देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापतिले विभेद गर्न थालेको कसैलाई पनि महसुस गराउनु हुँदैन : डा. गोविन्द पोखरेल

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले पार्टी सभापति शेरबहादुर देउवाले विभेद गर्न सुरु गर्न लागेको लक्षण देखाएको बताएका छन् । १४ औं महाधिवेशनबाट निर्वाचित भएपछि सभापति देउवाले आफूलाई सहयोग गर्ने या नगर्ने कसैलाई पनि विभेद नगर्ने बताए पनि केन्द्रीय कार्यसमितिमा मनोनीत गर्दा विभेदको राजनीति सुरु गरेको पोखरेलको भनाइ छ । यसरी अहिलेबाटै विभेदको राजनीति सुरु हुँदा यसले तल्लो तहसम्म असर गर्ने पनि संकेत गरेका छन् । देशान्तर साप्ताहिकका लागि मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै पोखरेलले आसन्न संसदीय निर्वाचनमा नेपाली कांग्रेस गठबन्धनबाट बाहिर निस्किएर प्रतिस्पर्धा गर्नुपर्ने र स्थानीय निर्वाचनमा प्रदेश र जिल्लालाई निर्णय गर्न अधिकार दिनुपर्नेमा पनि जोड दिएका छन् । नेतृत्वको पुस्तान्तरण र रूपान्तरणको एजेन्डा बोकेर १४ औं महाधिवेशनमा गएको उल्लेख गर्दै मतदाताले दिएको मतको सम्मान गर्दै अहिलेको पदाधिकारी तहमा देखिएको रूपान्तरणले सन्तुष्ट हुने ठाउँ पनि रहेको बताए । प्रस्तुत छ पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

पहिलो पटक कांग्रेसको केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनुभयो कस्तो फिल हुँदो रहेछ ?
म १३ औंं महाधिवेशनमा पनि केन्द्रीय सदस्यको प्रतिस्पर्धामा थिएँ । त्यतिबेला सफल हुन सकिनँ । यस पटक भएको १४  औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न सफल भइसकेको छ । निर्वाचित भइसकेपछि नेपाली कांग्रेसको एजेन्डामा छलफल गर्ने गरी बैठक नै भएको छैन । अहिलेसम्म दुई पटक बैठक बसेको छ । पहिलो पटक प्रमाणपत्र ग्रहण र अर्को भनेको राष्ट्रियसभा निर्वाचनको विषयमा छलफल भएको थियो । बैठक धेरै समय नबसेको कारणले हामी केन्द्रीय सदस्यहरूले बोल्न पाएका छैनौं । तर पनि मैले लिखित रूपमा भए पनि आफ्ना केही सुझाव र मतहरू सभापतिसहित पदाधिकारीलाई पेस गरेको छु । अब केन्द्रीय समिति कसरी फङ्सन गर्छ, त्यहाँ हामी कसरी प्रस्तुत हुन्छौंं पार्टीले समसामयिक राजनीतिक र आर्थिक विषयलाई कसरी सम्बोधन गर्नुपर्छ भन्ने कुराहरूमा अझै पनि सुरुआत गर्न पाएका छैनौंं ।

