देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्राफिक व्यवस्थापन र सफाइ ललितपुर महानगरका कांग्रेस उमेदवार चिरिबाबु मर्हजनको मुख्य एजेन्डा

देशान्तर

ललितपुरको सबैभन्दा ठूलो सामाजिक संस्था ज्यापू समाजको संस्थापकमध्येको एक हुँ । त्यसको स्थापनापश्चात् मैले तेस्रो अध्यक्ष भएर काम गरेँ । यो कारणले पनि म ललितपुरबासीमाझ परिचित छु

ललितपुर महानगरको मेयरको उम्मेदवार बन्नुभएको छ, तपाईंलाई ललितपुरवासीले कसरी चिन्ने ?
म धेरै पहिलेदेखि नै सामाजिक सेवामा लागेर ललितपुरमा काम गरिरहेको छु । मैले ललितपुरमा तीनपटक वडाअध्यक्ष भएर काम गरें । लामो समय स्थानीय चुनाव हुन पाएन । करिब दुई दशकपछि हुन लागेको स्थानीय चुनावमा मलाई मेरो पार्टी नेपाली कांग्रेसले मेयर पदमा उम्मेदवार बनाएको छ । ललितपुरमा मैले गरेक कामहरू र जनताबीच घुलमिल भएकैले मलाई पार्टीले यो जिम्मेवारी सुम्पेको हो । ललितपुरको सबैभन्दा ठूलो सामाजिक संस्था ज्यापू समाजको संस्थापकमध्येको एक हुँ । त्यसको स्थापनापश्चात् मैले तेस्रो अध्यक्ष भएर काम गरेँ । यो कारणले पनि म ललितपुरबासीमाझ परिचित छु ।
चुनावमा तपाईंको प्रतिस्पर्धा कोसँग हुने ठान्नुहुन्छ ?
चुनावी मैदानमा मेरो मुख्य प्रतिस्पर्धी भनेको एमाले नै हो । नेपाली कांग्रेस र एमाले मुलुकका दुई ठूला पार्टी हुन् । ललितपुरमा पनि अवस्था मुलुकको जस्तो नै हो । प्रतिस्पर्धामा नेपाली कांग्रेस ललितपुरमा अगाडि नै थियो । तर अहिले एमालेहरू राप्रपासँग गठबन्धन गरेर चुनावी मैदानमा आएका छन् । तर पनि मलाई विश्वास छ त्यस किसिमको अप्राकृतिक गठबन्धनको पक्षमा ललितपुरवासी छैनन् । ललितपुर एउटा यस्तो जिल्ला हो जुन लामो समयसम्म कम्युनिस्टले लालकिल्ला ठानेका थिए । तर संविधानसभा चुनावपछि कम्युनिस्टको यो लालकिल्ला छिन्नभिन्न भइसकेको छ । त्यसको एउटै कारण हो कम्युनिस्टहरूले ललितपुरवासीलाई केही दिन सकेनन् । न यहाँको विकासमा योगदान गर्न सके, न सामाजिक, आर्थिक रूपान्तरणमा । त्यसैले संविधानसभा चुनावबाट ललितपुरबासीले कांग्रेसलाई रोजेका छन् । कांग्रेसप्रति उहाँहरूको विश्वास र भरोसा झांगिएको छ । गत संविधानसभाबाट नेपाली कांग्रेसको जितको लहर सुरु भयो । त्यो जितको लहर कायमै छ ।

