देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहमति/असहमति

पहिला स्रष्टा/कलाकार बनौँ, नेता वा कार्यकर्ता होइन


जबजब देशमा राजनीतिक चलखेल सुरु हुन्छ, तब अन्यभन्दा बढी कुतकुती, तनाव र छटपटी स्रष्टा/कलाकारलाई हुन्छ ।

राजनीति र स्रष्टा/कलाकारबीचको साइनो उदेकलाग्दो लाग्छ । जुनकुनै शासनमा पनि स्रष्टा/कलाकार वागी हुन्छन्, हुनुपर्छ, यो साँचो हो । शासकलाई बेइमानीको बाटोमा हिँड्न नदिन खबरदारी गरिरहनु उचित छ स्रष्टा/कलाकारले ।

स्रष्टा/कलाकार समाजको बौद्धिक वर्गमा पर्छ (बौद्धिकता र प्रमाणपत्रधारी योग्यता एकै होइनन्।) । बौद्धिक वर्गका विद्रोहका सीमा छन्, हुन्छन् ।

स्रष्टा/कलाकार कलम, कुची, कलाबाट विद्रोह गर्छ, असहमति प्रकट गर्छ । राजनीतिक नेता, कार्यकर्ता लाठी, मुङ्री, ढुङा, मूढा बोकेर भिड्छ– भौतिक रूपमै । दलका नेता, कार्यकर्तामा बौद्धिकता कम, उग्रता र अराजकता बढी हुन्छ भने स्रष्टा/कलाकारसँग शालीनता, संयम, धैर्य बढी हुज्छ ।

यस मानेमा स्रष्टा/कलाकार भद्र विद्रोहका पक्षपाती हुन्, उग्रता, अराजकता, भौतिक भिडन्त यिनका लागि होइनन् ।

तर, हामीकहाँ गज्जबको परम्परा छ– दलका नेता, कार्यकर्ताभन्दा बढी उग्रता र अराजकता स्रष्टा/कलाकारहरूमा छ । यो पटक्कै नसुहाउने दृश्य हो ।

विगतमा राजनीतिक व्यवस्था परिवर्तनका ठूला आन्दोलनहरू भए । ती आन्दोलनमा स्रष्टा/कलाकार सहयोगी/सहायक बनेकै हुन् । यस्ता आँधीबेहरीमा हेलिनु बाध्यता थियो । तर, सधैँभर त्यही चेतनामा बगेर स्रष्टा/कलाकारले आफूलाई राजनीतिक दलको पट्टु कार्यकर्ताका रूपमा रूपान्तरण गर्नु शोभनीय होइन ।

कहिले बालुवाटारका नाममा, कहिले माइतीघरका नाममा अमूक आफूसँग असम्बन्धित घटनालाई उचालेर स्रष्टा/कलाकार नाडी हल्लाउँदै ‘जिन्दावाद’ र ‘मूर्दावाद’ भनिरहेको दृश्य वास्तवमै विद्रुप र कुरूप लाग्छ ।

अझ, विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूले नेतृत्व गरेका ‘नागरिक समाज’ नामका केही झुण्डहरूका पछि लागेर उफ्रिएका स्रष्टा/कलाकार देख्दा विरक्त नै चल्छ ।

कुनै पनि क्षेत्रका व्यक्ति, अभियन्ता, पेसाकर्मीहरूका आ–आफ्ना सीमा, मान्यता, अनुशासन, विशेषता छन्, हुन्छन् । राजनीतिकर्मीहरूका खेला आफ्नै छन्, एनजीओकर्मी/नागरिक समाजका आफ्नै छन् । तिनका रहस्यपूर्ण लक्ष्य पनि आ–आफ्नै प्रकृतिका छन् ।

तर, स्रष्टा/कलाकारका लक्ष्य र चाहना शान्ति, स्थिरता, अमनचयन, विकास र समृद्धि हुन् । यी प्राप्त होऊन् भन्ने कामजा हुन्छ स्रष्टा/कलाकारको । यसका लागि सरकार र शासक/प्रशासकलाई नैतिक दबाब दिने काम स्रष्टा/कलाकारले सिर्जनशील ढंगले नै गर्न सक्छन्– अमूक राजनीतिक दल वा अमूक दलका भ्रातृ संगठनको स्तरका कथित नागरिक समाजका पछि लाठी, मुग्री बोकेर हात–खुट्टा भाँच्दै, टाउको फुटाउँदै जुध्न जानु पर्दैन ।

यसो भनिरहँदा यस्ता ‘अभियान’ र ‘आन्दोलन’मा सहभागी स्रष्टा/कलाकारहरूले भन्लान्– ‘हामी शान्तिपूर्ण आन्दोलनमा थियौँ, सरकारका प्रहरी आएर ठोके ।’

सरकारले शान्ति सुरक्षाका लागि लगाएको निषेधाज्ञा तोड्न जानु नै फौजदारी गर्न जानु हो र नियम, कानुन तोड्नेहरूलाई सरकारले मज्जाले ठोक्छ/ठोक्नुपर्छ, यसमा रोइलो जरुरी नै छैन ।

हो, घरमा बसेर, कुनै सार्वजनिक स्थानमा (निषेधाज्ञा नगरिएका) सिर्जनशील काम गर्दा, साहित्य लेख्दा वा कला प्रस्तुत गर्दा प्रहरी हस्तक्षेप भएमा, ठोकिएमा, पिटिएमा गुनासो र विरोध स्वाभाविक हो ।