केन्द्रीय कार्यसमितिमा तपाईंले लिखितरूपमा राखेका प्रस्ताव के हुन् त ?
देशको आर्थिक अवस्थाको विषयमा कुरा उठाएको छु । खासगरी अहिले तरलतालगायत अन्य कारण देशको अर्थतन्त्र बिग्रिँदो अवस्थामा रहेको छ । तत्कालीन केपी ओली सरकारको साढे तीन वर्षको अवधिमा अर्थतन्त्र डामाडोल भएको थियो । त्यो बिग्रिएको अवस्थालाई सुधार गर्न अलि ढिला भयो । हामीले अर्थतन्त्रलाई ‘ब्याक टु ट्र्याक’ अर्थात् राम्रो लयमा अझै ल्याउन सकेका छैनौंं । यसलाई लयमा ल्याउनका लागि सरकार र दल जिम्मेवार हुँदै छलफल चलाउन पर्‍यो भन्ने एउटा कुुरा थियो । अर्को कुरा भनेको पूर्वाधारका आयोजनाहरूमा धेरै ढिला भयो । अहिले नारायणगढदेखि बुटवल पुग्न १० घण्टासम्म समय लाग्छ । यसैगरी अरू थुप्रै ठूलाठूला आयोजनाहरू सम्पन्न गर्न धेरै ढिला भयो । पुँजीगत खर्च भएन । सरकारको ढुकुटीमा पैसा थुप्रियो । त्यसकारण विकास खर्च कसरी बढाउने, पूर्वाधारको विकास कसरी गर्ने भन्ने विषयमा दल र सरकार जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्‍यो भन्ने पनि एजेन्डा थियो । यसैगरी अर्को एजेन्डा भनेको आदरणीय सभापति शेरबहादुर देउवाले निर्वाचित भएर प्रमाणपत्र ग्रहण गर्दा म अब सबैको सभापति हुँ महाधिवेशनमा मलाई भोट दिने या नदिने सबैलाई निष्पक्ष व्यवहार गर्छु भनेर भन्नु भएको थियो । तर उहाँले आन्तरिक प्रतिस्पर्धामा पराजित भएकाहरूलाई मनोनीत गर्दा उहाँले केही विभेद गर्नुभयो । एउटै पदमा पपुलर मत पाए पनि पराजित हुने उम्मेदवारलाई मनोनीत गर्नु भएन । तर आफूलाई मत दिनेलाई भने मनोनीत गर्नुभयो । त्यसैले विभेद नगर्नुस् भनेर प्रस्ताव गरेको छ । यसरी अहिलेबाटै विभेद सुरु भयो भने यसले तल्लोतहसम्म असर गर्छ । त्यसैले यसमा सभापतिले करेक्सन गरेर तल्लो तहसम्म एकताको सन्देश दिन जरुरी छ । केन्द्रीय कार्यसमितिमा मनोनयन गर्ने अधिकार सभापतिको हो । विधानले उहाँलाई नै अधिकार दिएको छ । अधिकार प्रयोग गर्दा विवेक पनि प्रयोग गर्नुपर्छ भन्ने कुरा वरीयता तोक्दा होस् वा मनोनीत गर्दा गरेको कार्यले प्रश्न त उठेको छ ।

तपाईंले दर्ता गरेको प्रस्तावमा प्रतिक्रिया आयो त ?
यस विषयमा केन्द्रीय समितिबाट प्रतिक्रिया नआए पनि बाहिर बहसको विषय भने बनेको छ । यसले केही न केही रूपमा ध्यानाकर्षण भने गरेको छ जस्तो मलाई लाग्छ ।

अहिलेको कांग्रेस नेतृत्वबाट के अपेक्षा गर्ने त ?
हामी नेतृत्व परिवर्तन हुनुपर्छ, रूपान्तरण हुनुपर्छ भनेर एउटा अभियानमा हिँडेका थियौंं । यसमा हामीले आंशिक सफलता हात पार्‍यौं । यो लोकतान्त्रिक प्रक्रिया हो । लोकतान्त्रिक पद्धति मानिसकेपछि मतदाताले जसरी मत जाहेर गर्नुहुन्छ त्यसलाई हामीले सम्मान गर्नुपर्छ । तथापि पदाधिकारी तहमा नयाँ पुस्ता र नयाँ अनुहार हेर्ने हो भने सन्तुष्ट गर्ने ठाउँ छ । अर्को कुरा सभापतिले दोस्रो कार्यकाल जित्दै गर्दा हार्ने व्यक्ति हाम्रो वरिष्ठ नेता डा. शेखर कोइरालाले पनि ४० प्रतिशत बढी मत ल्याउनु भएको छ । यसको मतलव के हो भने, पार्टीमा रूपान्तरण र पुस्तान्तरणका लागि आवाज उठाउनेको संख्या उल्लेख्य छ, त्यसलाई पनि आदर गरेर जानुपर्छ  । यसभन्दा अगाडि सभापतिको पदाधिकारीमा पकड थियो तर यस पटक मुख्य पदाधिकारीको रूपमा रहने महामन्त्रीमा उहाँको पकड कमजोर बनेको छ । अहिलेका दुवै जना महामन्त्री युवालाई माया गर्ने देशको भविष्यलाई अलि बढी चिन्ता गर्ने र धेरैले रुचाएका व्यक्तिहरू पनि हुनुहुन्छ यद्यपि हार्नु हुने पनि व्यक्ति बौद्धिक ब्यक्ति डा. मीनेन्द्र रिजाललगायत पनि हुनुहन्छ । त्यसैले अब आगामी दिनमा पहिलाजस्तो तदर्थवादबाट चलाउने अवस्था हुँदैन । यसैले विधि, विधानअनुसार मात्रै पार्टी चल्छ भन्ने अपेक्षा छ ।

सभापतिले केन्द्रीय कार्यसमितिमा मनोनीत गर्ने र राष्ट्रियसभामा उम्मेदवार चयन गर्ने कुरा हेर्दा त तपाईंले भनेका युवाहरूको भूमिका प्रभावकारी देखिएन नि ?

