देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राज्यविहीन समाजमा मर्नुभन्दा बहुलाउनु जाती !

देशान्तर

नेपाली भाषाको चलनचल्तीको उखान थियो– बहुलाउनुभन्दा मर्नु जाती ! कम्युनिष्ट सरकारका पालाको नयाँ नेपालमा उखान उल्टिएर मर्नुभन्दा बहुलाउनु जाती हुन पुगेको छ । निर्मला पन्तका पिता यज्ञराज पन्त, न्याय नपाएर बहुलाएपछि त्यो उखान उल्टिएको हो ।

सरकारले उनकी छोरी– निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि हत्यारालाई पक्राउ गरेर अदालतको कठघरामा उभ्याउने तत्परता नदेखाएको विरोधमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको हातामा आमरण अनशन बसेका उनी बहुलाएका हुन् । पहिले चिडचिडाहट, त्यसपछि डिप्रेसन र अहिले बहुलाएकाले जथाभावी बोल्ने, जसलाई पनि हप्काउने र आक्रमण गर्ने प्रवृत्ति बढेर गयो । राजधानीमा ल्याएर जँचाउँदा उनी बहुलाएको पुष्टि भयो ।

प्रसंग उठ्यो, उनलाई यस्तो अवस्थामा पु¥याउने को ? जवाफ कसैले दिनुपर्दैन, सबैले जानेका छन्– निर्लज्ज सरकार । त्यो किनभने १३ वर्षकी निर्मला पन्तको बलात्कार र हत्याको घटनाको देशभरि विरोध भयो र मानवअधिकार आयोगले पनि अपराधी पत्ता लगाएर कानुनी कारबाहीको शिफारिस ग¥यो, तर सरकार सुनेको नसुन्यै गरेर बस्यो । केही प्रहरी अधिकृतको जागीर खोसियो, केही निलम्बनमा परे । तर बलात्कारी पत्ता लागेनन् । हत्यारा पक्राउ गरिएका छैनन् ।

त्यसको परिणाम यति उल्टो भएको छ कि त्यो घटनापछि अप्रत्याशित रूपमा बलात्कार, अपहरण र हत्याको क्रम, अचाक्ली वृद्धि भएको छ । सरकार भने नितान्त असंवेदनशील तथा गैर जिम्मेदार बनेर दुई तिहाइ बहुमतको सिरक ओढेर सुतेको सुत्यै छ, उठ्ने नामै लिंदैन ।

नेपालमा यसअघि जनस्तरबाट यत्रो आवाज उठिसकेपछि सरकार तिनै अपराधीको लाचार छाया भएर अकर्मण्य हुन पुगेको प्रजातन्त्रमा त के कुरा, पञ्चायतकालमा पनि देखिएको थिएन । न्याय माग्न पीडित आफैंले आमरण अनशन बस्नुपर्ने, त्यत्तिले नपुगेर बहुलाउनुपर्ने र कहिलेकाहिँ त ज्यानै दिनुपर्नेजस्तो घोर अत्याचार मानव सभ्यताकै उपहास हो । दुर्भाग्यले त्यस्तो बिडम्बना, नेपालीको नियति बनेको छ ।

विधिको शासन भएका मुलुकमा सरकार यति अनुत्तरदायी बन्न कुनै हालतमा सक्तैन । झन शान्ति–सुरक्षा प्रदान गर्ने निकाय र राज्यका न्याय सम्पादन गर्ने अंगले जनतालाई न्याय दिने जिम्मेदारीबाट भाग्नै सक्तैन । भाग्यो अथवा भाग्नमात्र खोज्यो भने पनि उसले जनताको अदालतमा खडा हुनुपर्छ । सजायको भागी बन्नुपर्छ । तर नेपालमा जो जनताका प्रतिनिधि भएर सरकार चलाइरहेका छन्, उनीहरु नै त्यस्तो मान्यतामाथि आस्था राख्दैनन्, त्यसैले विश्वास पनि गर्दैनन् ।

उनीहरु उदार प्रजातन्त्र र कानुनी राज्यमाथि विश्वासका कारण निर्वाचनमा भाग लिन आएका होइनन्, प्रजातन्त्रको हतियारले प्रजातन्त्र सिध्याएर सर्वसत्तावाद कायम गर्नमात्र आएका हुन् भन्ने प्रजातन्त्रवादीका हिजोका आरोप कति सही र सटिक रहेछ, आज प्रमाणित भएको छ । उनीहरुले त्यसलाई अकाट्य साबित गरिदिएका छन्– कानुनी राज्यको अन्त्य गरिदिएर ।

कानुनी राज्य भएको मुलुकमा बलात्कार र हत्याको घटनाको जसले छानबिन गरेर अपराधीलाई अदालतको कठघरामा उभ्याउनुपर्ने हो, उसैले प्रमाण नष्ट गरेको आरोप लाग्दा पनि प्रशासन कानमा तेल हालेर बस्यो । राजनीतिक तथा प्रशासनिक हस्तक्षेपका कारण मौकामा कारबाही भएन । जब जनताको प्रचण्ड दबाव प¥यो, तब कारबाहीको नाटक मञ्चन सुरु भयो । त्यस बेलासम्म धेरै ढिला भइसकेको थियो ।

