देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय दलमा सर्वसम्मत नेता चयन हुनुपर्छ- सशाँक कोइराला

देशान्तर

नेपाली कांग्रेसको संसदीय दलमा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाई कस्को पक्षमा ?

म अहिले नै यसको उसको पक्षमा छैन् । म अहिले सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन हुनुपर्छ भन्ने पक्षमा छु । नेपाली कांग्रेस कमजोर भएको छ । कमजोर भएको अवस्थामा संसदीय दलमा चुनाव गराएर भन्दा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेर एउटा सन्देश हामीले दिन जरुरी छ । त्यही कारणले अहिले म नेपाली कांग्रेसको संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गर्नुपर्छ भन्ने पक्षमा छु ।

दुवैजनाले उम्मेदवार घोषणा गरिसकेको अवस्थामा कसरी होला सर्वसम्मत ?

उम्मेदवारी घोषणा गरेर मात्र भएन । २१ गते संसदीय दलको चुनाव हुने हो । अझै समय बाँकी छ । उहाँहरुलाई पनि अहिले कांग्रेसको अवस्थाको बारेमा जानकारी छ । अहिले कांग्रेसको संसदीय दलको नेता भएर प्रधानमन्त्री हुने होइन, किन मरिहत्ते गर्ने ? सहमति गरेर हामीले त्यो सन्देश दिनुपर्छ । म अहिले त्यही कोशीशमा छु । म सभापति जीसँग पनि कुरा गर्छु अनि प्रकाशमान जीसँग पनि कुरा गर्छु ।

तपाई पनि सर्वसम्मत भए संसदीय दलको नेताको आकांक्षी हो भनिएको छ, के हो ?

म सर्वसम्मत भएमात्र संसदीय दलको नेता हुन्छु । म चुनाव लड्दिन । चुनाव लडेर मलाई संसदीय दलको नेता हुनु छैन । मलाई पार्टीको सभापति हुने, प्रधानमन्त्री हुने भन्दा पनि कांग्रेस कसरी जोगाउने भन्ने चिन्ता बढि छ ।

तपाई लोकतन्त्रमा विश्वास गर्नुहुन्छ अनि किन प्रतिस्पर्धाबाट संसदीय दलको नेता बन्न हिच्किचाइरहनु भएको छ ?

मलाई नेपाली कांग्रेसको विभाजनको सुत्रधार होइन एकताको सुत्रघार बन्नु छ । संसदीय दलको चुनावमा निर्वाचन भयो भने एकता होइन अझ विभाजन हुन्छ । त्यही कारणले म चुनावी प्रतिस्पर्धाबाट संसदीय दलको नेता बन्दिन भनेको हो । अहिले संसदीय दलको नेता पार्टी सभापति वा प्रधानमन्त्री भन्ने भन्दा पनि कांग्रेस जोगाउने बिषयलाई महत्व दिनुपर्छ भन्ने मलाई लागेको छ । त्यही कारणले चुनाव लडेर म संसदीय दलको नेता बन्दिन भनेको हो ।

सर्वसम्मत रुपमा संसदीय दलको नेता बन्ने बिषयमा पार्टी सभापतिसँग कुरा गर्नुभयो ?

म सभापति जीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता बन्छु भन्नका लागि भेट्न गएको थिएँ । तर उहाँले आफै संसदीय दलमा उम्मेदवार बन्छु सहयोग गर्न भन्नुभयो । अनि मैले केहि भनिन् । आफुलाई सर्वसम्मत रुपमा संसदीय दलको उम्मेदवार बनाउनुस भन्नका लागि गएको तर उहाँ आफैले उम्मेवार बन्छु भन्दै मलाई सहयोग गर्न भनेपछि मेरो बोली नै फुटेन । मैले सभापति जी मात्र होइन प्रकाश जीसँग पनि कुरा गरेको छु । तर अन्तिम समयसम्म पनि चुनाव नहोस् भन्ने चाहना मेरो छ ।

संसदीय दलको नेतामा दुवै नेताहरु मैदानमा उत्रिसकेपछि तपाईले सर्वसम्मतिमा ल्याउन सक्नुहोला ?

