देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावमा गठवन्धन आवश्यक छैन : डा. महत

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले पार्टीलाई एक ढिक्का बनाउने जिम्मेवारी सभापति शेरबहादुर देउवाको भएको बताएका छन् । अहिले पार्टी भित्र केही असन्तुष्टिहरु रहे पनि विगतको जस्तो गुटवन्दी भने नरहेको उल्लेख गरे । साथै वर्तमान अवस्थामा सरकारको नेतृत्व नेपाली कांग्रेसले गठवन्धनका आधारमा गरेकाले सबै काम सोँचे जस्तो नभएको पनि उल्लेख गरे । यसैगरी पछिल्लो समय आगामी चुनावसम्म नै गठवन्धन हुनुपर्छ भनि पार्टीका केही नेताहरुले भनेको विषयमा कुरा गर्दै नेता महतले चुनावमा नेपाली कांग्रेस एक्लै चुनावमा जानुपर्नेमा जोड दिए । नेपाली कांग्रेस र अरु राजनीतिक दलहरुसँग विचार पनि नमिल्ने भएकाले एक्लै चुनावमा जानुपर्नेमा जोड दिए । देशान्तरका लागि मुक्तिबाबु रेग्मीले डा. महतसँग गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको राजनीति चुनावमा जाने कि मिति पर सार्ने भन्नेमा अल्झिरहेको छ, यस्तो अवस्थामा के गर्ने ?

यो विषयमा अहिले पार्टीमा छलफल भएर दृष्टिकोण बनिसकेको छैन । कानुनलाई संशोधन गर्नुपर्छ भनेर कानुनविद्हरूले पनि भन्याछन् क्यारे । कानुन संशोधन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइसकेको छैन ।

कांग्रेसको बैठकले अब के यस विषयमा निर्णय गर्छ त ?
अहिलेको अवस्थामा स्थानीय तहको निर्वाचन गर्ने कि, पर सार्ने कि तीन तहकै निर्वाचन एकै पटक गर्ने त्यो विषयमा पार्टीभित्र छलफल भएर निर्णय गर्नु उचित हुन्छ । यस विषयमा सरकारले पनि निर्णय गर्नुपर्छ । सरकारले निर्णय गर्नुभन्दा पहिला पार्टीले निर्णय गरेर अघि बढ्दा राम्रो हुन्छ ।

चुनाव कहिले गर्ने त ?
चुनावको विषयमा प्रधानमन्त्रीसँग निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको चुनाव गर्नुपर्छ भनेकाले वैशाखमै चुनाव हुन्छ होला भन्ने थियो । संविधान अनुरूप कानुन बनेन र अहिले कानुन संशोधन गरेर निर्वाचन सार्नुपर्छ भनेर कानुनविद्हरूले भनेका छन् । कति पछि सार्ने भन्ने कुरा अहिले नै भन्न सकिँदैन ।

कानुन संशोधन गरेर जाँदा त सत्ताको नेतृत्व गरेकालाई नै अप्ठ्यारो होला नि ?
संविधान संशोधन गर्न त सजिलो छैन । दुई तिहाइ बहुमत आवश्यक पर्छ । अहिले भनेको कानुन संशोधन  हो ।

अहिलेको अवस्थामा ब्याक फायर त तपाईंहरूलाई नै होला नि ?
कानुन संशोधन गर्न त अहिले पनि अप्ठ्यारो छ । प्रतिपक्षी दलले अहिले पनि संंसद् बहिष्कार गरिराखेको छ ।

वैशाखमा निर्वाचन गराउन कांग्रेस डराएको हो ?
नेपाली कांग्रेस चुनाव गराउन डराएको छैन । वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने भन्ने पनि थियो । अहिले पनि कतिपय साथीहरू वैशाखमै चुनाव गराउनु पर्छ भन्ने पनि छन् । तर कानुनविद्हरूले अहिलेको अवस्थामा संशोधन गरेर ६ महिना पर सार्न सकिने तर्क पनि गरिरहेका छन् । उनीहरूले कार्यकाल सकिएको ६ महिना अवधिभित्र गरे हुन्छ पनि भनिरहेका छन् ।

