रातको १ बजेको थियो । सडकमा सवारीका साधन चलेका थिएनन् । सहरका सडक बिल्कुल सुनसान थिए । सैनिक हेडक्वाटर पनि पालोपहरा दिने सिपाही भातेनिद्रामा परेकाले निःशब्द थियो । खबरदारी लगाउने पनि कोही थिएनन् । त्यसैले पशुपति र स्वयम्भूतिरबाट मात्र होइन, गोदावरी तथा बूढानीलकण्ठतिरबाट माइतीघर मण्डलामा भेला हुन आएका उपत्यकाभित्रका बाँदर, बिराला र छाडा कुकुरलाई रोक्ने र टोक्ने पनि कोही थिएनन् । उनीहरू निर्विघ्न त्यो बृहत् भेलामा जुट्न आएका थिए । मण्डला वरिपरी टेक्ने ठाउँ थिएन ।
अपर्झट बोलाइएको त्यो भेलाको उद्देश्य थियो, राजनीतिक दलका नेता तथा सर्वोच्च अदालतका न्यायाधीशले उनीहरूको इज्जत र प्रतिष्ठामा चोट पु¥याउने मात्र होइन, अपमानसमेत पुग्ने गरी टीका–टिप्पणी गरेकाले त्यसको सशक्त प्रतिकार गर्ने विधि र प्रक्रिया तोक्ने विषयमा ऐक्यबद्धता जुटाउनु ।
हिजोसम्म विभिन्न पार्टीका नेताले मात्र कुकुर बिरालाको जस्तो ङारङार र ङुरङुर गरे भनेर उनीहरूको अवमूल्यन गर्ने गरेका थिए, अहिले त न्यायाधीशले पनि आफ्ना स्वार्थ पूरा गर्न जे पनि गर्ने तर जब एक आपसका गाँड कोराकोर हुन्छ, त्यसलाई ‘कुकुर बिरालाको झगडाको’ नामकरण गरेर उनीहरूको घोर अपमान गरेकाले त्यसको प्रतिकारको तयारीका लागि मण्डलामा त्यो भेलाको आयोजना गरिएको थियो ।
श्लेष्मान्तक जंगलका बाँदरले पशुपतिनाथलाई साक्षी राखेर मानिससित बदला लिने रणनीति तय गर्न त्यस्तो भेला गौशालामा गर्ने प्रस्ताव गरेका थिए । उता कुकुरले पनि नरदेवीनिरको इटुम्वहालमा भेलाको भेन्यु तोक्न सुझाव दिएका थिए । तर माइतीघरको मण्डलालाई मानिसहरूले ज्यादै दुरुपयोग गर्ने गरेको र त्यो स्थानलाई बाँदर, बिराला र कुकुरको पहुँचबाहिर पुर्याइदिएकाले पनि भेला त्यही आयोजना गरेर आ–आफ्नो वर्गको अस्तित्व, शक्ति र सामथ्र्यको बोध गराउन भेला, त्यहीँ गर्नुपर्ने अडान राखेका थिए ।
कुकुर र बाँदरले त्यस्तो अडान लिएपछि लोपोन्मुख जातिमा परेका बिरालाले मात्र आपत्ति प्रकट गर्ने सवालै थिएन । त्यसैले सिंहदरबार परिसरमा रहेको सर्वोच्च अदालत र सैनिक हेडक्वाटरको मात्र होइन, भद्रकाली र खाद्य संस्थानको समेत उपादेयतालाई ध्यानमा राखेर त्यो स्थानको छनोट गरिएको थियो । जल, जमिन र राष्ट्रिय सम्पत्तिमाथि मानिसको एकाधिकारलाई चुनौती दिन र उनीहरूभन्दा पनि पुराना आदिवासी आफैंलाई सावित गर्न पनि उनीहरूले बृहत् भेलाका निम्ति मण्डला नै रोज्नु परेको थियो ।
त्यो उनीहरूको रहर थिएन, बाध्यता थियो । ‘बाँदरले आफ्नो घर बनाउँदैन, अरूको पनि बन्न दिँदैन, भत्काइदिन्छ’ भन्ने कथनको जोडदार खण्डन गरेर मात्र नपुग्ने भएकाले त्यस्तो भूमिका अहिले नेता, न्यायाधीश र ठूला कर्मचारीले कसरी अपहरण गरिसकेका छन् र ध्वंसात्मक प्रवृत्तिमा बाँदरलाई उछिनेर धेरै पछाडि छाडिसकेका छन् भन्ने तथ्य प्रमाणित गर्न पनि उनीहरूले मण्डला रोज्न जोड दिएका थिए । कुकुर र बिरालाले उनीहरूको त्यो प्रस्तावको समर्थन गरेर गठवन्धन गरेकाले उनीहरू त्यसलाई आ–आफ्नो शक्ति प्रदर्शनको साझा थलो तुल्याउन सफल भएका थिए ।
