देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक–अर्काको जोखना हेर्दै तीन दल

देशान्तर

नयाँ सत्ता समीकरणका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच अविश्वास बढ्दै गएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन भित्रभित्रै लालायित छन् तर जसपाको सिंगो समर्थन नपाए उनको नेतृत्वमा नयाँ गठबन्धन बन्न सक्दैन । जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवको धार वैकल्पिक सरकार निर्माणको पक्षमा छ तर अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित पूर्वराजपा धार प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा गइहाल्ने पक्षमा छैन । नयाँ गठबन्धनको आधार नबनेको भन्दै माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

जसपाको सिंगो सहयोग नमिलेसम्म ओलीको विकल्पमा तीन दलको गठबन्धन बन्न सक्दैन । संसद्मा अहिलेको गणितमा कांग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ५३ (चार जना एमालेतिर लागेका) र जसपाका ३४ (दुई निलम्बित) सांसद छन् । अनौपचारिक कुराकानीमा देउवाले आफूनिकट नेताहरूसँग जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले ओलीको विकल्पमा जान नसक्ने बताउने गरेका छन् । यादव र भट्टराई भने प्रमुख प्रतिपक्षको हैसियतमा देउवाले वैकल्पिक गठबन्धनका लागि नेतृत्व लिइदिए हुन्थ्यो भन्ने पक्षमै छ । ठाकुर र महतोलाई पनि ओलीको विरोधमा गएर देउवा प्रधानमन्त्री बन्न नसक्ने विश्वास छ । प्रधानमन्त्री ओली र देउवाबीच प्रतिनिधिसभा विघटनअघिदेखि नै ‘लेनदेन’ को सम्बन्ध छ ।

प्रतिनिधिसभा विघटनको खुलेर विरोध नगरेका देउवाले आफैं अग्रसर भएर ओलीलाई हटाउलान् भन्नेमा ठाकुर र महतोलाई विश्वास छैन । तीन दलीय गठबन्धन बनाउन जोडबल गरिरहेको माओवादी केन्द्रलाई पनि कांग्रेस र जसपाको ठाकुर–महतो समूहप्रति अविश्वास छ । त्यही अविश्वासका कारण माओवादीले अहिलेसम्म सरकारबाट अलग हुने घोषणा गर्न सकेको छैन । ओली नेतृत्वको सरकारमा माओवादी व्यावहारिक रूपमा सहभागी छैन तर प्राविधिक रूपमा सत्तासीन भएरै उसले अपजस खेपिरहेको छ । सरकारबाट अलग भएको औपचारिक निर्णय लिन सकेको छैन । कान्तिपुरमा खबर छ ।