सत्तारूढ गठबन्धन एमालेसँग डराएकाले स्थानीय तहको निर्वाचन मंसिरमा गर्नुपर्छ भन्ने कुरा पनि हुने गर्छ ?
मंसिरमा स्थानीय तहको निर्वाचन गराउने विषयमा भन्न सकिने अवस्था छैन । त्यतिबेला त संसद्को चुनाव हो । त्यतिबेला संसद्को चुनाव हुनुपर्छ । यस्तो अवस्थामा पहिला संसद्को चुनाव गरेर स्थानीय तहको चुनाव गर्दा राम्रो हुन्छ । कतिपयले स्थानीय तहसहित तीन तहकै चुनाव एकै पटक गर्नुपर्छ भन्ने धारणा पनि निस्किएको छ । यही गर्ने भन्ने निर्णय भइसकेको छैन ।

तीन तहको निर्वाचन एकै पटक गर्न सम्भव छ ?
तीन  तहको निर्वाचन एकै पटक गर्न अलि कठिन नै हुन्छ । यो त्यति व्यावहारिक हुँदैन । स्थानीय निर्वाचनमा मात्रै धेरै पदाधिकारी (उम्मेदवार) हुन्छन् । त्यसपछि प्रदेश र केन्द्रको एकै पटक चुनाव गराउन त्यति व्यावहारिक हुँदैन । एकै पटक निर्वाचन हुँदा वित्तीय रूपले त अलि सजिलो होला तर व्यावहारिक हुँदैन ।

निर्वाचन आयोगले निर्वाचनको मिति तोक्नलाई विज्ञप्ति नै जारी गर्‍यो यसलाई कसरी बुझ्ने ?

निर्वाचन आयोगले निर्वाचनको मिति तोक्नका लागि विज्ञप्ति जारी गर्नु ठिक कुरा हो । निर्वाचन आयोग त स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने भन्ने विषयमा तयारी पनि गरिरहेको छ ।

आयोगले विपक्षी एमालेको भाषा बोल्यो, सरकारलाई दबाब दियो भन्ने पनि आरोप लाग्छ ?
स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धनमै एउटै विचार बनेको छैन । पाँचदलीय गठबन्धनमा पनि फरकफरक विचारहरू आएका छन् । कतिपयले वैशाखमा संंसदीय चुनाव गराउने कुरा पनि गरेको सुनेको छु, त्यो व्यावहारिक कुरा होइन । फेरि अहिले कोरोना संक्रमणका कारण स्थिति फेरि कठिन हुँदै गएको छ । अहिले निर्वाचन गराउनका लागि कोरोनाको कारण पनि अप्ठ्यारो अवस्था छ ।

गठबन्धन सरकारको मूल्यांकन कसरी गर्नुहुन्छ ?
यो गठबन्धनको सरकार हो । सरकारले कार्यशैली सही ढंगले गर्नुपर्छ  । राजनीतिक स्वार्थको लागिभन्दा पनि राष्ट्रको हितका लागि यो सरकार केन्द्रित बन्नुपर्छ । यसैगरी क्षमता पूर्णरूपमा काम गर्नुपर्छ । कार्यान्वयन तहमा अहिले ध्यान दिनुपर्छ । यसैगरी यो सरकारसँग जनताका धेरै अपेक्षाहरू छन् त्यसैले बढीभन्दा बढी प्रतिफल र जनताले सुशासनको प्रत्याभूति गर्ने हिसाबले अघि बढ्दा  राम्रो हुन्छ । यसैगरी राजनीतिक स्वार्थभन्दा माथि उठ्नु पनि पर्छ र सही ठाउँमा सही व्यक्ति नै हुनुपर्छ ।