अपराधी उम्किसकेका थिए । त्यही हो– विधिको शासनको हुर्मत लिनु भनेको ! चुत्थै सरकारले पनि आफ्ना प्रजालाई शान्ति र सुरक्षा प्रदान गर्नेजस्ता न्यूनतम कर्तव्यको पालना हरहालतमा गर्छ । त्यसमा सरकार चुक्यो, त्यही कारण यज्ञराज पन्तले न्याय पाउन आमरण अनशन बस्नुपरेको हो । तैपनि उनले न्याय पाएनन् अनि बहुलाए । पन्तका ठाउँमा अरु कोही भएका भए पनि नियति त्यही हुन्थ्यो ।
राज्यहीन समाज भनेको या त रामराज्य हो, या विधिको शासन नभएको चरम अराजक समाज हो ।

कम्युनिष्ट सरकार, त्यो पनि सत्ता कब्जा गरेर आएको होइन– आफ्नो आदर्श र सिद्धान्तविपरीत निर्वाचनको चोर बाटोबाट सत्तारूढ भएकाले त्यस्तो देशमा रामराज्य त हुनै सक्तैन, रावणराज्यचाहिँ अवश्य हुन्छ भन्थे, हाम्रा पूर्वजले । हामी छक्क पथ्र्यौं त्यो सुनेर ! अनि, अलमलिन्थ्यौं, के भनेको होला भनेर । आजको नेपालको कम्युनिष्ट सरकारले देखाइदिएको छ– त्यो भनेको यही हो । राणाशासनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले बहुलाउनुपरेको थियो, वाक् तथा प्रकाशन स्वतन्त्रताका लागि ।

कम्युनिष्ट शासनमा न्याय नपाएर यज्ञराज पन्तले बहुलाउनुपरेको छ । बलात्कार, अपहरण र हत्या जुन मात्रामा बढिरहेछन्– तिनले निकट भविष्यमा धेरै यज्ञराज उत्पन्न हुने र बहुलाउनेको संख्या पनि त्यही अनुपातमा बढ्ने निश्चित देखिन्छ ।

कार्ल माक्र्सले भनेका छन्– सर्वहारा वर्गको तानाशाही सम्हालेपछि कम्युनिष्टले राज्यसत्तालाई वर्गशत्रु नाश गर्न प्रयोग गर्ने र त्यो मिसन पूरा भएर जब समाज शत्रुहीन हुन्छ– तब राज्यसत्ताको औचित्य पनि समाप्त हुन्छ अर्थात् त्यसपछि स्वतः राज्यको अन्त्य हुनेछ । त्यसरी राज्यहीन समाज (Stateless Society) कायम भएपछि न्याय पनि खोज्नुपर्ने छैन, दिनु पनि पर्ने छैन । त्यस्तो भविष्यवाणी उनले त्यसै बेला गरेका थिए, जुन बेला कम्युनिष्ट पार्टीको घोषणापत्र लेखेका थिए ।

सरल र स्पष्ट शब्दमा भन्नुपर्दा एक खास अवस्थामा पुगेर स्थापित हुने भनेको राज्यहीन समाज, नेपालमा कम्युनिष्ट शासन प्रारम्भ भएको एक वर्ष पूरा नहुँदै आयो । कम्युनिष्ट सत्ताको अभ्युत्थान भएको थियो– पूर्वको झापाबाट, राज्यहीन समाजको अभ्युदयचाहिँ सुदूर पश्चिमको कञ्चनपुरबाट भएको छ । निर्मला पन्तको हत्या प्रकरणमा राज्यका कुनै पनि अङ्गले काम गर्न छाड्नु भनेको त्यही राज्यहीन अवस्थाको ज्वलन्त उदाहरण हो ।

यज्ञराज पन्तले वैज्ञानिक समाजवादी राज्यव्यवस्था अन्त्य भएर राज्यहीन चरणमा नेपाल प्रवेश गरिसकेको चाल नपाएकाले आफ्नी छोरीको बलात्कार गरेर हत्या गर्ने जघन्य अपराधी पत्ता लगाइमाग्न आमरण अनशन बस्नुपरेको थियो । त्यो घटनाले उनलाई मात्र होइन– सबै सचेत नेपालीलाई राज्यहीन समाजमा भएको अनुभूति गराएको छ । त्यसरी उनले न्याय माग्दामाग्दै बहुलाउनुपरेको बीभत्स उदाहरणले भविष्यमा धेरै यज्ञराज उत्पन्न हुने अनुमान, कोरा कल्पनामात्र हुन सक्तैन । नेकपाको निरंकुश सत्ताको यात्रा अन्ततः त्यही गन्तव्यमा पुग्नेछ– जहाँ अहिले यज्ञराज पुगेका छन् । त्यो अवस्थाका निम्ति पनि उनीहरु तयार छन् ।

बहुलाहाहरुलाई उपचार गराउन नेकपाका दूरदर्शी नेता मानसिक अस्पताल खोल्ने योजनामा काम गरिरहेका छन् । त्यस्तो अस्पतालको सेवाको बजार पर्याप्त विस्तार हुने सम्भावना जो बढेको छ ।
न्याय नपाए गोर्खा जानु भन्ने उहिलेका कुरा खुइलिहाले । एक्काइसौं शताब्दीमा न्याय नपाए अनशन बस्नु, बहुलाएपछि मानसिक अस्पताल धाउनु भन्ने नयाँ उखान चल्न थालेको छ ।