देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चौधरीको निर्मम हत्याले मलेसियामा नेपाली त्रसित

देशान्तर

रवि भट्ट 
क्वालालम्पुर । घरमा बा–आमा, श्रीमती र दुई साना छोरीहरूको उज्ज्वल भविष्य बनाउने सपना बोकेर इटहरी– ७, घुडकी सुनसरीका ३२ वर्षीय नगेन्द्र चौधरी दुई वर्ष दुई महिनाअघि मलेसिया आएका थिए । उनको सपना विस्तारै पूरा हुँदै थियो । तर शुक्रबार उनी चीर निद्रामा पुगे । उनको सपना अधुरै रह्यो ।  नगेन्द्रलाई दुईजना हतियारधारीले तीन तलामाथिबाट खसालेर निर्मम हत्या गरिदिए ।  

मलेसियाको जोहोरबारुको पासिर गुडाङ आयरबिरुवामा रहेको एक कम्पनीमा काम गर्ने चौधरी शुक्रबार दिउँसो १२ बजे ड्युटी जानुअघि होस्टेलको तेस्रो तलामा रहेको आफ्नो कोठामा आराम गरिरहेका थिए । उनी आराम गरिरहेकै अवस्था हतियारसहित आएका दुई व्यक्ति माथि उक्लिए । ती व्यक्तिहरूले चौधरीलाई समाते । चौधरीले प्रतिवाद गर्न नपाउँदै बोकेर होस्टेलको तीन तलामाथिबाट खसालिदिए । चौधरीको घटनास्थलमै मृत्यु भयो । 

उनको यस्तो निर्मम हत्या देखेका उनका साथीहरू प्रकाश बस्नेत र मनोज विश्वकर्माले अस्पताल लाने प्रयास त नगरेका होइनन् । तर भुइँमा बजारिएको केही सेकेन्डमै चौधरीको इहलीला समाप्त भइसकेको थियो । आफ्नो साथीलाई उनीहरूले पानी पनि पिलाउन पाएनन् । ‘मोटरमा चढेर आएका दुई स्थानीयहरूले उनलाई तीन तलाबाट फ्याके र मोटर चढी गए तर गाडीको नम्बर टिप्न सकिएन । केहीबेरमै घटनास्थलबाट प्रहरीले शवलाई लिएर गयो’, उनीहरूले सुनाए, ‘घटना रहस्यमय छ । के कारणले हत्या भएको हो थाहा हुन सकेको छैन ।’ 

मृतक कार्यरत कम्पनीको होस्टल सुरक्षाको दृष्टिले असुरक्षित रहेको प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाका द्वितीय उपाध्यक्ष राजेश विरही शर्माले जानकारी दिए । ८० जना नेपालीहरू कार्यरत चौधरी कार्यरत कम्पनीमा उनको हत्यापछि कार्यरत अन्य नेपालीहरू शोकाकुल र त्रसित छन् । घटनाको सम्बन्धमा नेपाली दूतावासलाई जानकारी भइसकेको र शनिबार कम्पनीमा सुरक्षाका बारेमा छलफल गर्ने उनीहरूले बताएका छन् । दूतावासले यो काण्डलाई लिएर कम्पनीमा हडताल नगर्न सुझाव दिँदै दोषी पत्ता लगाएर कारबाही गर्न र मृतकलाई क्षतिपूर्ति दिलाउने प्रतिबद्धता जनाएको छ ।

कामदारले संयम भई कम्पनीसँग छलफल गर्दा समस्याको समाधान गर्नेबारे कम्पनीले तदारुकता नदेखाए दूतावास, कम्पनी र कम्पनीका कामदारहरूबीच आपसी छलफल गरी समस्याको समाधान गर्ने राजदूतावासका द्वितीय सचिव तथा प्रवक्ता उत्तम शाहीले बताए ।  मृतक चौधरी तेल उत्पादन हुने कोर्नक इन्डस्ट्रिज कम्पनीमा डमरु ओभरसिज कोटेश्वरवाट दुई वर्ष दुई महिनाअघि मलेसिया आएका थिए । 

 

]]>