के अहिले सरकारले सही ठाउँमा सही व्यक्ति पठाएको छ त ?
अहिलेको गठबन्धन सरकारका पनि कहीँ कहीँ कमजोरीहरू त देखिएका छन् । सबै ठाउँमा राम्रो छ भनेर त म भन्दिनँ । मन्त्रिमण्डलमा पनि जुन व्यक्ति जुन ठाउँमा उपयुक्त हुन्छ त्यही व्यक्तिलाई नियुक्त गर्नु राम्रो हुन्छ । तर अहिले त्यस्तो अवस्था भने देखिएको छैन ।

अहिले गठबन्धनको सरकार छ, यो गठबन्धन कहिलेसम्म ?
अहिले कुनै पनि पार्टीको बहुमत छैन । नेपाली कांग्रेसको पनि बहुमत नभएकाले पाँचदलीय गठबन्धन बनेर सरकार निर्माण भएको हो । सरकार चलाउनका लागि बहुमत नपुगेपछि गठबन्धन आवश्यक परेको हो । तर निर्वाचनमा पनि गठबन्धन गरेर जानुपर्छ भन्ने कुरा भने गर्नु हुँदैन । निर्वाचनमा नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धामा जानुपर्छ । चुनाव पछि बहुमत जुन पार्टीले ल्याउँछ त्यसैले सरकार बनाउँछ । यदि सरकार बनाउन कुनै दलको बहुमत पुगेन भने त्यतिबेला गठबन्धन फेरि बन्न सक्छ । गठबन्धनका आधारमा आम निर्वाचनमा जाने होइन । राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन पनि भयो । यसबाट परिणाम पनि निस्किसकेको छ । अब आम निर्वाचनमा भने सबै पार्टी एक्लाएक्लै मैदानमा उत्रनु पर्छ । एक्लै प्रतिस्पर्धाका लागि मैदानमा उत्रँदा नेपाली कांग्रेसले पनि आफ्ना एजेन्डाहरू जनतामाझ लैजान पाउँछ र आफूलाई फेरि स्थापित गर्न पनि सजिलो हुन्छ ।

तपाईंकै सभापतिले फेरि गठबन्धन भन्दै हुनुहुन्छ ?
सरकार बनाउनका लागि कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा गठबन्धनको सरकार बनाउनु पर्छ । अहिले त्यही आधारमा रहेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको हो । आम निर्वाचन लड्ने गठबन्धनकै आधारमा भन्ने कुरा पार्टीमा भएको छैन ।

तीन तहकै निर्वाचनमा गठबन्धन भनिन्छ त ?
तीन तहको निर्वाचनमा गठबन्धन गर्नु उचित होइन । अब आउने सबै चुनाव कांग्रेस एक्लै लड्नुपर्छ । जे जति स्थान आउँछ त्यो नेपाली कांग्रेसको बलबुतामा आउने हो । नेपाली कांग्रेसका एजेन्डाहरू गठबन्धनमै रहेका दलहरूसँग मिल्दैन । त्यसैले आफ्ना एजेन्डा लिएर नेपाली कांग्रेस एक्लै चुनावमा जानुपर्छ । गठबन्धन गरेर निर्वाचनमा जाँदा त एजेन्डा र घोषणापत्र पनि एउटै हुनुपर्‍यो । अहिलेको अवस्थामा सबै पार्टीको फरकफरक नै छ । अझ गठबन्धनमा रहेका अरू दल त कम्युनिस्ट पृष्ठभूमिका छन् । अहिले पनि एमसीसीजस्तो महत्वपूर्ण आयोजनाको पक्षमा नेपाली कांग्रेस रहेको छ । तर गठबन्धनकै अरू दलहरू यसको विपक्षमा छन् । त्यसैले विचार नीति कार्यक्रमहरू फरकफरक भएकाले नेपाली कांग्रेसले चुनावका लागि गठबन्धन गर्न उचित हुँदैन ।

