देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनएको निर्वाचन त्रुटिपूर्ण,  युजर नेम र पासवर्डकै दुरुपयोग

सङ्घको वित्तीय सुशासनमा प्रश्न 

देशान्तर

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा  औँल्याएको छ । अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त गरी सङ्घको आइटी टिममार्फत मतदातालाई उपलब्ध गराएको  छानबिनका क्रममा पाइएको हो । 

महान्यायाधिवक्ता कार्यालयका सह महान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको छानबिन समितिले सम्झौता बमोजिम भेरो भोटिङको आधिकारिक प्रतिनिधि निर्वाचन स्थलमा भौतिक रूपमा उपस्थित नहुनुले कमजोरी देखिएको औँल्याएको छ । 

समितिको रिपोर्टमा भनिएको छ, ‘निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने निर्णयहरू निर्वाचन भइरहेको समयमा गरिएको, फेसियल बाइपास, भोटर डिटेल हेर्ने एक्सेस गैरआवासीय नेपाली सङ्घको आइटी सपोर्ट टिमलाई उपलब्ध गराएको पाइयो ।’ यस्तै फेसियल भेरिफिकेसन बाइपास सम्बन्धी विवरणको अभिलेख नराखेको, अन्य व्यक्तिहरूले हालेको मतदानको सम्बन्धमा कुनै छानबिन नगरी सो मतलाई रद्द गरेर पुनः मतदान गराएको पाइएको छानबिन समितिको निष्कर्ष छ । 

‘नेपालबाट मतदान गर्ने गरी दर्ता भएका ९ जनाको ग्लोबल बाट फेसियल भेरिफिकेसन बाइपास गरी मतदान गरेको र पाँच जनाको नेपाल तथा ग्लोबल दुवै तर्फबाट फेसियल भेरिफिकेसन बाइपास गरेको तथा निर्वाचनको परिणाम घोषणा हुँदा उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेल पराजित भएको सार्वजनिक गरिएको र तत्काल विवाद उत्पन्न भएपश्चात् पुनः घोषणा गरिएको पाइएकाले निर्वाचन त्रुटिपूर्ण देखिएको छ’, रिपोर्टको निष्कर्षमा भनिएको छ । 

सह महान्यायाधिवक्ता  चौहानको समितिले एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ वटा कारण देखाइएको छ । 

समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष निर्वाचन त्रुटिपूर्ण रहेको भन्दै प्रतिवेदन बुझाएको हो ।

गत अक्टोबरमा सम्पन्न महाधिवेशनको क्रममा भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका उम्मेदवार आरके शर्मा र महेश श्रेष्ठले दाबी  गर्दै आएको सन्दर्भमा छानबिन समितिले पनि यस्तो ठहर गरेको हो । यससँगै आफूलाई एकपक्षीय रूपमा अध्यक्ष घोषणा गरेका केसी नैतिक सङ्कटमा परेका छन् । 

लामो समयसम्म पनि एनआरएनएको विवाद समाधान हुन नसकेपछि तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रिपरिषद्बाटै निर्णय गराएर छानबिन समिति बनाएका थिए । छानबिन समितिले झन्डै डेढ महिना अध्ययन गरेर फागुन अन्तिममा हालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । 

चुनावमा धाँधली भएको भन्दै एक समूहले दिएको निवेदनका आधारमा यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा पनि धाँधली भएकै निष्कर्ष निकालेको थियो । 

ब्युरोको रिपोर्टमा  सङ्घको निर्वाचनबारे गम्भीर प्रश्न उठाइएको थियो । सीआईबीले अनुसन्धानका क्रममा निर्वाचन निष्पक्ष नदेखिएकाले अनलाइन भोटिङ गराउने कम्पनी ‘भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसन’ बाट मतदान गरेको स्थान निर्क्योल गर्नुपर्ने आवश्यकता समेत औँल्याएको थियो । 

गत कात्तिक ३ गते मध्य राति निर्वाचन सम्पन्न भएसँगै सार्वजनिक गरिएको मत परिणामअनुसार अध्यक्षका प्रत्याशीहरू आरके शर्मा र महेश श्रेष्ठभन्दा  बद्री केसीको मत बढी देखाएको थियो ।

तर, उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको काठमाडौँमा खसेको मत शून्य आएको तथा केही व्यक्तिहरूले मतदानै नगरी मतदान गरिसकेको भनेर इमेल आएको र पदाधिकारीहरूको जोड घटाउमा समेत मिस्टेक पाइएकाले धाँधली भएको भन्दै शर्मा र श्रेष्ठले मत परिणाम अस्वीकार गरेका थिए । सो पछि महेश समेतको समर्थनमा केसीविरुद्ध शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेर गतिविधि हुँदै आएको छ ।