मलाई अझै पनि विश्वास छ, संसदीय दलमा सर्वसम्मत हुन्छ, हुनुपर्छ । वीपी कोइरालाले २०३६ सालको जनमतसंग्रहताका परशुनारायण चौधरीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुभयो । त्यो बेला मैले सोधेंको थिएँ, वीपीलाई हेरेर जनताले भोट गर्ने हो तर किन परशुनारायण चौधरीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुभयो ? उहाँ (विपी) ले मलाई त राजनीति बुझ्दैनस भन्नुभएको थियो । म अहिले त्यो राजनीति बुझ्दैछु, वीपीले जस्तो त्याग पनि गर्न सक्नुपर्छ भन्ने । म सभापति जीलाई पनि भन्छु, २०५१ सालमा गिरिजाबाबुको नेतृत्वको चुनाव भयो । पार्टी हार्यो, त्यो बेला गिरिजाबाबु संसदीय दलको नेता बन्नुभएन । त्यो बेला गिरिजाबाबुले संसदीय दलको नेता तपाईलाई बनाउनुभयो । आज पार्टी एक हुन्छ भने तपाईले अर्को कोहि साथीलाई संसदीय दलको नेता किन नबनाउने ? त्यसैगरि म प्रकाशमान जीलाई पनि भन्छु, आज संसदीय दलको नेता भएर भोली प्रधानमन्त्री त बन्ने होइन, हामी पाँच बर्ष प्रतिपक्षमा नै बस्ने हो । आज किन हामी बिभाजित हुने ? संसदीय दलको नेतामा चुनाव भएर पार्टीलाई एकताबद्ध बनाउने अभियानमा सभापतिले पनि योगदान गर्नुपर्छ । अरुले पनि योगदान गर्नुपर्छ ।

दुई नेताका बीचमा कुरा मिलेन र तपाईको सर्वसम्मत बनाउने प्रयास पनि सफल भएन भने कसलाई समर्थन गर्नुहुन्छ ?

राजनीतिमा एस र नोमा जवाफ हुन सक्दैन । मेरो भनाई के हो भने दुवैजना उम्मेदवारसँग कुरा गर्नुपर्छ । कुरा भइरहेको छ । अरु साथीहरु पनि हुनुहुन्छ । त्यसपछि म निर्णय गर्छु । मैले अहिले नै कसलाई भोट गर्ने भन्ने कुरा निरर्थक छ । अहिले नै मैले यसको पक्षमा छु भनेर भन्दा त म संगै सर्वसम्मतका लागि प्रयास गर्ने नैतिकता नै हुँदैन नि । संसदीय दलको नेता बन्ने विषय ठुलो कुरा नै होइन । अहिले अझ कांग्रेस कमजोर भएको समय चुनावको दिन २१ गते बिहान सम्मपनि सर्वसम्मत हुन्छ । म मात्रै होइन अरु साथीहरुले पनि सर्वसम्मतिका लागि लागिरहेका छन् । राजनीतिमा यो कुरा सजिलो छैन । व्ल्याक एण्ड ह्वाइटको राजनीति भएको भए सजिलो हुन्थ्यो । राजनीति गर्ने व्यक्तिले धेरै कुरा मूल्याङकन गरेर निर्णय लिनुपर्छ ।

पार्टीको महाधिवेशनमा प्रकाशमान सिंह तपाईहरु एउटै टिमबाट चुनावी मैदानमा हुनुहुन्थ्यो । पार्टी सभापति शेरबहादुर देउवा अर्कै समुहमा । अहिले तपाई के पार्टी सभापतिसँग नजिक हुन लाग्नुभएको हो ?