त्यसो भए यो गठबन्धन किन र के का लागि भन्ने प्रश्न उठेन र ?
तत्कालीन एमाले नेतृत्वको सरकारले संंसद् विघटन गर्दाखेरि सबै पार्टीहरू एकतातिर भए । त्यतिबेला नेकपा पनि विभाजित भयो र एमालेबाट एकीकृत समाजवादी पार्टी पनि नयाँ बन्यो । संंसद्को विघटन संविधानविपरीत भएको हुनाले हामी सबै अरू पार्टी एक भयौं । सरकार बनाउँदा गठबन्धन बनेको हो । किनभने अरू पार्टीको बहुमत थिएन र पुगेन ।

भनेको अब चुनाव सिंगल, बहुमत आएन भने गठबन्धन ?
हो । विगतमा पनि हामीले चुनावमा सिंगल प्रतिस्पर्धा गरेका थियौं । पछि सरकार बन्ने अवस्था नभएपछि गठबन्धनको सरकार बनाएका थियौं ।

अहिलेको नेपाली कांग्रेसको नेतृत्वबाट कस्तो अपेक्षा गर्ने ?
नेपाली कांंग्रेस अब एक बन्नुपर्छ ।  पार्टीभित्र गुटबन्दी भएका कारण शक्ति संंघर्ष पनि भइराख्या छ । पार्टीभित्र शक्ति संघर्ष र गुटबन्दी गर्नु हुन्न । अब पार्टीभित्र एकता कायम गरेर अघि बढ्नुपर्छ । जे भए पनि आम निर्वाचनमा कांंग्रेसलाई पहिलो शक्ति बनाउनुपर्ने दायित्व हामी सबैको छ ।

पार्टीभित्र एकता कसले कायम गर्ने, सभापतिले हो ?
पार्टीभित्र एकता कायम गर्नका लागि सबै मिल्नुपर्छ । सबैभन्दा मुख्य भूमिका नेतृत्व (सभापति)कै हो । सबैले आफ्नो र गुटको स्वार्थभन्दा माथि उठेर एक हुन सक्नुपर्छ ।

तर, सभापति एक्लै हिँड्न थाल्नुभयो भन्दै तपार्इंहरू नै समूह बनाएर बस्नु भएको छ ?
हामीले समूह बनाएको होइन । निर्वाचनमा उहाँहरूले गुट बनाएपछि विपक्षमा रहेका हामीले पनि समूह निर्माण गरेका हौं । त्यसैले त्यतिबेला दुई पक्ष बन्यो । अब त म के भन्छु भने हामी सबै एक भएर जाउँ । आम निर्वाचनमा जाँदा नेपाली कांग्रेसले पार्टीभित्र एक भएर जानुपर्छ र गुटबन्दी नगरौंं भन्ने हो । अन्य लोकतान्त्रिक व्यवस्था भएका मलुकमा पनि नेपालको जस्तो तल्लो तहदेखि माथिल्लो तहसम्म गुटबन्दी भएको देखिँदैन । त्यसैले शक्ति संंघर्ष र प्रतिस्पर्धाका आधारमा अगाडि बढाउने हो भने गुटबन्दी तत्काल अन्त्य हुनुपर्छ । त्यसका लागि सभापतिसहित अहिलेको नेतृत्वले सबैलाई मिलाएर अगाडि लैजानुपर्छ ।

अबको कांग्रेस कस्तो कांग्रेस ?
अहिलेको कांग्रेस गुटबन्दीको सिकार भएको छ । अब गुटबन्दीभन्दा माथि उठ्नुपर्छ । अब गुटबन्दीका आधारमा होइन । सही ठाउँमा सही व्यक्तिलाई राखौं । पाटीले गुटबन्दीका आधारमा होइन कि सबैलाई मिलाएर एकता कायम गरेर अघि बढ्नुपर्छ । अबको आम निर्वाचनमा सफलता हात पारेर सरकारको नेतृत्व गर्नका लागि पनि कांंग्रेस एक भएर जानुको विकल्प छैन ।