देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्छौं : अर्थमन्त्री पौडेल

देशान्तर

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महाङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले सरकारको नीति कार्यान्वयनका क्रममा गुनासा आएकाले आफूले अवरोध पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा तत्परता लिएको बताए ।

निजी क्षेत्रबारे सरकारको दृष्टिकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए । “रोजगारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ । त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हतोत्साहित तुल्याएर र मनोबल गिराएर सार्थक उपलब्धि हासिल हुन सक्दैन”, उनले भने ।

कुनै पनि कुरा निजी क्षेत्रलाई ‘इम्पोज’ नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिए । उनले भने, “निरन्तर संवाद र छलफलमा रहिरहन्छौँ । सुझाव सुन्छौँ । मिलेर काम गर्छौं ।” अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगत रुपमा समेत छलफल गर्ने भन्दै व्यावहारिक र कार्यान्वयन जान सकिने सुझाव दिन क्षेत्रलाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा जोड दिएका थिए । महासङ्घका अध्यक्ष शेखर गोल्छाले महासङ्घ भिजन पेपर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिइ सरकारसँगको सहकार्यमा अघि बढाउने बताए । सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।