देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिका : साङ्गीतिक महोत्सवमा भागाभाग हुँदा कम्तीमा ८ जनाको मृत्यु

देशान्तर

काठमाण्डौ – अमेरिकाको टेक्सास राज्यको ह्युस्टन सहरमा आयोजित साङ्गीतिक महोत्सवमा भागाभाग हुँदा कम्तीमा आठ जनाको ज्यान गएको छ ।

ट्राभिस स्कटको एस्ट्रोवर्ल्ड महोत्सवमा भिड मञ्चको अगाडि जान खोज्दा भागभाग मच्चिएको आपत्कालीन सेवाका अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको ज्यान गयो । भागाभाग हुँदा झन्डै तीन सय जनालाई चोटपटक लागेर उपचार गरिएको थियो ।

साङ्गीतिक महोत्सवमा झन्डै ५० हजार मानिस उपस्थित भएको अधिकारीहरूले बताएका छन् ।

यो घटना स्थानीय समयअनुसार हिजो शुक्रवार राति ११ बजेको समयमा भएको थियो।

ह्युस्टनका अग्नि नियन्त्रक प्रमुख ​स्यामुएल पेनाले भने, ‘भिड बिस्तारै–बिस्तारै मञ्चतर्फ बढ्न लाग्दा मानिसको भिडले मञ्चको अघिल्लो भागलाई थिचेपछि मानिसहरू डराउन थाले ।’

भागाभागमा परि मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका पेना बताउँछन् ।

ह्युस्टन सहरकै र्‍यापर ट्राभिस स्कटले आफ्ना अगाडि बसेका दर्शकहरूबीच तनाव सिर्जना भएको देखेपछि आफ्नो ७५ मिनेट लामो प्रस्तुति अवधिमा धेरै पटक रोकिन पुगेका थिए ।

यस महोत्सवका आयोजकले घटनाको गम्भीरतालाई हेर्दै कार्यक्रम नै रद्द गरेको छ । महोत्सवको दोस्रो र अन्तिम दिन आज शनिवार हुने कार्यक्रम रद्द गरिएको हो ।