म सवैसँग नजिक छु । महाधिवेशनमा प्रतिष्पर्धा हुन्छ । तर महाधिवेशनको प्रतिष्पर्धा सधै नराखौं भन्ने मेरो भनाई हो । म पार्टी सभापतिदेखि देशभरका कार्याकर्ताहरुसंग नजिक छु । म यो पक्ष उ पक्ष भन्दा पनि गिरिजाबाबु पार्टी सभापति भएको बेला देखि नै पार्टीलाई एकताबद्ध बनाउनुपर्छ भन्ने मेरो सोच विचार थियो । महाधिवेशनमा प्रतिष्पर्धा हुन्छ । कुनै विचारमा कुनै समुह बन्छन तर सधै विभाजित कांग्रेस अब राख्नुहुदैन ।

सवैले नेपाली कांग्रेस कमजोर भयो भनेका छन् । तर अब कांग्रेसलाई कसरी बलियो बनाउने भनेर त भनेका छैनन् नि ?

अब कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्छ । यसका लागि म अग्रसर छु । आफ्नो शक्ति प्रयोग गरेर एकढिक्का बनाउने प्रयास गर्छु । नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अब फेरि पहिलो पार्टी बनाउने मेरो पहिलो दायित्व हो । यो पार्टी वीपी कोइरालाले स्थापना गर्नुभएको हो । अहिले पनि कमजोर भएको होइन । धेरै नेपाली जनता कांग्रेसको पक्षमा देखिएका छन् । अहिले हामीले पार्टीलाई व्यवस्थीत बनाउन सकेनौ । हामी गुट गुटमा विभाजित भयौं । विभाजित कांग्रेस कसरी बलियो बन्न सक्छ ? त्यही भएर अब बलियो कांग्रेस बनाउनुपर्छ । बलियो कांग्रेस बनाउनका लागि सवैभन्दा पहिला हामी एक हुनुपर्यो । अर्को अहिले यस्तो दुरावस्थामा छ । यो बेलामा पनि हामी एक हुन सकेनौ भने के हुन्छ । मेरो अहिले मात्र होइन गिरिजाबाबु भएको समयमा समेत मेरो प्रथामिकता पार्टी एकिकृत होस भन्ने हो ।

यतिबेला नेतापिच्छे गुट छ । कसरी एकढिक्का बनाउन सक्नुहुन्छ ?

म सबै नेताहरुसँग परामर्श गरेर कांग्रेसको आवश्यकता अनुभूति दिलाउने कोशिसमा छु । गुट र समुहको राजनीतिले नै पार्टीलाई कमजोर बनाएको हो भन्ने कुरा सबैले बुझ्नुपर्छ । अब यसको अन्त्य गरौँ । मैले यो कुरा गिरिजाप्रसादको पालादेखि नै गरेको हुँ ।

चुनाव हारिसकेपछि पनि किन कांग्रेसले चत्दैन ? एकढिक्का हुनुपर्नेमा झन आन्तरिक कलहमा फसेको देखिन्छ नि, किन ?

हो, अहिले हामी प्रतिपक्षमा छौँ । यो बेला संगठित भएर अगाडि बढ्नुपर्छ । यसअघि सत्तामा जानेदेखि अरु विभिन्न कारणले गुटगत राजनीति भए होला । तर अब संगठन धराशायी बनाउनु हुँदैन । अब पनि गुटगत राजनीतिको अन्त्य गरिएन भने पार्टी राम्रो बन्न सक्दैन । अब हामी प्रतिपक्षमा छौ । यही ग्रुपिजमलाई चिर्नेका लागि मैले सर्वसम्मतिबाट संसदीय दलको नेता चयन गरौ भन्ने हो । अहिले त हामीसंग सत्ता छैन् । चुनाव लडेर संसदीय दलको नेता बन्नु भन्दा अहिले पार्टीमा देखिएको द्धन्द अन्त्यका लागि सर्वसम्मतीको खोजी गरेर एउटा बाटोमा पुगियो भने देशभर सन्देश दिन सक्छौ । आम नेता कार्यकर्ताहरु एउटा सन्देश दिनका लागि पनि हामीले संसदीय दलमा सर्वसम्मत नेतृत्व चयन गर्नै पर्छै ।

अब त संसदीय दलको नेता बने पनि सरकारमा जाने सम्भावना छैन तर पनि किन दलको नेतामा सहमति हुन सक्दैन ?

