छविरमण सिलवाल विक्रमको २०४० को दशकदेखि नेपाली साहित्यमा दौडिएका स्रष्टा हुन् । साहित्यका विविध विधामा कलम चलाइरहेका सिलवाललाई नेपाली साहित्य जगत्ले कविका रूपमा बढी प्रेम गरेको छ ।
विनम्र र मिलनसार स्वभावले सिलवाललाई धेरैको प्रिय बनाएको छ । व्यक्तिगत स्वभावकै प्रतिबिम्ब उनका सिर्जनामा भेटिन्छ । आक्रोश, आडम्बर, अराजकताबाट केही पर रहेका सिलवालका सिर्जना पनि यस्ता दोषबाट धेरै हदसम्म मुक्त छन् ।
यसअघि नै कविताका दुईवटा संयुक्त कृति ‘सहृदयी स्वरहरू’ र ‘यतै कत’ प्रकाशन गरिसकेका सिलवालले एकल कविताकृतिका रूपमा ‘डोरम्याट’ ल्याएका छन् ।
तल्लो वर्ग माथिल्लो वर्गबाट सदैव थिचिने, मिचिने र किचिने सामाजिक, राजनीतिक परम्परालाई कविताका माध्यमबाट तीव्र प्रहार गर्न सक्षम छन् सिलवाल । यसरी नै मानवीय जीवनका बिब्ल्याँटा पाटाहरूमा उनको दिमाग बढी चल्छ भन्ने तथ्यको प्रस्तुति पनि यो कृति बनेको छ ।
मान्छेका अमानवीय चरित्र, ह्रासोन्मुख मानवीय संवेदना, नेतृत्वका बेइमान र भ्रष्ट सोच र व्यवहार, गिर्दो सामाजसक–सांस्कृतिक मूल्यजस्ता कुराहरू यिनका कवितामा आएका छन् ।
स्मृति दस जस्ता लाग्ने विगतका कथाहरू, घटनाहरू काव्यिक शैलीमा पोखिएका छन् यस कृतिका कवितामा । प्रकृतिको मानवीकरण गर्ने अद्भुत कला र प्रस्तुतिको शिल्प साँच्चै लोभलाग्दो छ सिलवालको ।
यति हुँदाहुँदै पनि सिलवालका प्रस्तुत कृतिभित्रका कविता पढिरहँदा ठाउँठाउँमा तनाव हुन्छ सचेत पाठकलाई, अझ कविताका पाठकलाई ।
यति लामो समय कवितामै कलम तिखारिसकेका सिलवालले किन अति कमजोर विषयमा लेखेका होलान् ? किन यतिमोर शिल्प संयोजन गरेका होलान् ? कतिपय कविताका विषय यति गम्भीर छन् तर प्रस्तुतिको शिल्पले पाठकलाई खासै तान्दैन ।
यो पंक्तिकारको पछिल्लो कविताकृति ‘असमान पहाडहरू’को भूमिकामा विद्वान् समालोचक महेश पौड्यालले लेखेझैँ, ‘कविता लेख्ने रहर गर्नु र कविता नै लेख्नु फरक कुरा हुन् ।’
सुन्दा नमीठो लाग्न सक्छ यो वाक्य स्थापित र पुराना कविका लागि तर यो यथार्थ हो । यथार्थ लुकाएर कविलाई खुसी बनाउन गलत भनिदिनु वा अतिश्य प्रशंसाको भारी बोकाउनु कविको सिर्जनशील स्वास्थ्य बिगार्नु हो । यसर्थ, कवि सिलवाललाई महेश पौड्यालले घनेन्द्र ओझालाई खबरदारीमूलक आलोचना गरेझैं आलोचना गरेर आगामी दिनमा सुधारको अपेक्षा गर्नु अन्यथा नहोला ।
कवि सिलवालले कविताका विषय गहन र गम्भीर छनोट गरे पनि उनका केही कविता पढ्दा कतै लघुकथा वा लघु निबन्ध पो पढ्दै छु कि भन्ने भान पर्नुको कारण शिल्प पक्षमा मिहिनेत कम गरिनु हो भन्ने लाग्छ ।
कुनै पनि विधाका आफ्नै वैशिष्ट्य र संरचना छन् । कविताका वैशिष्ट्य कथा वा निबन्धमा भन्दा भिन्न छन् । र, नै यी भिन्न विधा कहलिएका हुन् । कविता पढ्दा कविताकै शिल्प र संरचनाको खोजी एउटा सचेत पाठकले गर्न पाउनु पर्छ । एउटा कविताप्रेमीका नाताले कवि सिलवाललाई यति भन्ने अधिकार ममा छ ।
भुँडी पुराण प्रकाशनले प्रकाशन गरेको ३० वटा कविता संकलित यस कृतिको मूल्य २५० रुपैयाँ छ ।
प्रतिक्रिया