राष्ट्रियसभाको उम्मेदवार चयन गर्दा पदाधिकारी, पूर्वपदाधिकारीका साथै वरिष्ठ नेता डा. शेखर कोइराला पनि सहभागी हुनुहुन्थ्यो । अर्को दिन नै उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले समयअभावले हाम्रो तयारी पुगेन । तथापि प्रदेश कार्यसमितिले गरेको सिफारिसहरू पनि त्यहाँ कार्यान्वयन भएका छन् । सर्वसम्मतरूपमा उम्मेदवार टुंंग्याएर केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरिएको थियो । प्रक्रिया फास्ट ट्र्याकबाट छानिए पनि पहिला जस्तो तदर्थवादमा गरिएको थिएन ।

डा. शेखरलाई नचाहिएको वरीयता तपाईंहरूलाई किन चाहियो ?
पार्टीमा कसलाई कुन वरीयतामा राख्ने अधिकार पनि सभापतिलाई नै विधानले दिएको छ । तर हामीले भन्ने भनेको ४० प्रतिशत मतको सम्मान गरियोस् भन्ने हो । विधानमा नभए पनि व्यवहारामा ल्याएको पदाधिकारी र पूर्वपदाधिकारी बसेर निर्णय गर्ने जुन परम्परा बसालिएको छ, त्यसमा यो वरीयताले पनि अर्थ राख्छ । वरीयता दिनु भनेको पनि जनमतलाई सम्मान गर्नु हो । हामीले वरीयताको विषय उठान त गर्‍यौंं । वरिष्ठ नेता डा. शेखर कोइरालाले मलाई म्याइन्युटमा राखेको वरीयताले कुनै अर्थ राख्दैन । महाधिवेशन प्रतिनिधिले जुन स्थानमा राख्नु भयो त्यो नै मेरो स्थान भन्नु भएको छ । यो कुरालाई भोलि हामीले व्यवहारमा प्रमाणित गर्छौंं । अब हामीले विभिन्न जिल्लामा कार्यक्रमहरू राख्दाखेरि डा. शेखरलाई प्रमुख अतिथि बनाएर अघि बढ्छौं ।

शेखरले ४० प्रतिशत बढी मत पाए पनि समग्र कार्यसमितिमा त तपाईंहरू २५ प्रतिशत पनि हुनुहुन्न नि ?
बहुमत र अल्पमत, मसँग यति संख्या भन्ने हुँदैन । हामी सबै कांग्रेस हांैं । पार्टीभित्र विचार र बहसलाई गणितीय संख्याले फरक पार्दैन । महाधिवेशन सकिएपछि अब फलानो शेरबहादुर गुटको, शेखर गुटको भन्ने हुँदैन । त्यसकारण मसँग बहुमत छ भनेर देखाउने वा दम्भ प्रस्तुत गर्दा त्यसले कुनै अर्थ राख्दैन । यो संसद् होइन । संसद् भएको भए पो सत्तापक्ष र प्रतिपक्ष हुन्छ । यो त पार्टी हो । त्यसैले यो विधि संस्कार र पद्धतिको कुरा हो । किनभने अब हामी तीन तहको निर्वाचनमा जानुपर्छ । त्यहाँ अत्यधिक मतले नेपाली कांग्रेसलाई जिताउनुपर्ने हुन्छ । त्यतातर्फ केन्द्रित हुँदा अहिले हामीले बहुमत र अल्पमतको कुरा उठाउनु पनि हुँदैन ।

तपाईंहरूले गुटको भेला किन बोलाउनु भयो ? डा. शेखरले गुटबन्दी र भागबन्डाको राजनीति गर्दैन भनेको होइन यसले कांग्रेस एक बन्छ त ?

