना ¥याले सिंगानेहरूको अधीनमा बस्न मन पराउँछन् । तिनीहरू दात्सवबाट मुक्त हुनै चाहँदैनन् । त्यसै पनि अहिले रंगीबिरंगी चरारूपी मालिकहरू जंगलभित्र प्रवेश गरेका छन् । त्यसमा पनि कोही अर्घांगिनी बोकेर हिँडेका छन्, कसैले भाइ, भतिज, साला, साली । त्यत्तिले नि भएन भने भाञ्जाभाञ्जी र तीन पुस्ताका फरियाका फेर समाएकालाई लिएर हिँडेका छन् ।

त्यसकारण अहिलेका यी नेपाली मनुवाहरू आधुनिक दासत्व स्वीकार गर्दै मालिकहरूको जयजय गरिरहेका छन् । मालिकहरू त्यही जयजयकारमा भुलिरहेका छन् । जन मनुवाका बालबच्चाहरू दुई गाँसको जोहो गर्नका लागि कोही खाडी पुगेका छन्, कोही मुग्लान छिरेका छन् कोही ऊँट चराउँदैछन् । कोही मरुभूमिमा पसिना बगाउँदै आफ्नो धर्ती सम्झिएर आफूले पहिले जयजयकार गरेका आफ्ना मालिकहरूलाई सम्झीसम्झी धिर्कादै छन् । त्यसैले यिनीहरूले मोक्ष प्राप्ति गर्ने देखिँदैन । त्यसैले पनि जंगलभित्र छिरेका गाइनेहरूले कोही संस्कृतमा कसम खाँदैछन्, कोही हिन्दीमा शपथ लिँदैछन्, कोही खस त कोही मगरात र थरूहट भन्दै बाँसको झ्यालमा सारौटे कराए जस्तै गरिरहेका छन् । यस्ता रंगीबिरंगी फिरंगका दूतबाट खासै आशा गर्नु तिमीहरू बैरी जस्तालाई ठूलो पाप लाग्नेछ ।

लठजीको कुरा सुनी फेरि बैरी किन्ती गर्छन्, हे लठ देव हामीले आफ्नै कारण यस्ता गाइने कीराहरू डसिनु परेको छ । सर्पलाई विष ख्वाएर हामीले अमृत खोज्नु हाम्रै मूर्खता हो । रंगीबिरंगी चराहरू सेतो जंगलभित्र पठाउने काम पनि जानी नजानी हामीले गरेका छौं । त्यस्तो पापबाट मुक्त गर्नका लागि के गर्नु पर्ला बिन्ती गर्नु होेस् !

बैरीहरूले आँखाबाट आँसु झार्दै लठजीसँग बिन्ती गरेपछि लठजी भन्नुहुन्छ, हे बैरी हो तिमीहरूले जे गरेका छौं त्यसको सजाय अब तिमीहरूले कम्तीमा पनि पाँच वर्ष भोग्नु नै पर्दछ । अहिलेको अवस्थालाई हेर्ने हो भने फिरंगीहरूले तिमीहरूलाई पाँच वर्षसम्म यस्तो पीडा भोग्न दिने छैनन् । तिमीहरूले पठाएका गाइने कीराहरू सेतो जंगलमा आफू आफंै लड्छन् र जतिसक्दो चाँडो तिमीहरूले नयाँ गाइने कीराको पठाउनुपर्ने देखिन्छ । अब अहिले पठाएका गाइने कीराहरूबाट आशा नगरी छिट्टै नै अर्को गाइने कीराहरूको तयारीका लागि फिरंगीहरू तयार भएर बसिरहेका छन् त्यसैले त्यसको प्रतीक्षा गरेर बस ।
लठजीको आज्ञा सुनी बैरीहरूले दस औंला जोडी गर्दै रंगीबिरंगी चरा जंगलमा छिरेकाले त्यसबाट कसरी बच्ने हो भन्दै बिन्ती गर्छन् ।