तपाईंलाई ललितपुरका महानगरवासीले भोट किन दिने ?
मैले जनताको प्रतिनिधि भएर काम गर्न खोजेको यो पहिलो पटक होइन । जनताको काम, अहिलेसम्मको मेरो छवि र कार्यसम्पादनले गर्दा मलाई नगरवासीले आइडलको रूपमा लिनुहुन्छ भनेरै कांग्रेसले मलाई ललितपुरको मेयरको रूपमा प्रस्तुत गरेको हो । किनभने मलाई कांग्रेसले महानगरको मेयरको रूपमा प्रस्तुत गर्दै गर्दा नेकपा एमालेलगायतका पार्टीहरू आ–आफ्ना उम्मेदवारहरूबारे पुनर्मूल्यांकन गर्न बाध्य भए । त्यही हिसाबले एमाले र राप्रपाबीच गठबन्धन भएको हो । यसबाट अनुमान लगाउन सकिन्छ कि विपक्षीहरूले किन त्यसो गरे । कांग्रेसको उम्मेदवार म उहाँहरूको निम्ति फलामको च्युरा भएर नै त्यसो गरेको हुनुपर्छ भन्ने मेरो बुझाइ हो । यसका साथै अन्तर्राष्ट्रिय प्रोजेक्टमा पनि मेरो संलग्नता छ । त्यसबाट मेरो अन्तर्राष्ट्रिय स्तरको सम्बन्ध छ । यो कुरा नगरवासीहरूमा जगजाहेरै छ । भोलिका दिनमा ललितपुर महानगरको विकास अझ प्रभावकारी र द्रुत गतिमा हुन्छ भनेरै मलाई जनताले रोज्नु हुनेछ भन्ने मैले ठानेको छु । स्वच्छ छविको र पारदर्शितामा विश्वास गर्ने भएकाले मलाई सबै नगरवासीले धेरै माया गर्नुहुन्छ । किनभने अहिलेसम्म कसैले पनि औंला उठाउने गरी नराम्रो काम–कुरो गरेको छैन् ।

ललितपुरका समस्या के के हुन् र के के गर्ने योजनामा हुनुहुन्छ ?
मैले ललितपुर महानगरमा सबैभन्दा टड्कारो रूपमा देखेको समस्या भनेको ट्राफिक म्यानेजमेन्ट नै हो । अहिले ललितपुर क्षेत्रका सडकमा सवारी चाप एकदमै अस्तव्यस्त छ । हुन त यो कुरामा काठमाडौं महानगर धेरै अगाडि छ, उहाँहरूले थानकोटदेखि विमानस्थलसम्म फ्लाईओभरको अवधारणा ल्याउनुभएको छ । ललितपुरमा हेर्दा ‘बोटल नेक’ को रूपमा थापाथलीको पुलदेखि नै ट्राफिकको भयावह स्थिति देखिएको छ । त्यसलाई समाधान गर्न पुल्चोकमा आकाशे पुलदेखि एउटा फ्लाईओभर बनाएर काठमाडौंको थानकोटदेखि विमानस्थलसम्म बन्ने फ्लाईओभरमा लगेर जोड्न पाएको खण्डमा ललितपुरको ट्राफिक म्यानेजमेन्टमा धेरै सुधार हुन्छ भन्ने मेरो सोचाइ छ । त्यसको लागि मेयरमा जितिसकेपछि केही महिनाभित्रैमा विस्तृत डिजाइनको निम्ति मैले आह्वान गर्नेछु । र त्यसलाई कार्यान्वयन गरेर देखाउने मैले संकल्प गरेको छु ।
अर्को मुख्य योजनाको कुरा गर्दा नगरको सरसफाइ पनि पर्छ । सफाइ भन्नासाथै पानीले ठूलो भूमिका खेल्छ । थापाथलीको बागमती पुलयता ललितपुरको मुख्य सडक हप्ताको दुई पटक पानीले पखाल्न सकियो भने ललितपुर सफा हुन्छ । यसो गर्न सकियो भने जनताले ज्यादै अनुभूति गर्न सक्ने सफाइ भएको देखिनेछ । यसका साथै नगरवासीको सपना सुशासन पनि छ । सुशासनको सन्दर्भमा कुरा गर्दा विगत दुई दशकयता स्थानीय चुनाव नभइरहेको अवस्थामा अहिले सुशासनको अनुभूति कसैले गर्न सकेको छैन । त्यो सन्दर्भमा म मेयर भइसकेपछि स्थानीय निकायको कर्मचारीतन्त्रमा आमूल परिवर्तन गर्नेछु ।