होइन होइन, हामीले भेला बोलाएको होइन । निर्वाचन भइसकेपछि थुप्रै नेताहरूले आफू पछाडि परेको महसुस गर्नु भएको छ । निर्वाचनमा दुई वटा प्यानल बनेर गएकै हो । त्यसमा जो जो मान्छेले डा. शेखर कोइरालालाई साथ दिएर उहाँको टिमबाट निर्वाचन लड्नु भएको थियो र उहाँको टिमबाट सफल हुन सक्नु भएन उहाँहरूलाई पनि उत्साह भर्नका लागि उहाँहरूको गतिशीलता पार्टी हितका लागि कायमै राख्नका लागि डा. शेखरले छलफल गर्नुपर्ने जरुरी थियो । यसो गर्दा आउँदा तीनै तहको निर्वाचनमा पार्टीलाई बलियो बनाएर जानु हो । अब डा. शेखरको गुटको कार्यक्रम भनेर अब हुँदैनन् ।

त्यो भेला एउटा गुट विशेषको हो र त्यो भेलाले अब पार्टीमा भाग खोज्नुपर्छ भन्ने कुराहरू पनि भएको छ ?
होइन । हाम्रो त्यो भेलामा स्पष्टरूपमा कुरा उठेको भनेको भागबन्डामा हामी जान हुँदैन । भागबन्डाले पार्टीलाई कमजोर बनाउँछ । हामी विधि र विधानअनुसार अगाडि बढ्नु पर्छ । गाउँदेखि माथिसम्म प्रक्रियागतरूपमा विधि, विधानमा जानुपर्छ भनेर हामी उठाएको विषयले पार्टीलाई नै बलियो बनाउँछ । यसो गर्दा कसैलाई पनि अन्याय हुँदैन, सबैलाई न्याय हुन्छ । पार्टी विधि विधान र प्रक्रियाअनुसार गयो भने त त्यसको कसैले विरोध गर्दैन ।

तपाईंंहरूको समूहमा रामचन्द्र पौडेल, डा. शशांक कोइराला हुनुहुन्छ त ?
रामचन्द्र पौडेल सबैको नेता हो । उहाँको बारेमा प्रश्नै रहेन । महाधिवेशनका विषयमा रामचन्द्रदेखि डा. शशांक कोइरालासम्मलाई कुन व्यक्ति सभापतिका लागि मन पर्‍यो त्यो उहाँहरूको व्यक्तिगत स्वतन्त्रताको विषय हो । हामीले देख्दा उहाँहरू तटस्थ बस्न खोज्नु भयो । कसैले भित्रीरूपमा सभापति शेरबहादुर देउवाजीलाई समर्थन गर्नुभयो । कसैले देखिएरै प्रचारमा गएर सपोर्ट गर्नुभयो । तर उहाँहरू डा. शेखर कोइरालाको पक्षमा खुलेर आइदिनु भएन भन्ने कुरा स्पष्ट नै छ । तथापि उहाँहरू नेपाली कांंग्रेसको लागि र नेपाली कांग्रेसलाई बलियो बनाउँदै आगामी निर्वाचनमा पहिलो पार्टी निर्माण गर्न महत्वपूर्ण नेताहरू हुनुहुन्छ र पार्टीलाई उहाँहरूको पनि निकै आवश्यकता छ । उहाँहरू शेखर कोइरालाको गुटमा रहनु भयो या रहेन भन्ने कुरा सकियो ।

अब तीन तहको निर्वाचन हुने संघारमा देश पुगेको छ, यस्तो अवस्थामा तपाईंहरूको पार्टी कांग्रेसको पोजिसन के हो ?
नेपाली कांग्रेसले कम्युनिस्टहरूसँग गठवन्धन गर्नु हुँदैन । कम्युनिस्ट पार्टीहरू एकै ढिक्का भएर कांग्रेसविरुद्ध मोर्चाबन्दी गर्ने अवस्था पनि जहिल्यै हुन्छ । अहिले परिस्थिति फेरिएकाले नेपाली कांग्रेसले कम्युनिस्टप्रतिको आम मतदाताको मोह भंग गराउने गरी अघि बढ्दा दीर्घकालीनरूपमा कांंग्रेसलाई नै फाइदा पुग्छ । हामीले कम्युनिस्टका कहिले कुन घटक त कहिले कुन घटकलाई बोक्ने गर्दा उहाँहरूले अन्तिम क्षणमा आएर कम्युनिस्ट एकता र वामगठबन्धनको नाममा एकजुट भइराख्ने गरेका छन् । हामीले एउटा समूहलाई कमजोर पार्दा अर्को समूह बलियो हुने अवस्था हुन्छ । त्यसले गर्दा नेपाली कांग्रेसको हितमा छ भने यदि स्थानीय तहमा गठबन्धन आवश्यक छ भने त्यो गठबन्धन गर्ने अधिकार प्रदेश र जिल्ला कार्यसमितिलाई नै अधिकार दिने । तर केन्द्रीय रूपमा कसैसँग गठवन्धन गर्दैनौं भन्ने सन्देश दिन जरुरी छ ।