कांग्रेस र कम्युनिस्टका नेताले आपस्तमा झगडा गर्दा एकले अर्कालाई कुकुर र बिरालाजस्तो झगडा गर्ने भनेर आरोप लगाउँदै आएको जगजाहेरै थियो, अहिले त सर्वोच्च अदालतका न्यायाधीशका बीचको झगडामा पनि उनीहरूको जातिको सामूहिक बेइज्जत गरेकाले त्यस्तो अपमानको बदला कसरी लिने त्यही एजेन्डामाथि छलफल गरेर ठोस निष्कर्ष निकाल्न त्यो भेलाको आयोजना गरिएकाले पनि दलका नेता तथा न्यायाधीशहरूले जस्तै जथाभावी नगरेर एजेन्डामा केन्द्रित छलफल अघि बढाउन उपस्थित सबैले प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनीहरू न्यायाधीशहरूले गरेको अनुशासनहीन तथा अराजक व्यवहार आफूबाट नहोस् भन्नेमा सजग र सतर्क थिए । त्यसैले उनीहरू सिंहदरबारको सरकार, भद्रकालीको सैनिक हेडक्वाटर र मण्डलाको दुरुपयोग गर्ने कथित् नागरिक समाजका व्यापारीहरू जसरी अदालतको दुर्गतिको लाचार दर्शक बनेर दुनियाँलाई तमासा देखाइरहेका छन्, त्यस्तै कमजोरी आफूबाट हुन नदिनेमा पनि उत्तिकै सतर्क थिए । मानिसले आफ्ना कमजोरीलाई मानवीय गुण भनेर महिमामण्डित गर्ने गरेकोमा भेलाले व्यंग्य र कटाक्ष गरेर न्यायाधीशले गरेका नाङ्गो भ्रष्टाचारलाई पनि त्यही श्रेणीमा राखेकोमा समेत आश्चर्य प्रकट गरेको थियो । मानिसको जस्तो निर्लज्जता आफूहरूले कुनै हालतमा प्रकट गर्न नहुनेमा पनि उनीहरू उत्तिकै सचेत थिए ।
बाँदरले आफ्नो घर नबनाउनु भनेको त्यागको आदर्श नमुना प्रस्तुत गर्नु हो । तर मानिस जातिले उनीहरूको त्यस्तो त्यागको उचित सम्मान गर्नुको बदला विध्वंशकारीको आक्षेप लगाएकोमा सर्वोच्च अदालतका न्यायाधीशहरूप्रति मात्र होइन, राजनीतिक दलका नेताहरूको समेत उनीहरूले कडा शब्दामा निन्दा र भत्र्सना गरेका थिए । उनीहरूले न्यायमूर्तिको पवित्र आसनमा विराजमान न्यायाधीशले काठमाडौंको महँगो जग्गा खरिद गरेर घर बनाउनु चरम भ्रष्टाचारलाई प्रोत्सहित गर्नु हो भन्ने निष्कर्ष निकालेका थिए । त्यसैगरी कुकुर र बिरालालाई झगडा मात्र गर्ने, मेलमिलाप गर्न नजान्ने जातिका रूपमा अपमान गर्ने न्यायाधीश र वकिल वर्गको पनि निन्दा र भत्र्सना गरेका थिए । उनीहरूलाई सेटिङमा न्यायको खरिद बिक्री गर्ने दलालको कठोर आरोप लगाउन पनि बाँकी राखेका थिएनन् ।
संक्षेपमा सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीश र न्यायाधीशहरूका बीचमा चलेको असंवैधानिक तथा अनैतिक विवादमा वकिलहरूको संगठन– नेपाल बार एसोसिएसनले आन्दोलन गरेर बलेको आगोमा घिउ थप्ने जुन काम गरेको छ, त्यसले कुकुर, बिराला र बाँदरको पुरानो कथा र उखानलाई असान्दर्भिक तुल्याइदिएको मात्र होइन, उल्टो न्यायाधीश, वकिल र नेताहरूतिर त्यस्तो आरोप तेर्सिन पुगेको निष्कर्ष निकाल्दै त्यसलाई नयाँ सन्दर्भ र परिप्रेक्ष्यमा पुनः परिभाषित गर्नुपर्ने निर्णय गरेर भेला समाप्त भएको थियो ।
मिर्मिरे उज्यालो हुन लागेकाले सहभागीहरू मानिसहरूको आतंकबाट जोगिन आ–आफ्नो बाटो लागेका थिए ।
प्रतिक्रिया