देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पत्रकार दियालीको उपचारमा सहयोग गर्न अपिल

देशान्तर


काठमाडौं । दुवै मिर्गौला फेल भएपछि सुनसरी इटहरीका पत्रकार पीबी दियाली काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहेका छन् । नियमित डायलसिस गर्नुपर्ने भएपछि उनलाई आर्थिक समस्याले सताएको छ । घरखेत बेचेर उपचार गराइरहेका दियालीले सहयोगको याचना गरेका छन् ।
शनिबार इटहरीका सक्रिय पत्रकार एवं प्रदेशखबर डटकमका सम्पादक पवन अधिकारीले दियालीलाई भेटेर १५ हजार नगद हस्तान्तरण गरेका छन् । त्यस्तै, हेटौंडाका व्यवसायी गोपाल थापाले आर्थिक सहयोग संकलनका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उपचारका लागि सरकार, सामाजिक संघसंस्था र दाताहरूसँग सहयोगका लागि याचना गरे पनि त्यो प्रभावकारी नभएको उनले बताए । पत्रकार दियालीले पत्रकार महासंघले सहयोग संकलनका लागि अभियान सञ्चालन गरिदिन माग गरेका छन् । अन्य संघसंस्थालाई पनि सहयोग अभियान सञ्चालन गरिदिन आग्रह गरेका छन् ।
इटहरीमा बसेर २९ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दियालीले आफ्नो दुवै मिर्गौला खराब भएको र उपचारका लागि आफूसँग आर्थिक अवस्था कमजोर बनेकाले बाध्य भएर सहयोगको याचना गर्नु परेको बताए । दियालीका अनुसार मिर्गौला फेर्नका लागि मिर्गौलादाता जुटे पनि दाता र बिरामी दुवैको खर्च जुटाउन झनै कठिन भएको छ । मिर्गौला फेरेर स्वस्थ्य रहन लगभग ६० लाखमाथि खर्च हुने अनुमान छ ।
४६ वर्षीय पत्रकार दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुन् । उनले लामो समय धरानबाट प्रकाशित ब्लास्ट दैनिकमा पत्रकारिता गरेका थिए । उनले इटहरीमा गणराज्य दैनिक पनि प्रकाशन गरेका थिए । पत्रकार दियालीका अनुसार उनी संकटकालको समयमा तीन महिना हिरासतमा परेका थिए । उनलाई ३ सय ३५ दिन नजरबन्दमा पनि राखिएको थियो ।
पत्रकार दियाली हाल नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजक छन् । उनी नेपाल दलित पत्रकार संघ र समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्य हुन् । उनले सम्पत्तिका नाममा आफूसँग इटहरीमा सानो घर पनि बेचेर उपचारमै खर्च गरिरहेको सुनाए ।