तपाईंहरू किन गठबन्धनको विपक्षमा, कांग्रेसको संगठन राम्रो भएर कि, कम्युनिस्टहरू विभाजित भएर ?
सैद्धान्तिकरूपले व्यावहारिक रूपले कांंग्रेस र कम्युनिस्टबीच फरक छ । हामीले आर्थिक, कूटनीतिक र विदेशी सहयोग कसरी परिचालन गर्ने, संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्ने हाम्रो मान्यता के हो ? हाम्रो साध्य के हो र त्यो साध्य प्राप्त गर्नलाई कस्ताकस्ता साधन प्रयोग गर्छांैं भन्ने कुरामा नेपाली कांंग्रेस र कम्युनिस्टबीच मतभिन्नता धेरै नै छन् ।
त्यसकारण आफ्नो मत, आदर्श र विचारलाई बलियो बनाएर राख्न र हामी कमजोर छैनौं हामीले संगठन बनाउँदै गयौं भने सबै कम्युनिस्ट मिले पनि एक्लै नेपाली कांग्रेसले जित हात पार्न सक्छौं । हाम्रो आफ्नो सैद्धान्तिक कुराहरू अनुसार पनि कम्युनिस्टसँग मिल्न हुँदैन र जरुरी पनि छैन । लोकतन्त्रमा सबै पार्टीसँग मिलेर नेपाली जनताका लागि काम गर्नुपर्छ । तर निर्वाचनमा भने पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्छ ।

अब प्रसंग बदलौं ।

कोरोनाको तेस्रो लहर सुरु भइसकेको छ, आर्थिक अवस्थामा कस्तो प्रभाव पर्छ ?
अहिले पनि दुई–चार वटा समस्याहरूमा विकास खर्च हुन नसक्नु पहिलो समस्या हो । प्रक्रियागत संरचनागत र नीतिगत समस्याका कारण विकास खर्च हुन सकेको छैन त्यसलाई हामीले सम्बोधन गर्न सकेका छैनौं । ती संरचनागत सुधार गर्न सक्यौं भने पुँजीगत खर्च बढ्छ र यसले बजारमा पैसा जान्छ । लगानीका लागि मानिसहरूले रकम पनि प्राप्त गर्न सक्छन् । अर्को पक्ष भनेको फजुल खर्च घटाउनु पर्छ । किनभने हामीले नचाहिने खर्च गरेका छांैं । तर कोरोनाबाट आहात भएको क्षेत्र उद्योग व्यवसाय, व्यापार र पर्यटन क्षेत्रलाई अलिकति राहत दिएर फेरि पनि आर्थिक क्षेत्रमा उहाँहरूलाई टिकाइराख्नका लागि आर्थिक राहात प्याकेज ल्याउनुपर्छ र फजुल खर्च घटाउनु पर्छ । अर्को भनेको अहिलेको यस्तो अवस्थामा कुन कुन क्षेत्रमा लगानी गर्न उपयुक्त हुन्छ त्यो पनि पहिचान गर्न जरुरी छ । किनभने हाम्रो जीवन त चली नै रहेको छ । त्यसैले अहिलेको अवस्थामा आयात प्रतिस्थापन गर्ने, मौका पनि हो । यतिबेला नेपालका कुनकुन वस्तु कन्जमसन गर्ने ती वस्तुहरू आफंैं उत्पादन गर्न सक्छांैं । यतातिर ध्यान दिएर आयात प्रतिस्थापन गरेर आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्छ । साथसाथै निजी क्षेत्र र सानासाना लगानीको पनि सुरक्षा गर्न जरुरी छ ।
खासगरी कोरोनाले शिक्षा र स्वास्थ्यमा ठूलो असर गरेको छ । शिक्षामा एक पुस्ता नै बिग्रिने अवस्था हुन सक्छ । किनभने तीन वर्ष हुन लागिसक्यो सीप आर्जन गर्ने युवा पुस्तामा यसले ठूलो असर गरिरहेको छ । यसलाई पनि हामीले सम्बोधन गरेर जानुपर्छ ।

विगतमा यी कुराहरूको सम्बोधन भएको थिएन, यस पटक तपाईंहरूको सरकार छ, यतातर्फ सम्बोधन गर्ने विषयमा पहल भएको छ कि छैन ?
यो विषयमा मैले केन्द्रीय कार्यसमितिमा लिखित रूपमा बुझाएको छु । अब हामी फेरि यस विषयमा थप छलफल गरेर आफ्नै पार्टी र आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई सुझाव दिने तयारीमा छौं ।