विवाद समाधान नभएपछि माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले विवादबारे छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।  निर्णयअनुसार महान्यायाधिवक्ताको कार्यालयका सह महान्यायाधिवक्ता चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन भएको थियो । 

एनआरएनको इतिहासमा पहिलो पटक  भेरो नामक अनलाइन भोटिङमार्फत भएको एनआरएनए निर्वाचनमा काठमाडौँबाट भएको मतदानमा उपाध्यक्षका उम्मेदवार केशव पौडेलको मत शून्य मत देखियो । त्यसपछि अध्यक्ष त्रय बद्री केसी, कुल आचार्य र रविना थापाले एक विज्ञप्ति जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए ।

तीन अध्यक्षको निर्णय विपरीत भोलिपल्ट कात्तिक ४ गते मतदानमा बढी मत आएको भन्दै अध्यक्षका उम्मेदवार बद्री केसीलाई निर्वाचन समितिका सदस्य टिबी कार्कीले शपथ खुवाएपछि अध्यक्षका प्रतिस्पर्धी राजेन्द्रकुमार (आरके) शर्मा र महेश श्रेष्ठले अस्वीकार गरी समानान्तर अर्को कार्यसमिति बनाएर अगाडि बढेका थिए । त्यसपछि हाल  सम्म विवाद यथावत् रहेको छ ।

लेखाबारे छानबिन समितिको रिपोर्टमा के छ ?

छानबिन समितिले सङ्घको लेखा सम्बन्धी विषयमा पनि आफ्नो निष्कर्ष दिएको छ । जसमा मुख्य मुख्य खर्चको फाँट बरी र सम्बन्धित बिल भर्पाईहरू मगाइ समितिले स्थलगत रूपमा खर्चका पुस्टाइ सहितका कागजातहरू माग गरी छानबिन गरेको थियो । ‘आव २०७९।०८० को लेखा परीक्षण प्रतिवेदनले औँल्याएका कैफियतहरू फछौट गर्ने कार्य पूर्ण रूपमा भएको देखिएन । सङ्घलाई प्राप्त हुने सम्पूर्ण रकम मूल कोषमा जम्मा गरी सोही कोषबाट रकम निकासा गरी सबै खर्चहरू गर्नुपर्नेमा विभिन्न बैङ्कमा १८ वटा खाता खोलिएको र फरक फरक परियोजना तथा कार्यक्रमका लागि खोलिएका खाताहरूमा सोझै रकम जम्मा गरी खर्च गर्ने विगतदेखिको प्रचलन असल अभ्यासको रूपमा देखिएन’, समितिको प्रतिवेदनमा भनिएको छ।  

यस्तै वार्षिक शीर्षकगत तथा योजनागत कारोबारहरूको विषयगत खर्चमा रकम नभएको अवस्थामा समेत कोर फन्डबाट तत्काल खर्च गर्ने गरेको, विषयगत परियोजना तथा कार्यक्रमका लागि प्रतिबद्धता जनाइएका स्रोतहरूबाट रकम प्राप्त भएपश्चात् मात्र उक्त विषयगत परियोजना तथा कार्यक्रममा खर्च गर्नुपर्नेमा विषयगत खाता ऋणात्मक भएको अवस्थामा मूल कोषबाट रकमान्तर गरी खर्च गर्ने गरिएको देखिएको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै आयोजक समितिको स्वीकृति नलिई विश्व सम्मेलनको खर्च गरिएको समेत  समितिको निष्कर्ष छ । ‘खर्चको स्वीकृत मापदण्ड नभएकोले लागत अनुमान तयार गर्ने कार्यदेखि खर्च गर्ने कार्यसमेत यथार्थपरक भए नभएको यकिन गर्ने आधार स्पष्ट देखिएन’, रिपोर्टमा भनिएको छ, ‘कार्यक्रम सञ्चालनका लागि प्रतिस्पर्धात्मक रूपमा मितव्ययी र पारदर्शी हुने गरी सेवा प्रदायक छनोट लगायतका कार्य सञ्चालन गर्नुपर्नेमा सो को पूर्ण पालना भएको देखिएन।’

 नियममा व्यवस्था गरिएका केही खर्चका आधारभूत मापदण्डहरूको पालनालाई अन् देखा गरी विगत देखिनै सङ्घले विषयगत परियोजना र कार्यक्रमका साथै आकस्मिक प्रकृतिका खर्च गर्दै आएकोमा बदनियत पूर्ण रूपमा सङ्घको खर्च भई कोषको दुरुपयोग एवं हिनामिना भएको नदेखिए पनि सङ्घको वित्तीय सुशासन कायम गर्न प्रचलित नियम कानुनको पूर्ण परिपालना हुनुपर्ने देखिएको छानबिन समितिको ठहर छ ।