त्यसैले मैले सभापति देउवालाई प्रधानमन्त्री बन्ने सम्भावना छैन भनेर संसदीय दलको नेता नलड्नस् भनेको हुँ । प्रकाशमान सिंहलाई पनि त्यही भनेको छु । अब कांग्रेस कमजोर भएको बेलामा हामी किन लडाई झगडा गर्ने । सवैलाई मेरो भनाई यही हो ।

तपाई वीपी कोइरालाको छोरा अनि अहिले पार्टीको महामन्त्री । तर पनि सवैभन्दा गुटबन्दी अहिले नै भइरहेको छ, तपाईले पनि कांग्रेसभित्रको कलह मिलाउन सक्नुभएको छैन ?

मेरो राजनीति भनेको पार्टी एकबद्ध बनाउने हो । मेरो चाहाना भनेको पार्टी सभापति बन्ने प्रधानमन्त्री बन्ने होइन । नेपाली कांग्रेसलाई कसरी बचाउने भन्ने हो । विपी कोइरालाले बनाएको पार्टी । अहिले पार्टी एक बनाउने मेरो दायित्व पनि छ । नम्बर वान पार्टी बनाउने मेरो लक्ष्य हो । नेपाली कांग्रेस अब पनि एकबद्ध हुँदैन । म वीपी कोइरालाले बनाएको पार्टी म महामन्त्री भएको बेलामा कमजोर भएको छ । मैले संकल्प गरेको छु । नेपाली कांग्रेसलाई नम्बर एक पार्टी बनाउने । मेरो संकल्प हो । मैले माथि पनि भने । विपीले ३६ सालमा भन्नुभएको थियो कि अबको प्रधानमन्त्री परशुनारायण चौधरी । अनि मैले के भनेँ भने तपाईलाई हेरेर मान्छेले भोट हाल्दैछन् । अहिले पनि पार्टीको अवस्था त्यही छ । उहाँले मलाई भन्नुभयो, तैँले के बुझेको छस् ? गिरिजाबाबुले पनि ५१ सालमा शेरबहादुरलाई संसदीय दलको नेता बनाउनुभयो । त्यसैले अब शेरबहादुरले पनि सोच्नुपर्छ । म प्रकाशमान सिंहलाई पनि भन्न चाहन्छु कि, उहाँले संसदीय दलको नेतामा जितेर पनि पार्टी त विभाजित हुन्छ नि । त्यसैले विभाजित मनस्थितीबाट हामी उम्किनुपर्छ ।

साँच्चै कांग्रेसलाई एक नम्बर पार्टी बनाउनका लागि के के गर्नुपर्छ त ?

सवैभन्दा पहिला पार्टीलाई एकताबद्ध बनाउन जरुरी छ । त्यो एकताबद्ध बनाउका लागि हामीले पार्टीमा मुल्याङकनको परिपाटीको विकास गर्न जरुरी छ । संगठनलाई चुस्त राख्नुपर्यो । गाँउ गाँउका कांग्रेसका प्रशिक्षणहरु लैजानुपर्यो । पार्टीको महासमिति बोलाएर पार्टीलाई कसरी अगाडि बनढाउने भन्ने विषयमा छलफल गर्न पर्यो । पार्टीका तलदेखि माथिसम्मका सबै सदस्यहरुलाई कामको जिम्मा दिनुपर्यो । काम नगर्ने अनुशासनमा नबस्ने नेता कार्यकर्तालाई सचेत पनि बनाउनुपर्यो । कांग्रेस शहरमुखी भन्दा गाउँमुखी बनाउन पर्यो ।