देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरीले तान्ने भएपछि एनआरएनएका नेताको भागाभाग

देशान्तर

काठमाडौं । आफूखसी विधानको व्याख्या गर्दै नियमावली बनाई महाधिवेशन प्रतिनिधि छानेपछि उत्पन्न विवादका कारण गत अक्टोबरमा हुनुपर्ने गैरआवासीय नेपाली संघको महाधिवेशन नै रोकिइरहेको अवस्थामा संघभित्र भएको अर्को बदमासीको पर्दाफास भएको छ । संसारभरका गैरआवासीय नेपालीहरूको सदस्यतासहितको विवरण राखिएको मेम्बरसिप इन्फर्मेसन सिस्टम (एमआईएस)मा नेतृत्वले गरेको बदमासीका बारेमा प्रहरीले नै अनुसन्धान अगाडि भएपछि संघका अध्यक्ष कुमार पन्तसहित उच्च पदाधिकारीहरूको भागामाग भएको छ ।

गत जुलाई ३० मा भएको एनआरएनए जापानको चुनावमा केन्द्रीय सचिवालयस्थित एमआईएस प्रणालीको चरम दुरुपयोग गरेको तथ्य यसअघि नै बाहिरिएको भए पनि सो विषयमा प्रहरीले नै अनुसन्धान थालेपछि संघभित्र हलचल भएको छ । तत्कालीन छानबिन समितिले दोषी सावित गरेका व्यक्तिहरूले नै फेरि चलखेल गर्न थालेपछि निर्वाचनका पीडितहरूले प्रहरीमा उजुरी गरेपछि नेपाल प्रहरीको साइबर ब्युरोले उक्त मुद्दाको अनुसन्धान प्रक्रिया अघि बढाएको छ । निर्वाचनमा सम्बन्धित व्यक्तिले नभएर अन्य व्यक्तिले आफूखुसी भोट हालेको देखिएपछि विवाद उत्पन्न भएको थियो ।

त्यसपछि एनआरएनए जापानद्वारा संस्थापक अध्यक्ष राजन प्रधानांंगको संयोजकत्वमा गठित छानबिन समितिले केही केन्द्रीय पदाधिकारीहरूको निर्देशन, एनआरएनए जापानकै केही एडमिन र सचिवालयका आईटी विभागमा कार्यरत कर्मचारीहरूको संलग्नतामा योजनाबद्ध रूपमा धाँधली गरिएको भन्ने सप्रमाण रिपोर्ट सार्वजनिक गरिएपछि उक्त घटनाको छानबिन गरी दोषीहरूविरुद्ध कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी परेपछि प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ । त्यतिबेला प्राविधिकसँग मिलेर इमेल ह्याक गर्ने संघकै केही पदाधिकारीले उक्त छानबिन रोक्न विभिन्न उपायहरू लगाए पनि सफल नभएपछि संघका नेताहरू पक्राउ पर्ने डरले विभिन्न बहाना गर्दै नेपाल छाडेका छन् ।

संघको आईटी विभागका कर्मचारीहरूसँग सोधपुछ गरिसकेपछि प्रहरीले थप बयानका लागि केन्द्रीय पदाधिकारीहरूलाई नै बोलाएको छ । कर्मचारीहरूको बयानपछि प्रहरीले प्रहरीले अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, सचिव गौरीराज जोशी, आईटी प्रमुख महेश श्रेष्ठ, एमआईएस निर्माणको जिम्मा लिएको इन्फिकेयर प्रालिका कर्मचारीलाई लिखित रूपमा नै बयानका लागि बोलाएको छ । प्रहरीले कर्मचारीहरूसँग बयान लिन थालेपछि पक्राउ परिने डरले अध्यक्ष कुमार पन्त जर्मनी गएका छन् भने उपाध्यक्ष केसी रुस फर्किएका छन् । महासचिव हेमराज शर्मा लन्डन पुगेका छन् ।

गैरआवासीय नेपाली संघ जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समीक्षा समितिले २९२ पृष्ठ लामो प्रतिवेदन जारी गर्दै एनआरएनए जापानको सदस्यता नरहेकाहरूद्वारा ६० वटा ग्रुप मेल तयार गरी २ हजार ९ सय ४ मत अनधिकृत रूपमा मतदान प्रक्रियामा राखिएको तथ्य भेटिएको जनाएको थियो । सिस्टम लगअनुसार १ हजार ७१३ सदस्यहरूको जानकारी बिना नै इमेल परिवर्तन गरिएको प्रतिवेदनमा उल्लेख छ । कुल ७ हजार ७ सय ५७ मत खसेकोमा गु्रप मेलबाट २ हजार ९०४ र सिंगल इमेल दर्ता भएकाबाट ४ हजार ८५३ मत खसेको पाइएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा नै बताइएको थियो । जापानभन्दा बाहिरबाट मतदान गर्न नपाइने भनिएकोमा नेपालको काठमाडौंसहित विभिन्न सहर तथा भारतका सहरबाटसमेत मतदान भएको निष्कर्ष निकालिएको थियो ।